मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

विपतका सारथी अनेरास्ववियूका ‘प्रकाश’

विपतका सारथी अनेरास्ववियूका ‘प्रकाश’


  • ध्रुबसागर शर्मा
  • चैत्र २५ २०७५, सोमबार

म्याग्दी २५ चैत -चैत १७ गते आइतवार साँझको आँधीबाट सबैभन्दा बढी प्रभावित भएको बारा जिल्लाको फेटा गाउपालिका १ भर्वोलियमा ६ दिनसम्म निरन्तररुपमा उद्धार र राहत कार्यमा खटेर शनिवार फकिएका छन् अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेल ।
विपत्ति र विनाशका विरुद्ध लड्न नै जन्मिएका हुन् की जस्तो लाग्ने म्याग्दीका यी युवा २०७२ सालको विनाशकारी महाभूकम्पदेखि देशका विभिन्न जिल्लाहरुमा भएको प्राकृतिक प्रकोप र विपत्तिका बेला सम्वन्धीत ठाउँमा नै पुगेर उद्धार कार्यमा जुट्ने गरेका छन् ।
स्वयम्सेवीका रुपमा स्वतस्फूर्त विपत्ति परेको ठाउँमा पुग्ने २५ वर्षिय पौडेल आफ्नो व्यक्तिगत सुख सयललाई समेत छोडेर अरुको पीडामा मलहम लगाउने कार्यमा निरन्तर जुटिरहेका छन् । २०७२ सालको महाभूकम्पका बेला भूकम्प गएको पर्सीपल्ट गोरखाको आरुघाटबाट उद्धार र राहत वितरणमा जुटेका पौडेल त्यसपछि निरन्तररुपमा ३० भन्दा बढि ठाउँमा पुगेर स्वय्सेवी कार्य गर्दै आएका छन् ।
पछिल्लो समय गत आइतवार साँझको महाविनाशकारी आँधीबाट आक्रान्त भएको फेटा गाउपालिका १ भर्वोलियमा पौडेलको नेतृत्वमा १५ जना विद्यार्थीहरु सम्मिलित एक समूहले ६ दिनसम्म लगातार पीडितहरुको उद्धार,राहत र अन्य व्यस्थापकीय कामहरु गरेर फर्किएको छ ।
“पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।
हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र
माटोलाई चोट लाग्दा मुटुहरु दुख्नुपर्छ ।।”
गीतकार दिनेश अधिकारीको शब्द र गायक स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीतले भने जस्तै तराईमा आएको आँधीबाट प्रताडित भएका पीडितहरुको उद्धार र राहतको लागि पहाडबाट गएको एक युवाको नेतृत्वमा प्रशस्तै मानवीय,व्यवस्थापकीय र आर्थिक सहयोगका कामहरु भएका फेटा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जयप्रकास दासले जानकारी दिए ।
तराईको फेटा गाउँपालिकाका धर्तीपुत्रहरुलाई पहाडबाट गएको युवाको नेतृत्वमा भएका कामले धेरै राहत मिलेको अध्यक्ष दासको भनाइ थियो ।
‘हामीले त्यहाँ धेरै समय मानवीय र व्यवस्थापकीय काममा नै वितायौं’ अनेरास्ववियूका केन्द्रिय सदस्य समेत रहेका पौडेलले भने ‘हावाहुरी प्रभावित बालबालिकालाई राहत सामग्री बाढ्नुका साथै थोरै मात्रामा भए पनि प्रभावित क्षेत्रका बालबालिकामा परेको आँधीको त्रास कम गर्न र उनीहरुलाई पुरानै अवस्थामा फर्काउन शैक्षिकलगायत खेलकुद सामान वितरण ग¥यौं, पीडितका लागि शौचालय, टेन्ट निर्माण गर्नुका साथै खाली खुट्टा भएका बालबालिकाहरुलाई चप्पल र नाङ्गो आङ भएकाहरुलाई आफूले सक्दो पैसा खर्च गरेरै भएपनि कपडा किनिदियौं ।’
गत आइतबार आएको आँधीबाट बाराको फेटा गाउँपालिका सबैभन्दा प्रभावित बनेको थियो । त्यहाँको अवस्था देख्दा निकै दुःख लागेको बताउने पौडेलले म्याग्दीमा जुटाएको करिब १ लाख रुपैयाँको राहत सामाग्री समेत वितरण गरेका थिए । ६ दिनसम्म श्रमदान गरेर शौचालय र टहरा निर्माण गरिदिए पछि पौडेलको टोली शनिवार फेटाबाट फकिएको हो ।
नेपाली सेनासंग सहकार्य गरेर पौडेल नेतृत्वको टोलीले फेटामा फोहोर व्यवस्थापन, महामारी फैलिन नदिने उपायहरु लगाएतका अन्य धेरै जनचेतनामूलक कामहरु पनि गरेको छ । ‘आँधी प्रभावित क्षेत्रका बालबालिकामा एकखाले त्रास फैलिएको देख्यौं, दाताहरुले आआफ्नो ठाउँबाट सहयोग गरिरहनुभएको छ, हामीले पनि सकेको ग¥यौं’ पौडेलले भने ।
पौडेलका अनुसार फेटा गाउपालिका १ को भर्वोलिय बस्तीमा मात्रै ६ सय ४० वटा घरहरु भत्केका छन् । त्यहाँको अवस्था अझैसम्म पनि सामान्य भैसकेको छैन । त्यसमाथि पनि अझ पानी परेपछि विशेषगरी बालबालिका र बृद्धबृद्धाहरुको अवस्था दयनीय रहेको छ । यस्तो अवस्थामा आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पौडेलले सबैसंग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->