बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ढलेको सिन्को नउठाउने महान समाजसेवी !

ढलेको सिन्को नउठाउने महान समाजसेवी !


  • कृष्णराज शर्मा 
  • बैशाख २९ २०७६, आइतबार

समाजको ठूलो तप्काको बाला जीवन कष्टकर मात्रै होइन महाकष्टकर थियो । अझ अगाडिको ईतिहास त झन भयावह नै थियो । राजनैतिक ईतिहासको अध्ययन सहज भएपनि सामाजिक साँस्कृतिक इतिहासको बारेमा  गहिरो अध्ययन गर्न चाहेर पनि  त्यस्ता ईतिहास भेटिदैनन । त्यसैले समाजको इतिहासको बारेमा डुबुल्की मारेर अध्ययनमा पौडिने ठाउँ पाईंदैन । तै, त्यस्ता इतिहासहरु जनश्रुतिका आधारमा केही सुन्नमा पाइन्छन्  ।हाम्रा पुर्खाहरुको जीवनचर्याको बारेमा अनुमान मात्रै लगाउन सक्छौँ । ठोस प्रमाणका आधारहरु भेटाउन भने सक्दैनौँ । राणाकालीन समयको समाज व्यवस्थाका कुरा सुनेर हामी जिब्रो काढ्छौँ । त्यतिबेलाको परिवेषमा जनश्रमदान गरेर सामाजिक पुर्वाधारहरु निर्माण गरेका कथा सुनेर चकित हुन्छौँ । काजीको आदेश शीरोपर नगरे बिल्लिबाठ हुनुपर्ने अवस्था थियो । मानवीय सीप र क्षमताभन्दा बाहिर गएर जस्तोसुकै जोखिममा पनि मान्छेहरु कजिनु पथ्र्यो ।  काजीको कजाईंमा अनकण्टार पहराहरु खोपेर बाटो बन्थे । अनकण्टार ठाउँको पानीको मुहानबाट कुलो पैन्ही निर्माण हुन्थे । मान्छे भएर पनि बाँदरको रुपमा साहसी बन्दै त्यस्ता ज्यानमारा श्रम गर्थे, हाम्रा पुर्खाले । यस्को पुष्टी गर्न हाम्रा दुर्गम गाउँमा पुग्दा अहिले पनि ती पुर्वाधारका अवशेष भेटिन्छन । कतिपय ठाउँमा त उनै पुख्र्यौली डोरेटोको बिस्तारित रुपको विकास आज पनि पाउँछौँ । त्यस्तो श्रमगर्ने हाम्रा पुर्खाहरु कति भोकभोकै मरे । कति कुपोषणको सिकार भए । उपचारको नाममा झारफुक र जडिबुटी थियो । त्यस्तो उपचारबाट कति कालगतिले कति अकालमा ज्यान गुमाए होलान । जति आयू बाँच्थे भगवान भरोसामा बाँच्थे । दीर्घायू त कोही भएनन् । म नजन्मिँदै मेरो हजूरबा पचास नकाटी जानुभयो । पत्थरीले थलिनु भएको उहाँले उपचार नै पाउनु भएन । यसरी नै थुप्रै हजूरबाहरु अल्पायूमा यो धर्तीबाट बिलाए होलान् । त्यस्ता पुर्खाहरुले हट्टाकट्टा हुँदा समाजमा कति योगदान गरे होलान् कुनै लेखाजोखा नै छैन । उनीहरुको श्रम र शीपको ईन्जीनियरिङ आज पढेलेखेकाहरुको भन्दा कम्ति बुद्धिमत्ताको थिएन । त्यस्ता हाम्रा पुर्खा र हाम्रा बाउबाजेका समाजसेवालाई कृतज्ञता जनाउनु त कता हो कता उल्टै कृतघ्न बन्न थालेको छ । त्यस्ता वीर पुर्खाहरुलाई आजको समाजले बिर्सन थालेको छ । अहिलेका राज्य लुटेर र चिथोरेर अकुत संपत्ति आर्जन गरेकाहरुले उनीहरुको योगदानको नामोनिशान मेटाउन लागि परेको देखेर आधुनिक समाज वाल्ल पर्न थालेको छ ।हालै बागलुङको बलेवामा यौटा कार्यक्रमले त्यस्तै पुर्खाहरुको पौरखलाई लात हानेको छ । आजभन्दा छ दशक पहिला ( बि.सं. २०१७ ) यो पृथ्वी प्रावि स्थापना गर्दा खोले खाएर गरेको समाजसेवा उखेलेर फ्याँकेको छ । उनीहरुको पौरख लगभग मेटिन पुगेको छ । दानदाताले आफ्नो संपत्तिको बलमा हिंजोका समाजसेवीले गरेका कठिन सामाजिक मूल्यको अवमुल्यन गरेको गाउँलेहरुनै खासखुस गर्न थालेका छन् । कस्तो दुःख गरेर यो स्कुल बनाए हाम्रा अग्रजहरुले अहिले उनीहरुलाई ओझेलमा पार्दै स्कुलको लागि सिन्को नउठाएका मान्छेलाई ’महान समाजसेवी’ को रुपमा बिहान बेलुका दर्शन गर्न पर्ने भयो । चन्द्र ढकालले आफ्ना पूज्यपिताको शालिक नराखेर सहयोगको धनराशी मात्र स्कुललाई दान गरेका भए उनी अझ उचो कदका हुने थिए । यस्तो काम के गरे उनले ? किन स्कुलको नाममा अतिक्रमण गरे ? यसरी स्कुलमै आफ्ना बाबुको शालिक राख्नै पर्दैनथ्यो ।  गाउँलेहरु समारोह स्थलको पण्डाल बहिर यिनै कुराहरु गरिरहेका थिए । गाउँलेहरु धक फुकाएर कसैले उनलाई यसो उसोगर भन्न सक्दैनथे । यसो हुनुको पनि कारण रहेछ –कमर्स पढाऊ । आई ए बीए पास गराउ । जागीरको जिम्मा मेरो भयो भन्दै युवाहरुलाई उनैले आफ्नो बैंकमा जागीर लगाई दिने गरेका रहेछन । त्यसकारण उनले गरेका जस्तासुकै कामको खुलेर गुनासो गर्नै सक्दा रहेनछन् । गुनासाहरु मान्छेका मन भित्रभित्र पाके पनि छोराछोरीलाई रोजगारको ग्यारेण्टी हुनेहुनाले स्कुलमा उनका पिताको मुर्ती राखेको कसैलाई चित्त नबुझे पनि ढकालजी को जयजय गर्दा रहेछन् ।विद्यमान शिक्षा नियमावलीमा पनि कुनै व्यक्ति,स्मारक वा ऐतिहासिक चीजवस्तुको नामबाट विद्यालयको नामाकरण भएको विद्यालयलाई कसैले यश, नियम वमोजिम रकम वा घर वा जग्गा सहयोग गरेपनि त्यस्तो विद्यालयको नामाकरण परिवर्तन गरिनेछैन । तर त्यस्तो विद्यालयलाई कुनै व्यक्तिले कक्षाकोठा थप गर्न,पुस्तकालय भवन वा छात्रावास भवन निर्माण गर्न रकम सहयोग गरेमा त्यस्तो कोठा वा भवनमा सो रकम प्रदान गर्ने व्यक्तिको नामाकरण गर्न सकिने छ भन्ने स्पष्ट नियम हुँदाहुँदै ०७५ कात्तिक २६ गते प्रअ प्रेम चापागाईंले पत्रद्वारा सबैलाई जानकारी समेत गराएका छन् । यसरी पृथ्वी माविमा हिरण्यको नाम थपिनु र यसैलाई वैधानिकता दिन राष्ट्रपति नै लागि पर्नुले पनि बलेवा अमलाचौरबासीलाई तीनछक पारेको छ  । संघीय संसदमा कानून बनाउने तीन–तीनजना सांसद त्यहि वडाका छन । आफैले बनाएको कानून आफैले धोती लाएको देखेर दुनियाँ अचम्ममा परेका कुरा  बाहिर आएको छ ।उ बेला समाजसेवाको कार्य घरायसी काममा फुर्सदिलो भएकाले मात्रै गर्न सक्थ्यो । अथवा अलि औसत आयस्था बलियो हुनेले नै समाजसेवाको निस्वार्थ सेवा गर्न सक्थ्यो । उ बेलाको समाजसेवा ’सेवा’ नै हुन्थ्यो । आजको जस्तो समाजसेवा ’पेशा’ थिएन । अग्रज गाउँलेहरुनै भन्छन ( हिरण्यको पारिवारिक अवस्था त्यतिखेर अत्यन्त दयनिय थियो । खेती किसानी गरेर परिवार पाल्न हम्मे–हम्मे थियो । बस्तुभाउका लागि चारपाँजो घाँस खोज्नमै व्यस्त हुन्थे । स्कुलको स्थापना गर्दा अरु यस्तै कमजोर अवस्थाका व्यक्तिले साथ दिएपनि उनले केही गरेका थिएनन् । उनको मनमा समाजसेवाको भावना भएपनि आफ्नै अवस्थाले दिएको थिएन । तर आज पृथ्वी माविमा उनको नाम टाँस्दा उनकै आत्मालाई अशान्ति त गराएनन् भन्ने गाउँकै मान्छेहरुले कार्यक्रम स्थलको पण्डाल बहिर निकै सुनाए ।हिजोको सामाजिक परिवेषमा त्यो स्कुल निर्माणमा ककसले कस्तो योगदान गरे स्कुलकै इतिहासमा होला । त्यो स्कुल स्थापना गर्दाखेरी बागलुङबजार–बलेवा धाउँदा खुट्टामा नीलडाम हुनेहरुलाई यो कार्यक्रमले मन रुवाएको हुन सक्छ । मकैभट्टको ’अर्नि’ खाएर हातमा ठेला उठाउनेहरुको दिल रोएको हुनसक्छ । हाम्रा बाउबाजेले कति दुःख गरेर स्कुल स्थापना गरे तर आज स्कुल स्थापनामा ’ढलेको सिन्को ठाडो नपार्ने’लाई महान समाजसेवी भन्न बाध्य बनायो भन्दै स्थानीयहरु साउती गर्न थालेका छन् ।नवनिर्मित विद्यायलय भवनले शैक्षिक भौतिक पुर्वाधारको बलियो संरचना बनेको छ । यसले भविष्यका स्थानीय पिँढीलाई पनि अवश्य सघाउ पु¥याउनेछ । हेर्दा सिंहदरबार जस्ता लाग्ने त्यस्ता संरचनाहरुले सही प्रतिफल दिनसक्छ या सक्दैन त्यो भने भविष्यकै गर्भमा छ । गाउँमा बनेका बडेबडे शैक्षिक तथा स्वास्थ्य संस्थाका यस्ता भवनले मात्रै केही दिँदैन । संरचना अनुसारको जनशक्ति भएन भने त्यसबाट वास्तविक लाभ लिन सकिँदैन । यो केवल राजनीतिक पद हत्याउन जनताका आँखामा छारो हाल्नु सरह हुने निश्चित छ । बोल्न सक्नेका छोराछोरी सुविधा सम्पन्न शहरबजारका स्कुलमा पढ्ने र गाउँका निम्न वर्गका सन्तानलाई जस्तो पढाए पनि हुने खालका ठुला संरचनाको संख्या देशैभरी बढ्दो छ ।  विद्यार्थीलाई फेल गराउनै नसकिने सरकारी शिक्षा नीतिले पढाउने र पढ्नेको मुल्यांकन पनि खासै गर्न पर्दैन । त्यसमाथी ’राजनीतिको लोकसेवा’ बाट पास भएर आउने शिक्षकलाई दबाब दिन पनि सकिँदैन । यी सबैकुराले गर्दा चर्चामा आउने र पैसाको बलमा राजनीतिमा हावी हुनमात्रै त यस्ता संरचना बन्दै त छैनन् भन्ने प्रश्न जताततै उठ्न थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->