बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उर्जामा परनिर्भरता हटाऊँ

उर्जामा परनिर्भरता हटाऊँ


  • Dhorpatan News
  • बैशाख २४ २०७६, मंगलबार

गण्डकी सरकारले पोखरामै घर हुने सभासदहरुको लागि पनि घरभाडा लिने बाटो खुलायो । सभासदहरुको बैठक भत्ता बढाएर एक हजार रुपैयाँ पु¥यायो । यी निर्णयहरुले सभासदहरु आफ्नो सेवा र सुविधा बढाउने ध्याउन्नमा मात्रै छन् भन्ने आरोप ठीकै रहेछ भन्ने प्रमाणित भयो । प्रदेश सरकारले यी बाहेक अन्य केही ठोस र सकारात्मक निर्णय पनि गरेको छ । र, त्योमध्ये एक हो,तनहुँको गाछेपानीमा निर्माण गर्न लागेको इन्धन भण्डारण केन्द्र ।
गण्डकी सरकारले गाछेपानीको मार्कीचोकमा ९० हजार लिटर क्षमताको इन्धन भण्डारण केन्द्र बनाउने भएको हो । २०७२ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पारवहन परिवहन सम्बन्धि १० बुँदै सम्झौता भएको थियो । सोही समयमा चिनियाँ सरकारले नेपालका विभिन्न स्थानमा आफ्नै लगानीमा ईन्धन भण्डारण केन्द्र निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिवद्धता कार्यान्वयनको लागि प्रदेश सरकारले अहिले मार्कीचोकमा जग्गा व्यवस्था गरेको हो । मार्कीचोकमा ६० रोपनी सार्वजनिक जग्गा रहेको छ । त्यहाँ भएको बाँकी जग्गा भने सरकारले अधिग्रहण गर्नेछ । करिब ४ सय रोपनी क्षेत्रफलमा बन्ने इन्धन भण्डारण केन्द्रले यो प्रदेशलाई चाहिने इन्धन आपूर्ति गर्ने लक्ष्य लिइएको छ । त्यो केन्द्रमा प्रदेशलाई तीन महिनासम्म चाहिने इन्धन भण्डारण गर्न सकिने बताइएको छ ।
इन्धनको महत्व कति हुन्छ , भन्नै पर्दैन । आफूसँग भण्डारण क्षमता नहुँदा कस्तो समस्या भोग्नु पर्छ भन्ने सम्झन भारतीय नाकाबन्दी सम्झे पुग्छ । भारतले गरेको नाकाबन्दीका कारण इन्धनको हाहाकार हुँदा भण्डारण कक्षको अभाव खड्किएको थियो । प्रधानमन्त्री ओलीले त्यही छेकोमा चीनसँग भण्डारण केन्द्र बनाउने प्रस्ताव राखेका थिए । प्रस्ताब गरिएको लामो समयपछि बल्ल भण्डारण कक्षको जग्गाको टुंगो लागेको छ । जग्गा अधिग्रहणको प्रक्रिया बाँकी नै छ । चीनले निर्माण गर्ने भए पनि यसको व्यवस्थापनको लागि प्रदेश सरकारले सहजिकरण गरेको छ । यो भण्डारण केन्द्रको निर्माण निर्णय भने संघ सरकारले नै गर्नेछ । यो परियोजना कति छिटो अगाडि बढ्छ भन्ने कुरा केन्द्र सरकारकै हातमा रहेको छ । केन्द्रको सहयोग बिना प्रदेश सरकारको यो निर्णय कार्यान्वयनमा आउन सक्दैन । त्यसैले प्रदेश सरकारले भण्डारण केन्द्र बनाउन संघलाई तताउनु आवश्यक रहेको छ ।
नेपालमा इन्धन उत्पादन हुँदैन । इन्धनमा भारतको भर पर्नुपर्ने अवस्था छ । भारत दाहिना भइञ्जेल इन्धन आपूर्तिमा समस्या नहोला तर कथंकदाचित भारत रिसायो भने इन्धन आपूर्ति बन्द मात्र हुँदैन, हाम्रो दैनिक जीवन नै अस्तव्यस्त बन्न पुग्छ । नाकाबन्दी पुनः ब्यहोर्न नपरोस् भन्ने कामना गर्दैगर्दा पनि नेपालले आफ्नो लागि आवश्यक पर्ने सामानहरुको भण्डारण क्षमता बढाउनै पर्ने हुन्छ । हरेक देशहरुले आफूलाई चाहिने सामानहरुको भण्डारण गर्छन् । भण्डारणको रणनीतिक र सामरिक महत्व हुन्छ । शक्तिशाली देशहरु आफूलाई चाहिने सबै सामानहरु भण्डारण गरेर सुरक्षित महशुस गर्छन् । बिशाल छिमेकी बीचमा रहेको नेपालले पनि समानुकुल आफ्नो क्षमता बृद्धि गर्नैपर्छ । अहिले इन्धनको भण्डारणको कुरा आएको छ, अब अन्य सामानहरुको भण्डारणमा पनि सरकारले ध्यान दिनुपर्छ ।

अर्कोतर्फ, इन्धनको भण्डारणको तयारीसँगै देशले आफूलाई आत्मनिर्भर बनाउन बैकल्पिक बाटोहरु पनि अवलम्बन गर्नुपर्छ । नेपाल जलविद्युतमा धनी छ । तर, नेपालले विद्युत उत्पादन क्षमता बढाउन सकेको छैन । खोलाको पानी बगेर खेर गइरहेको छ । एकातिर इन्धन आपूर्तिको लागि वार्षिक अरबौ रुपैयाँ बाहिरिएको छ भने पानीसँगै त्यति नै पैसा पनि बगेको छ । देशमा विद्युत उत्पादन बढाउन सके इन्धनमा विदेशिने पैसा मात्र रोकिदैन, हामी बिजुली बेचेर नै धनी बन्न सक्छौँ । यो वा त्यो बहानामा जलविद्युत परियोजनाहरु रोक्ने कार्यले इन्धनमा परनिर्भरता घट्दैन । अत ः सरकारले जलविद्युत उत्पादनमा विशेष जोड दिनुपर्छ । यसैगरी वैकल्पिक उर्जाको प्रयोगले पनि परनिर्भरता घटाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->