बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ओखती उत्पादनमा जोड  

ओखती उत्पादनमा जोड  


  • Dhorpatan News
  • बैशाख ८ २०७६, आइतबार

उपराष्ट्रपति नन्दकिशोर पुनले औषधीमा आत्मनिर्भर हुन देशमै उद्योगहरु स्थापना हुनुपर्ने सुझाएका छन् । उनले नेपालबाट बाहिरिएका जडिबुटीहरु प्रशोधन भएर आएका औषधीहरु उपयोग गर्नुपर्ने नियति अन्त्यको कामना पनि गरेका छन् ।
नेपालमा अहिले करिब ४४ अर्ब रुपैयाँको औषधी खपत हुन्छ । नेपालमा खपत हुने औषधीमध्ये ६० प्रतिशत आयात हुन्छ । औषधी आयात गर्दा देशले वार्षिक अरबौँ रुपैयाँ विदेशिने गरेको छ । असाध्य रोगहरुका औषधीहरु नेपालमा बन्दैनन् । भएको एउटा वैद्यखाना आफै बिरामी भएको छ । सरकारी स्वामित्वमा रहेको सिँहरदरबार बैद्यखानाले धेरैअघिदेखि औषधी उत्पादन गर्न थाले पनि त्यसले न त समय अनुसार आफूलाई परिमार्जित गरेको छ, न त, बजारको आवश्यकता नै पूरा गर्न सकेको छ । अनुसन्धान त झन परको कुरा ! अनुसन्धान नभई नयाँ ओखतीहरु उत्पादन गर्न सकिँदैन । विश्वबजारमा प्रतिलिपी अधिकार नभएको र परम्परागत रुपले उत्पादन हुँदै आएका ओखती उत्पादनले मात्रै देशको आवश्यकता पूर्ति हुने कुरै भएन । यो हाम्रो दुर्भाग्य हो ।
नेपालमा अहिले निजी क्षेत्रमा केही औषधी उद्योगहरु स्थापना भएका छन् । ति उद्योगहरुको उत्पादनले राष्ट्रिय आवश्यकता पूर्ति गर्नुका साथै निर्यातमा पनि योगदान गरेका छन् । नेपालका केही कम्पनीहरुले उत्पादन गरेको ओखती विश्व स्वास्थ्य संगठनको मापण्डण्ड अनुसारका नै छन् । ति औषधीहरु विभिन्न देशमा निर्यात हुनु खुसीको कुरा हो । तर, उनीहरुको पनि आफ्नैखाले गुनासो छ । राज्यको आवश्यकता पूर्ति गर्ने उद्योगहरुले सहुलियत नपाएको,उत्पादनको प्रमाणिकरणमा समस्या भएको उनीहरुको भनाई छ ।
पानी, भोजन र निद्राजस्तै अपरिहार्य हो, ओखती । ओखतीको उपयोग मानव जीवनमा कहिलेबाट थालियो भन्ने प्रष्ट छैन । तर, मानिसहरुले ढुंगेयुगबाटै औषधीको उपयोग गर्न थालेको इतिहास छ । रोग लाग्दा आदी मानिसहरु आफ्नो वरपर जे पाउँथे, त्यसकैबाट उपचार गर्थे । कालान्तरमा पूर्वीय दर्शनमा आयुर्वेदकै प्रादुर्भाव हुनपुग्यो । आयुर्वेदले ओखती बनाउनेदेखि कुन रोग लाग्दा कस्ता औषधी प्रयोग गर्ने भन्ने सिद्धान्त बनायो । आयुर्वेदले औषधीको प्रयोगसँगै मानवको आहार–विहारलाई पनि महत्व दियो । पूर्वीय समाजको यो अमूल्य निधीलाई हामीले विकास गर्न भने सकेनौँ । पछि पश्चिमाहरुले औषधी विज्ञानमा धेरै अनुसन्धान गरे । उनीहरुले गरेको अनुसन्धानले असाध्य रोगहरुको उपचार पनि सम्भव भयो । तर, एलोपेथी उपचारमा लाग्दै गर्दा हामीले आयुर्वेदले दिएको आहार–बिहारमा अपनाउनु पर्ने सावधानी भने अपनाउन सकेनौँ । अहिले संसारमा एलोपेथी, होमियोपेथी र वैकल्पिक चिकित्सा पद्दतीलाई पनि स्वीकार्न थालिएको छ । मानिसहरु अब प्रकृतितिर नै फर्क भन्ने मानसिकतामा पनि पुगेका छन् । अब नेपालजस्ता देशहरुले यी सबै पद्धतिहरुलाई मानिसको स्वास्थ्यसँग जोडेर हेर्नु पर्ने भएको छ ।
स्वास्थलाई नेपाल सरकारले मौलिक अधिकारको रुपमा स्वीकारेको छ । मौलिक अधिकारको रुपमा स्वीकार्य स्वास्थ्यलाई आम मानिससम्म पु¥याउन औधषी र चिकित्सकहरुको उपलब्धता पहिलो सर्त हो । अहिले पनि हाम्रो देशमा ज्वरो आउँदा सिटामोल नपाउने अवस्था छ । डाक्टरको अपर्याप्तताको कुरा झन डरलाग्दो छ । जबसम्म देशले योग्य चिकित्सक र औषधीमा आत्मनिर्भर बन्न सक्दैन तबसम्म यो समस्याबाट छुटकारा पाउन सकिँदैन । राज्यले अब देशमै औषधी उत्पादनको व्यवस्थापन गर्नपर्छ । देशमै पाइने जडिबुटीहरु कौडीको मूल्यमा विदेश पठाउने र उताबाट आएका औषधीहरु मंहंगोमा किन्ने बाध्यता अन्त्यको लागि ठोस योजनासहित अगाडि बढ्नु्पर्छ । नेपाली बजारमा अहिले औषधीमा मनोमानि छ । एउटा सामान्य औषधी लागतभन्दा कयौँ गुणा बढी मूल्यमा बेचिने गरेको छ । यसको अर्थ हो, यहाँ भएका औषधी उद्योगहरु र बिक्रेताहरुको कडा अनुगमन जरुरी छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा खेलबाड गर्ने अधिकार कोही कसैसँग छैन । अतः पहिलो सर्त औषधीमा आत्मनिर्भर बन्ने दिशामा अगाडि बढ्दै उद्योगहरुलाई व्यवस्थित पार्नतर्फ लाग्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->