पोखरा, २६ चैत – गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका तीन वटा विधेयकलाई प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक’, प्रदेश औद्योगिक व्यवसाय विधेयक’ र गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार प्रमाणिकरण गरेका हुन् । ‘ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक’ फागुन २७ गते ‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ चैत १ गते र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ चैत ११ गते बसेको प्रदेश सभा बैठकले पारित गरेको थियो ।
पारित गरिएका तीन वटै विधेयकलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले चैत १ गते प्रमाणित गरेका थिए । सभामुख अधिकारीले प्रमाणित गरेका तीन वटै विधेयकलाई प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले सोमबार नै पाँच÷पाँचप्रति विधेयकमा हस्ताक्षरसहित प्रमाणिकरण गरेका थिए । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि विधेयक ऐन बन्छ । प्रमाणिकरणका लागि पठाइएका विधेयकलाई प्रमुख कुँवरले कानुन बनाउन सजिलो होस् भन्ने अभिप्रायले पाउने बित्तिकै प्रमाणिकरण गरेर पठाइदिने गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव विश्वप्रकाश न्यौपानेले बताए ।





