पोखरा ,२४ चैत -राष्ट्रिय अखण्डता तथा जातीय सद्भाव कायम हुनुपर्ने माग राख्दै आएको क्षेत्री समाजको तेश्रो केन्द्रिय अधिवेशन पोखरामा सुरु भएको छ । २०६३ को अन्तरिम संविधानमा नै आदिवासीमा सूचीकृत गरिनुपर्ने मागसहित आन्दोलन गरेको क्षेत्रीहरुको माग भने २०७२ को संविधानले पनि पुरा गरेन् ।
शनिबारदेखि सुरु भएको अधिवेशनको पूर्वसन्ध्यामा निकालिएको ¥यालीमा पनि उक्त नारा फेरि गुन्जिएको थियो । पहिलो दिनको कार्यक्रम उद्धाटन गरेर सीमित भएतापनि कार्यक्रममा बोल्ने वक्ताहरुले भने क्षेत्रीहरुको मुद्धा बेचेर सत्तामा पुगेको तथा विदेशीको डलर खाएर क्षेत्रीहरुको मुद्धामा घुसपैठ गरेको सम्म आरोप लगाए ।‘यो क्षेत्रीको बिन्ती, सुख शान्ति समृद्धि’ भजन चुट्काले मेची महाकालीलाई एउटै तारमा जोड्ने क्षेत्रीहरुको सन्देश देखाएतापनि क्षेत्री समाजका अगुवाहरुले अब फेरि यो आन्दोलनलाई जोडतोडका साथ उठाउने भाषण गरे ।
कार्यक्रममा सहभागी पूर्वप्रधानसेनापति रुक्मांगत कटुवालले क्षेत्रीहरुलाई एक नेपाली नागरिकको हिसाबले सदा सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘नेपाल र नेपालप्रति प्रतिबद्ध रहँदासम्म, हरेक क्षेत्रमा लडाई लड्नुपर्दा रुक्मांगत कटुवाल एक नेपालीको नाताले क्षत्रीहरुको साथमा रहनेछ ।’ उनले भने ।
क्षेत्रीहरुको ईतिहास, धर्म र भाषामाथि चौतर्फी प्रहार भईरहेको उनले बताए । कटुवालले भने, ‘ईतिहासले, धर्मले एउटा बाटो देखाईदिएको हुन्छ, ईतिहासले पाठ सिकाएको हुन्छ, भाषाले सम्पूर्ण जातजाती, भाषिक, धार्मिक रितीहरुलाई जोडिदिएको हुन्छ र यी तीनै कुरा भताभुंग पार्ने चलखेल भईरहेको छ । धन र शक्तिमा आएपछि गरिब, पिडितहरुलाई झन पिडा दिने दम्भ बढेको छ । त्यसको विपरित क्षेत्रीहरुले सबैलाई ज्ञान, दान भोकाहरुलाई खान दिन्छन्, पिडितहरुलाई संरक्षण गर्छन्, र यो ठुलो जिम्मेवारी नेपाली क्षेत्रीहरुको काँधमा आएको छ ।’नेपालको स्वामित्व, राष्ट्रिय अखण्डता जोगाउको लागि क्षत्रीय छाती लिएर सम्पूर्ण नेपालीहरुको स्वामित्वको नेतृत्व लिन उनले आग्रह समेत गरे ।
समाजका पूर्वाध्यक्ष प्रा. डा. दिलबहादुर क्षेत्रीलेकुन शक्ति, तत्वले आदिवासी भन्ने शब्द हटाईयो यसको जवाफ खोज्ने कि नखोज्ने ? भन्ने प्रश्न गरे ।
देशमै सबैभन्दा बढी संख्यामा रहेको क्षेत्री आदिवासी रहेको पुष्टि गर्न उनले शास्त्रार्थ गर्ने प्रतिबद्धता समेत जनाए । ‘म सात दिन सात रातसम्म शास्त्रार्थ गर्न तयार छु, यो देशमा कुनै पनि समुदाय आदिवासी हुँ भनेर दाबी गर्छ भने १ नम्बरका आदिम आदिवासी खस आर्य हुन, म गर्वका साथ भन्छु, आए हुन्छ आए हुन्छ जनजातीका पण्डितहरु अथवा युरोपियन युनियनको भत्ता खाएर, सत्ता र लत्तामा रमाउनेहरु, हामीलाई हेप्न पाईँदैन्, ।’
क्षेत्री समाज एउटा रुपमा जातीय समुदाय देखिएला, तर सारमा जातीय समाज नभएको उनले बताए । ‘क्षेत्री समाज जातीवादी हुँदै होइन, किन होइन भने मगर समुदायले झैँ मगरात मागेका छैनौँ, तमुवान मागेका छैनौँ, थरुहट मागेका छैनौँ, ताम्सालिङ मागेका छैनौँ, हामीहरुले यो राज्य नेपालीहरुको हो, कसैको उपलब्धि र बपौती होईन्, ३ करोड नेपालीको साझा थलो हो, क्षेत्रीको नाममा एक ईन्च पनि दिनुपर्दैन, नेपालको क्षेत्रफलमा कुनै पनि जातीविशेषले दाबी गर्न पाउँदैन ।’ उनले भने ।
अखण्ड नेपाल पार्टीका पूर्वाध्यक्ष समेत रहेका गण्डकी प्रदेश सांसद कुमार खड्काले क्षेत्रीहरुमा समझदारी, एकता र सहकार्य आवश्यक रहेको बताए । संघीय सांसद सूर्यबहादुर केसीले जातीय सद्भाव कायम गर्न दलविशेषबाट माथि उठ्न आवश्यक रहेको बताए ।उनले पुनः एकपटक चुनावमा उठ्ने र मतदान गर्दा क्षेत्रीहरुले राष्ट्रियता, अखण्डता र देशको लागि ज्यान दिने व्यक्तिलाई जिताउन अनौपचारिक तरिकाले आग्रह गरे । विदेशीको डलर खाएर क्षेत्रीहरुको मागमा घुसपैठ गर्नेहरुलाई बहिष्कार गर्नसमेत उनले सुझाव दिए ।अर्का सांसद देवेन्द्रराज कँडेलले क्षेत्रीहरुको वीरताको ईतिहास जोगाउनुपर्ने बताए । कार्यक्रममा प्रदेश सांसदहरु बिन्दुकुमार थापा, कृष्ण थापा, पुष्पा भण्डारी, पोखरा महानगरका मेयर मानबहादुर जिसी, क्षेत्री समाजका उपाध्यक्ष योगेन्द्र कार्की लगायतले बोलेका थिए ।
समाजका अध्यक्ष प्रा.डा. चन्द्र थापाले आईतबारदेखि बन्द सत्र हुने र नयाँ कार्यसमिति चयन गरिने बताए । अधिवेशनमा सहभागी हुन ५० भन्दा बढि जिल्लाका प्रतिनिधीहरु पोखरा आएका छन् । अधिवेशनले ४ वर्षे कार्यकालको नयाँ कार्यसमिति चयन गर्नेछ भने भातृसंगठनहरुको अधिवेशन भईसकेको छ ।





