२५६३ औँ बुद्ध जयन्ती भव्यताका साथ मनाइएको छ । इशापूर्व ५५३ वर्ष अगाडि बुद्ध नेपालको कपिलबस्तुमा जन्मेका थिए । राजपरिवारमा जन्मेका शिद्धार्थ कालान्तरमा बुद्ध भए । अहिंसा र शान्तिका पयार्य बने । संस्कृत भाषामा बुद्धको अर्थ जाग्नु भन्ने हुन्छ । शान्ति सत्यता, अहिंसा अनि सरलता नै बुद्धले सिकाएको मार्ग हो । बुद्धको मुख्य दार्श्निक सिद्धान्त प्रतित्य(समुत्पाद ) हो भने आधारभुत गुणहरु अनित्य, दुःख र अनात्मलाई आधारभुत सिद्धान्त मानिन्छ । बुद्धका उपदेशहरु अनिश्वरवादी ।अहिंसा, अधर्म अनि असत्य वाट मानवलाई जोगाउने सर्वब्यापी दर्शन हो । नेपालको कपिलबस्तुमा जन्मेका बुद्धले प्रतिवपादन गरेको यही सत्यलाई पछ्याउँदै उनलाई भगवान मान्नेहरु संसारमा चौथो स्थानमा छन् । अर्थात् बुद्ध धर्म संसारको चौथो ठूलो धर्म हो । अहिंसालाई सर्वोपरी ठान्ने बुद्धको उपदेशहरु ससर्वकालीन मात्रै छैनन्, अहिलेको विश्वको लागि अत्यावश्यक पनि देखिएको छ । लोभ, मोह र क्रोधका कारण मानिसको अवनति सुरु हुन्छ । मानिस गलत कामतिर मोडिन्छ । बुद्धले संसारीक मायाबाट उठेर मानव कल्याणका लागि जुन उपदेश दिएका छ, त्यसले मानिसलाई वास्तवमा मानिस बनाउँछ, करुणामयी बनाउँछ ।
अहिलेको विश्व अशान्त छ । पृथ्वी मात्र नभएर अन्तरिक्ष र पातालमा पनि अशान्ति थोपरिएको छ । राष्ट्र–राष्ट्रबीच, व्यक्ति–व्यक्तिबीच कटुता बढेको छ । संसारका धेरै देशहरु अहिले पनि आन्तरिक द्धन्द्धको चपेटामा छ । यी सबै युद्ध र अशान्तिको कारक भनेकै लोभ र मोह हो । जुन दिन मानिस लोभ र मोहबाट मुक्त हुन्छ र बुद्धले देखाएको मार्गमा प्रविष्ठ हुन्छ, त्यही दिन पृथ्वी र मानिस शान्त रहन्छन् । यसर्थ बुद्धका उपदेशहरुलाई अझ विश्वब्यापी बनाउनु पर्ने आवश्यकता देखिएको छ ।
बुद्ध नेपालमा जन्मेका हुन् । बुद्ध जन्मस्थल लुम्बिनी हो । ऐतिहाँसिक तथ्यहरुले बुद्ध लुम्बिनीमा जन्मेको प्रमाणित भइसकेको छ । तर पनि यदाकदा बुद्धको जन्मस्थलबारे बिवाद सृजना गरिन्छ । बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रमको खेति हुन्छ । हो, बुद्धले बोधगयामा ज्ञान प्राप्त गरेका हुन् तर उनको जन्म भने लुम्बिनीमै भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा बुद्ध नेपालका जन्मेको भन्ने कुरा प्रष्ट राखिसकेपछि बुद्धको जन्मबारे कुनै बिवाद छैन । बरु,बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा ध्यान दिने र यसलाई विश्वकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउनेतर्फ लाग्नु जरुरी छ । बुद्ध जन्मस्थल लुम्बिनी विकासको लागि गुरुयोजना तयार भएको छ । गुरुयोजना तयार भएको दुई दशकसम्म पनि निर्माणले पूर्णता पाउन सकेको छैन । यो दुःखको कुरा हो । नेपालले महत्वपूर्ण सम्पत्तिको उपयोग गर्न सकेको छैन । विश्वभरका बौद्ध धर्माबलम्बीको आस्थाको केन्द्रको पुनर्निमाणसहित यसको ब्यापक प्रचार गर्न सके नेपालको चिनारी विश्वब्यापी मात्र हुँदैन, पर्यटन उद्योग उकालो लाग्छ । पर्यटनबाट सम्मृद्धि खोजेको बेला अब ढिला गर्न हुन्न । खासगरी लुम्बिनीलाई ऐतिहाँसिकता जोगिने गरी गुरुयोजना अनुसार पुनर्निर्माण गर्नु तथा यसको ब्यापक प्रचार प्रसारमा सरकारले ध्यान दिनुपर्छ । विश्वका कयौँ मुलूकहरुले आफूसँग नभएका कुराहरुलाई पनि बेच्न सकेका छन् । तर, नेपाल भने आफूसँग भएको यस्तो ऐतिहाँसिक र महान सम्पदाको उपयोगबाट चुकेको छ । कम्तिमा बौद्ध धर्माबलम्बीको आस्थाको केन्द्रको सही तरिकाले निर्माण मात्रै हुन पनि ठूलो उपलब्धी मान्नुपर्ने अवस्था छ ।

