पोखरा, २८ चैत – पोखरामा शुक्रबारदेखि फेवा महोत्सव सुरु हुँदैछ । पोखराको पर्यटन क्षेत्रमा विशेष हैसियत राख्ने पश्चिमाञ्चल होटल संघ आयोजक रहेको फेवा महोत्सव वैशाख १ गतेसम्म चल्नेछ । पोखरालाई नेपाली नयाँवर्षको गन्तब्य बनाउन महोत्सव आयोजना गर्न लागिएको हो । होटल संघले आयोजना गर्न लागेको यो १६ औँ संस्करणको महोत्सव हो । होटल संघले द्धन्द्धकालमा सुरु गरेको जाऊँ है पोखरा अभियानअन्तर्गत देशका चार ठाउँमा पुगेर पाहुना पनि बोलाएको छ । पाहुनाहलाई छुटसहित सेवा दिने प्रतीज्ञा पनि गरिएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन ( रेवान ) पोखराले अंग्रेजी नयाँवर्षलाई ब्राण्डिङ गरेजस्तै होटल संघले नेपाली नयाँवर्षलाई ब्राण्डिङ गर्न यो महोत्सव आयोजना गरेको दावी गरेको छ । प्रदेशले सरकारले आन्तरिक पर्यटन बर्ष २०१९ मनाइरहेको बेलामा सो अभियानलाई सघाउने समेत आयोजकको दावी छ ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको होटल संघका अध्यक्ष विकल तुलाचनले बताएका छन् । लेकसाइडको कोमागाने पार्कमा आयोजना हुने साँस्कृतिक कार्यक्रम,खानाका परिकारहरुको बिक्रीसँगै यो महोत्सवले होटलको ‘अक्कुपेन्सी’लाई पनि ध्यान दिएको छ । पर्यटकीय भाषामा अक्कुपेन्सी अर्थात होटलमा पाहुनाको स्थिति ! बजारले भन्छ,‘मागले नै मूल्य निर्धारण गर्छ ।’ बढी माग हुँदा मूल्य बढ्छ । तर, पर्यटन व्यवसायमा यस्तो कुरा चल्दैन । कुन ठाउँमा खानाको मूल्य कति, कति दररेटमा कोठा दिने वा सेवा दिने भन्ने पहिल्यै निर्धारण भएको हुन्छ । सामाजिक सञ्जाल, वेभसाइट वा अन्य माध्यमबाट जानकारी लिइन्छ । घुम्न निस्कने मानिसले त्यही अनुसार आफ्नो खल्तीमा पैसा हाल्छ ।
तर, विशेष अवसरमा पोखरामा आयोजना हुने यस्ता महोत्सवहरु आलोचनाबाट मुक्त हुन सकेका छैनन् । लेकसाइडमा भान्छेको भीडभाड बढ्नासाथ होटलका कोठमाहरुको मूल्य बढाउने, खानामा थप शुल्क लिने र महंगोमा सामान बेचेको आरोप लाग्दै आएको छ । महोत्सवको बेला कोठा नपाएर सडकमै सुत्नु परेको, होटलवालाले महंगो मूल्य लिएको र अरु बेला सामान्यतयाः एक हजारमा पाइने कोठालाई नै ५ हजार भन्ने गरेको स्थानीयले नै गुनासो गरे । होटल संघले नै आफ्ना सदस्यहरुलाई आन्तरिक सर्कुलर जारी गरी‘ विगतमा वर्षहरुमा होटल÷प्रतिष्ठानहरुले आफ्नो कोठाको मूल्यसूचिभन्दा बढी मूल्य लिएको जनगुनासो आएको सन्दर्भमा उक्त कार्य नगरि साबिकको मूल्यमा सेवा दिन’ आग्रह गरेको छ ।
संघले फेवा महोत्सवमा आउने पाहुनलाई व्यवसायीले नियमित मेन्युमा १५ प्रतिशत छुटको घोषणा गरेका छन् । अध्यक्ष तुलाचनले देशका बिभिन्न ठाउँमा पुगेर गरिएको घोषणा र दिइएको प्याकेज लागु गर्न पनि अनुरोध गरेका छन् । पर्यटन कार्यालय पोखराका अनुसार यहाँ ९ सय २४ वटा होटल दर्ता भएका छन् । पर्यटन कार्यालयमा दर्ता नहुने होटलको संख्या पनि ठूलै छ । यहाँका होटलमा ३० हजार बेड रहेको र समग्र गण्डकी प्रदेश भित्रको होटल क्षेत्रमा मात्र एक खर्ब रुपैयाँ बढीको लगानी रहेको होटल संघले जनाएको छ । संघका अध्यक्ष तुलाचनका अनुसार आफ्ना सदस्य होटल÷प्रतिष्ठानहरुलाई यस्तो आग्रह गरिएको हो । उनका अनुसार संघमा आवद्ध नभएका होटलहरुले बढी शुल्क लिए होटल संघले केही गर्न सक्दैन । उनका अनुसार फेवा महोत्सवलाई लक्षित गरेर घुमघाम, मधुमास र शैक्षिक भ्रमण प्याकेज सार्वजनिक गरिएको छ ।
होटल संघका अनुसार घुमघाम प्याकेजको न्यूनतम मूल्य २ हजार ९ सय ९० देखि अधिकतम् १३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । यो प्याकेजमा एउटा सिंगल वा डबल बेडको कोठा, खानासहित दुई रातको बसाई र ब्रेकफाष्ट र पोखरा भ्रमण समेटिएको छ । शैक्षिक भ्रमण प्याकेजको कम मूल्य १ हजार ७ सय ७० रुपैयाँ तोकिएको छ । यता, मधुमास पोखरा प्याकेजमा बढीमा १४ हजार ४ सय ४० र कम ३ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ । अर्को मधुमास प्याकेजमा भने सबैभन्दा बढी मूल्य २१ हजार १ सय १० रुपैयाँ तोकिएको छ । यी प्याकेजमा अतिरिक्त शुल्कहरु नजोडिएको होटल संघले जनाएको छ ।





