बागलुङ ,१ बैशाख – झुक्किएर शरिरमा स्पर्श हुँदासाथ शरिर भतभती पोल्ने हुँदा जरैदेखि उखेलेर फाल्ने चाल्ने सिस्नु (अल्लो)लाई बागलुङको ताराखोलाका उद्यमीले पैसा कमाउँने माध्यम बनाएका छन् । बागलुङको ताराखोला गाउँपालिका क्षेत्रमा बढी मात्रामा पाइने चाल्ने सिस्नु (अल्लो) बाट नरम प्रकारको धागो उत्पादन गर्न सकिने भएपछि त्यसको प्रशोधन गरेर स्थानीय उद्यमीहरुले पैसा कमाउँन थालेका हुन् ।
जंगल, खोल्साखोल्सी लगायतका क्षेत्रमा उम्रिने मसिना काँडै काँडा भएको बनस्पतिको लोत्ताबाट मूल्यवान कपडा उत्पादन गर्ने परम्परागत उपायलाई व्यवसायीकरण गर्दै स्थानीयले राम्रो आम्दानी गर्न सफल भएको ताराखोलाका उद्यमीहरु बताउँछन । परम्परागत रुपमा पुर्खाहरुले भाँगो, चाल्ने सिस्नु लगायतका बनस्पतिहरुका लोक्ताबाट डोरी, नाम्ला तथा दाम्लाहरु निर्माण गर्ने गरेकोमा त्यसलाई कपडाको रुपमा विकास गरिदै आएको स्थानीय उद्यमी सपना बुढाथोकीले बताइन।
चाल्ने सिस्नुको लोक्ताबाट तयार पारिने कपडाहरु मुलायम, तापक्रम अनुकूल, हलुङ्गो तथा देख्नलाई पनि राम्रो हुने भएकाले बजारको माग अनुसार आफूहरुले लाभाङ जुनतारा साना लघुउद्यमी अल्लो धागो उत्पादन समूह स्थापना गरेर धागो तथा कपडा उत्पादनको काम गरेको उद्यमी बुढाथोकीको भनाई छ । स्थानीयहरुले जंगलबाट संकलन गरेर ल्याएको काँचो अल्लो खरिद गरेर समूहले त्यसलाई सुकाउँने, खरानी पानीमा पकाउँने, कुट्ने, सफा तरिकाले धुने, कमेरो लगाएर घाममा सुकाउँने र सुकेको अल्लोबाट भुँवा निकालेर धागो उत्पादन गर्ने गरिन्छ ।
अल्लोको संकलन, प्रशोधन तथा बजारीकरणका लागि ताराखोला गाउँपालिकाले धागो बनाउँने मेसिन समूहलाई प्रदान गरेपछि आफूहरुलाई सहज भएको समूहका अध्यक्ष जस्मती रोकाले बताइन। समूहमा स्थानीय १४ जना महिला उद्यमी अल्लो प्रशोधनमा सक्रिय छन् । उनीहरुले हरेक दिन तीन घण्टा काम गर्ने गरेका छन् । समूहमा संकलन हुने अल्लोबाट धागो उत्पादन गरेर राख्ने महिलाहरुले माग अनुसार विभिन्न कपडाहरु समेत तयार गर्ने गरेको समूहका अध्यक्ष रोकाले बताइन ।
अहिले समूहले अल्लोबाट निर्मित कपडाको प्रति मिटर चार सय रुपियाँ, तयारी हाफ सुइटरको दुई हजार रुपियाँ, पुरा साइजको सुइटरको तीनहजार रुपियाँ र प्रतिकेजी धागो एक हजार पाँच सय रुपियाँमा बिक्री गर्ने गरेको छ । एक केजी धागोबाट दुईवटासम्म सुइटर बनाउँन सकिने भएकाले अन्य क्षेत्रका हस्तकलामा काम गर्ने महिलाहरुले धागो खरिद गरेर लैजाने गरेको समूहले जनाएको छ ।
महिलाहरु समूह बनाएर अल्लो उत्पादन, प्रशोधन र बिक्री वितरणमा सक्रिय भएपछि त्यसै मरेर जाने बनस्पतिको सही सदुपयो हुनुका साथै अन्य महिलाहरुले समेत आम्दानी गर्ने गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए। महिलाहरुले जंगलबाट ल्याउने काँचो अल्लोलाई समूहले प्रति केजी ५५ रुपियाँमा खरिद गर्ने र स्थानीय बन समूहलाई प्रति केजी पाँच रुपियाँ कर तिर्ने भएकाले स्थानीयको आम्दानीसँगै बन समूहलाई समेत फाइदा पुगेको स्थानीयको भनाई छ ।





