मुस्ताङ, ३० चैत – नेपालमा ‘कश्मिर कस्तुरी मृग’ फेला परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को मुस्ताङ क्षेत्रमा अनुसन्धानकर्ता पारसविक्रम सिंह र चिनियाँ प्राध्यापकलगायतले पहिलो पटक काश्मिर कस्तुरी मृग पत्ता लगाएका हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को एक्यापमा कार्यरत सिंह ‘युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साईन्सेस्, बेइजिङ’बाट कस्तुरी मृगमाथि विद्यावारिधि गरिरहेका छन् । उक्त एकेडेमीका प्राध्यापक जियाङ झिगाङको सुपरभिजनमा सिंहले अन्नपूर्ण संरक्षण क्षेत्रमा कस्तुरी मृगबारे अनुसन्धान गरिरहेका छन्।
नेपालमा यसअघि अल्पाइन, कालो र हिमाली गरी तीन प्रजातिका कस्तुरी मृग पाइने बताइएको छ। ‘लामो अनुसन्धानपछि हामीले कश्मिर कस्तुरी मृग प्रमाणित गर्न सफल भएका छौँ, हाम्रा लागि नयाँ हो’ अनुसन्धानकर्ता सिंहले भने, ‘यसअघि यो अफगानिस्तान, पाकिस्तान र भारतको काश्मिर क्षेत्रमा रेकर्ड भएको छ।’ नेपालमा अल्पाईन, कालो र हिमाली कस्तुरी पाइने बताइए पनि हिमाली कस्तुरी मृगबाहेक अरूको खासै अध्ययन भएको छैन। ‘अल्पाईन र कालो कस्तुरीबारे अध्ययन भएकै छैन’ सिंहले थपे, ‘हामीकहाँ हिमाली कस्तुरी मृगबारे मात्र काम भएको छ, नेपालको उच्च भागमा हिमाली कस्तुरीको सङ्ख्या नै बढी छ भन्ने विश्वास छ।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का नेपालभरि करिब ५ सयको हाराहारीमा कस्तुरी मृग रहेको अनुमान गर्छन्। ‘विस्तृत अध्ययन गर्न सकेका छैनौँ’, खड्काले भने, ‘त्यसैले कस्तुरीको अलग्गै कार्ययोजना बनाएर सङ्ख्या यकिन गर्ने तयारीमा छांै।’ काश्मिर कस्तुरी मृगको सङ्ख्या थाहा पाउन भने लामो अध्ययन गर्नुपर्ने हुन्छ। सिंहको अध्ययनअनुसार मुस्ताङको करिब ३ हजार ३ सय मिटर उचाइको मार्फा र लुब्रा क्षेत्रमा कश्मिर कस्तुरी मृग भेटिएको हो। सिंहले अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ, मनाङ र कास्कीमा फैलिएको अन्नपूर्ण बेस्क्यापबाट ३ सय ४० वटा कस्तुरीका बड्कौला (आची) सङ्कलन गरेका थिए। सिंहले उक्त क्षेत्रमा सन् २०१० देखि नै कस्तुरीको अध्ययन थालेका हुन्। सन् २०१५ देखि यता भने कस्तुरीमा विद्यावारिधिका लागि उनको अध्ययन केन्द्रित छ।
‘कस्तुरीको बड्कौलामा भएको डीएनए जाँच गर्दा पहिले रेकर्ड भएका ६ प्रजातिका कस्तुरी भन्दा भिन्न पाइयो’ सिंहले भने, ‘पूर्वी अफगानिस्तानबाट प्राध्यापक डा.स्टेफेन ओस्ट्रोस्कीले मरेको कस्तुरीको छालाको टुक्रा हामीलाई पठाइदिएपछि डीएनए परीक्षण गर्दा मुस्ताङका कस्तुरीको डीएनएसंग मेल खायो। त्यसले मुस्ताङमा नयाँ कस्तुरीको प्रजाति पुष्टि भयो।’ विश्वमा कस्तुरीका ७ प्रजाति पाइन्छन्।





