पोखरा, २७ चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको कुनै पनि धर्म नहुने बताएका छन । गुरुङ जातिहरुको साँस्कृतिक पर्व ट्होँटे पर्वको अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले सवैले आ –आफ्नो धर्म र सँस्कृति मनाउन पाउने अधिकार स्थापित भएको अवस्थामा धर्मलाई एजेण्डा बनाएर राजनीति नगर्न आग्रह गरे । ‘मुलुक धर्म निरपेक्ष घोषणा भएपछि सवैका धर्म सँस्कृतिको सम्मान भएको छ’,उनले भने,‘केही मान्छेहरु अझै पनि हिन्दूराष्ट्रको नारा लिएर राजसस्था फर्काउने सपनामा छन ।’
धर्मको पक्षमा विश्वमै जनमत संग्रह नभएको दृष्टान्त दिँदै उनले त्यसो गरेमा धार्मिक द्वन्द फैलने खतरा हुने बताए । राप्रपाले चाहेजस्तो जनमत संग्रह नहुने उनको भनाई थियो । ‘एजेण्डाविहीन राप्रपाले धर्मको नाममा राजसस्था फर्काउने कल्पना नगरे हुन्छ’,उनले भने ।
धार्मिक ,भाषिक स्वतन्त्रा सुनिश्चित भएको भन्दै मुख्यमन्त्री गुरुङले अल्पसंख्यक धर्म,भाषा र जातजातिलाई राज्यले संरक्षण गर्ने बताए । नेपालका सवै जातजाती र भाषा धर्मलाई जोड्ने एउटा मात्र माध्यम नेपाली भाषा भएकोले नेपाली भाषाको सवैले सम्मान गर्नुपर्ने उनको भनाई थियो । नेपाली भाषाको तुलनामा अन्य भाषाहरु कमजोर रहेको भन्दै भाषिक आन्दोलन भन्दा पनि आफ्नो भाषालाई सवल बनाउन पर्नेमा गुरुङले जोड दिए । सघीय राज्यमा नेपाली भाषा नै कामकाजको भाषा हुने भए पनि प्रदेश तहमा बोलिने मुख्य भाषालाई कामकागको भाषा बनाउन सकिने ब्यवस्था भाषाहरुको लिपि नभएको कारण कार्यान्वयन गर्न नसकिएको उनले बताए । गण्डकी प्रदेशले नेपाली भाषाका अतिरिक्त मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सक्ने उनले जानकारी दिए । उनले प्रदेश सरकारको एकवर्ष अलमलमा नै बिते पनि अब नतिजामुखी काम हुने जिकिर गरे ।
तमु धिँ नेपालको आयोजनामा मनाईएको ट्होटे पर्वका अवसरमा गुरुङ समुदायका महिला पुरुषहरु आफ्नो मौलिक पहिरन पुरुषहरु भाँग्रा र कछाड तथा महिलाहरु छिट्को गुन्यु चोली र घलेकमा सजिएर नाच गान तथा बाजा गाजा सहित झाँकीमा सहभागी भएका थिए । गुरुङ भाषामा ‘ट्हो’ भनेको गाँउ, र ‘टे’ भनेको लखेट्नु, भन्ने अर्थ लाग्ने भएकोले यसलाई ‘ट्होटे’ भनिन्छ । परम्परागत रुपमा रोगब्याधिलाई हटाउनका लागि यो पर्व मनाईदै आएकोमा अहिले आएर समाजमा भएका अशान्ति र बिकृतीहरु ह्टाउनकालागि तमुधिं नेपालले पर्वका रुपमा मनाउदै आएको तमुधिं नेपालकी अध्यक्ष कर्मा तमुले जानकारी दिइन ।
परम्परागत रुपमा भुत प्रेत भगाउने विस्वासका साथ मनाउने ट्होटे पर्व वर्तमान समयमा भने आफ्नो अधिकार सुनिश्चित गराउन माग गर्दै र समाजमा भएका विकृतिलाई हटाउन मनाउने गरिएको उनले बताईन । ट्होटे पर्व साउन र चैत महिनामा गरि बर्षको दुई पटक मनाउने परम्परा रहेको छ ।
पर्वको अवसरमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका तमु समाज लगायत बिभिन्न संघसंगठनहरुले झाँकी, भेषभुषा प्रदर्शन गरिएको थियो ।यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ट्होँटेको उपलक्ष्यमा देश विदेशमा रहेका सबै गुरुङसमुदायलाई शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री गुरुङले जारी गरेको शुभकामना वक्तब्यमा विविधतायुक्त धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजवुत वनाउन महत्वपूर्ण योगदान दिँदै आएको स्मरण गरिएको छ । वक्तव्यमा भनिएको छ,‘यस पर्वले पनि विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपालीका वीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु ।’
गुरुङहरुको साँस्कृतिक पर्व ट्होँटे उभौली र उद्यौली ट्होंटेका रुपमा साउन र चैत महिनाको अन्तिम मंगलबार वर्षको दुई पटक मनाउने प्रचलन रहेको छ । ट्होंटे पर्वका अवसरमा शरीरमा खरानी, कालोमोसो र रुखको हाँगा टाँसेर धनुषकाँड, भाला लगायतका विशेष हतियार लिएर ढ्याङग्रो, छेली लगायतका बाजा बजाई नाँचगान गर्ने प्रचलन रहेको छ । ट्हो को अर्थ गाउँ (ठाउँ र टें को अर्थ लखेट्नु भन्ने हुन्छ । दुश्मनहरुलाई धपाउन र आफ्नो बस्तीबाट हटाउन सकिने विश्वासका साथ गुरुङ समुदायले ट्होंटे पर्व मनाउदैं आएका छन् । भूत प्रेत, पिचासलाई धपाएर बस्तीलाई शान्तिपूर्ण बनाउने पर्वको रुपमा ट्होंटेलाई लिने गरिन्छ । पछिल्लो समय भने गुरुङहरुले यो पर्वलाई आफ्नो पहिचान प्राप्ति र समाजबाट बिकृतिको अन्त्य गर्ने परम्पराको रुपमा पनि मनाउँदै आएका छन् ।





