नेपाली कांग्रेसको हिमाल,पहाड,तराई, मधेश राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । सबै क्षेत्र, जिल्ला तह,वडा÷नगरसम्म बिस्तार हुने अभियान तीन चरणमा सम्पन्न हुने कांग्रेसले जनाएको छ । पहिलो चरणको कार्यक्रम जेठ २५ गतेसम्म, दोस्रो भदौ २४ देखि असोज ७ गतेसम्म, तेस्रो पुस ७ गते सुरु भई पुस १६ गते अर्थात राष्ट्रिय मेलमिलाप दिवसको दिन समापन हुने कार्यक्रम तय भएको छ । जागरण अभियानले पार्टीको संशोधित विधानको जानकारी तल्लो तहसम्म पु¥याउने, कांग्रेस नेतृत्वमा भएका उपलब्धिहरुबारे जानकारी दिने र वर्तमान सरकारलाई खवरदारी पनि गर्ने कांग्रेसको भनाई छ ।
नेपाली कांग्रेस देशमा भएका विभिन्न परिवर्तनको नेतृत्वकर्ता हो । राणा शासन फाल्दा सशस्त्र क्रान्तिको नेतृत्व गरेको कांग्रेसले पञ्चायतबिरुद्ध लड्यो, राजाबिरुद्धको आन्दोलनको नेतृत्व ग¥यो । राजाले फेरि सर्वशक्तिमान बन्न खोज्दा भएको २०६२÷०६३ को आन्दोलनको कमाण्ड पनि कांग्रेसकै हातमा थियो । कांग्रेसकै अगुवाईमा यो देश गणतन्त्रमा बदलियो र नयाँ संविधान पायो । कांग्रेसले आफूले दिएको योगदानबापत राज्य संचालनको नेतृत्व र हिस्सेदारी पनि पायो । भला, २०१५ सालमा विपी कोइराला नेतृत्वको सरकारले कामै गर्न पाएन । सत्तामा हुँदा कांग्रेसले अवसरलाई उपयोग गर्न सकेन । भ्रष्टाचार, नातावाद र मनपरितन्त्रमा कांग्रेसीहरु रमाउन थाले । प्रजातान्त्रिक पद्दति र संरचनाको संरक्षणतिर कांग्रेसले ध्यान नै दिन सकेन । प्रजातान्त्रिक संस्थाहरु बलियो भए, प्रजातान्त्रिक पद्धति अनुसार राज्य संचालन भए मात्र लोकतन्त्र रहन्छ र लोकतन्त्र रहे मात्र बहुलवादमा विश्वास गर्ने कांगे्रसको अस्तित्व रहन्छ भन्ने पार्टीले सोच्नै सकेन । जसले गर्दा, कांग्रेस सत्ताको लागि जे पनि गर्न तयार झुण्डमा परिणत भयो । बहुलवाद र समाजवादी जगमा उभिएको कांग्रेसले पछिल्लो समय त आफ्नो आदर्श पनि बिस्र्यो । विपी, गणेशमान, किसुनजी, गिरिजाप्रसादको फोटो टाँसेर पार्टी चल्छ भन्ने मनोबृत्ति हावी बनायो । आफ्नोपन बिर्सेर कांग्रेस कतिपय एजेण्डामा कम्युनिष्टजस्तै, कहिले दक्षिणपन्थीजस्तै र कहिले उग्रपन्थको हिमायती भएको जनताले महशुस गर्न थाले । यसले गर्दा कांग्रेसमा युवा पुस्ताको आकर्षण हुनै सकेन भने कांग्रेसको नीति तथा शिद्धान्तमा विश्वास गर्नेहरु पनि लाखापाखा लागे ।
यतिबेला नेपाली कांग्रेस इतिहासमै कमजोर बनेको छ । देशमा दुई तिहाईको वामपन्थी सरकार हुँदा कांग्रेस नीति र एजेण्डाविहीन बन्न पुगेको छ । देशमा ठूला–ठूला भ्रष्टाचारका काण्ड मच्चाइएको छ तर त्यसका पार्टीका सभापतिको नाम पनि जोडिन पुगेको छ । जनताले भ्रष्टाचारबिरुद्ध कांग्रेस मुखरित भएको हेर्न चाहेका छन् तर पार्टी तै चूप मै चूपको अवस्थामा छन् । जनता कांग्रेसदेखि निरास भएका छन्, दुई तिहाईको सरकारसँग त्रस्त बन्न थालेका छन् । तर, यो कुरा कांग्रेसले चेतेको छैन । प्रतिपक्षी दल यति कमजोर छ कि, सरकारले आफूचाहे निर्णय गर्न थालेको छ । प्रजातन्त्रको मूलभूत कुराहरुमा प्रहार गरिएको छ । तर, कांग्रेस मौन छ । ऊ संसदमा बोल्न सक्दैन । सडक तताउन सक्दैन र जनतालाई अहिले भएका कुरा बुझाउने हिम्मत राख्दैन । यो लोकतन्त्रकै लागि दुर्भाग्यपूर्ण बनेको छ ।
तेस्रो, नेपाली कांग्रेस पार्टीभित्र यदुवंशी रोग भित्रिएको छ । गुट– उपगुटले पार्टी भताभुङ्ग छ । पार्टीमा एकले अर्काको अस्तित्व अस्वीकार गर्ने र आफू नै सर्वेसर्वा हुँ भन्ने घमण्ड बढेको छ । नेताको दौराको फुर्को समातेर बैतरणी तर्न खोज्ने रोगले जिल्लालाई पनि गाँजेको छ । जसले गर्दा पार्टी फरक गुटहरुको झगडा गर्ने थलो बनेको छ । नीति र आदर्शहरु छायाँमा परेका छन् । कुनै पनि पार्टी जिवन्त बन्नको लागि स्पष्ट नीति र कार्यक्रम तथा जिवन्तता चाहिन्छ । कांग्रेसले तीनवटै चिज गुमाएको छ । सत्तालाई नै साध्य मान्ने कांग्रेस यतिबेला मति हराएकोजस्तो देखिएको छ । कांग्रेस बिग्रिएकोमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेता तथा प्रधानमन्त्री केपी ओलीले पनि व्यङ्ग्य कस्न पाएका छन् । यो लाजमर्दो र निरीह अवस्थामा रहेको कांग्रेसले थालेको जागरण अभियानले सार्थकता पाउला त ? भन्ने बहस पनि यतिबेला उठान भएको छ ।
खासमा, राजनीतिक दल बलियो हुनु भनेको लोकतन्त्र बलिलो हुनु हो । लोकतन्त्रको लागि बहुलवादी सोचलाई सर्वोपरी मान्ने दलहरु बलियो बन्नुपर्छ । उनीहरुका क्रियाकलापहरु जन–मनबाट अनुमोदित हुनुपर्छ । जनताको विश्वास पाएर सत्तामा जाने र जनताबाट अनुमोदित नहुँदा रचनात्मक प्रतिपक्षमा बस्दै लोकतन्त्रको पहरेदार बन्नु नै राजनीतिक दलहरुको चरित्र हो । नीतिहीन, फुट र गुटतन्त्रमा रमाउने तथा आफूलाई दिएको भूमिका निर्वाह गर्न नसक्दा दलहरुको अस्तित्व नै धरापमा पर्छ । अहिले कांग्रेसलाई जनताले सच्चिन,प्रतिपक्षीको रुपमा सत्तालाई खवरदारी गर्न, नीति र कार्यक्रम जनमुखी बनाउन र एकतावद्ध हुने म्याण्डेट दिएका छन् । जागरण अभियान त्यही जनआदेश पूरा गर्ने दिशामा अग्रसर हुनुपर्छ । इतिहासले सुम्पेको दायित्व कांग्रेसले बेलैमा बुझ्नु्पर्छ ।

