शहरमा एउटा सक्कली सुन पसलेको छेउमै नक्कली सुनपसले थियो मान्छेहरू सक्कली सुनपसलेको गहना मात्र हेर्थे, मुल्य सोध्थे र अन्तिममा नक्कली सुनपसलेकोमा गएर गहना किन्थे, हेर्दा हेर्दै नक्कली सुनपसलेको प्रगति दिन दुईगुना रात चौगुना भयो र सक्कली सुनपसले टाट पल्टेर बचेखुचेको सुन र सरसामान नक्ककली गहनावालालाई बुझाएर शहरबाटै पलायन भयो तर उसको मनबाट त्यो कुरो पलायन भएन जुन कुरो थियो की मान्छेहरू किन नक्कली सुनका गहना मात्र खरिद गरिरहेका छन् ??? सक्कली सुनका गहना किन मान्छेहरूको रोजाईमा परेनन् ??? यहि कुराले सताई रहेको उसले यो प्रश्नको उत्तर खोज्न धेरैतिर भौंतारियो तर कतैबाट पनि उसले चित्त बुझ्दो जवाफ पाएन र अन्ततस् एकदिन उसले नक्कली गहना पसले स्वयमलाई भेटेर यसको कारण पत्तो लगाउने निर्णय गर्यो र पुनः त्यहि शहरमा फर्क्यो जहाँ सक्कली सुनको व्यापार गर्दा उ टाटकुमार बनेको थियो, उ शहरमा फर्केपछि सरासर नक्कली सुन पसलेकोमा पुग्यो, मान्छेको भीडमा नक्कली सुनपसलेलाई बोल्न पनि फुर्सद थिएन सामान्य औपचारिकता पछि साँझसम्म उ त्यहिं बसिरह्यो कति चिनेका ग्राहकले उसलाई हल्का शैलीले उसको अन्तिम अवस्थाबारे सोधखोज गरे र उसले जवाफ पनि दियो ।
जब साँझ पर्न थालो, ग्राहक पनि पातालिंदै गए तब नक्कली सुनपसलेले उसलाई महत्व दियो सम्मानपूर्वक आफ्नो बैठक कोठाको सोफामा बसाएर उसको घरपरिवार, व्यपार व्यवसायको बारे सोध्यो, आजको रात आफ्नै घरमा बसौं भन्ने प्रस्ताब पनि गर्यो र अन्तमा उ आउनुको खास कारण पनि सोध्यो । तर उसले आफु आउनुको कारणतिर बढी ध्यानकेन्द्रित गर्दै भन्यो साहुजी यहाँको स्नेहको लागी धन्यवाद् म कुनैदिन यहाँको घरमा बस्ने गरी अवश्य आउनेछु मलाई एउटा प्रश्नले यहाँबाट गएपछि लखेटी रहेको छ त्यसको जवाफ खोज्न धेरै ठाउँ र धेरै व्यक्तिसम्म पुगें तर मेरो चित्तबुझ्दो जवाफ कसैले दिएनन् र मैले यसको जवाफ तपाईंबाट नै पाउने आशाले यहाँसम्म आएको छु मलाई यहाँले यत्ति भनिदिनुस की मान्छेहरू किन सक्कली सुन नकिनेर नक्कली सुन किनिरहेका छन् ???
उसको प्रश्न सुनेर नक्कली सुन व्यापारी मुसुक्क हाँस्यो र यत्ति भन्यो दलालीकरण मित्र । दलालीकरण ? मतलब साहुजी उसले प्रश्न गर्यो । व्यापारी आफु बसेको स्थानबाट उठ्यो र झ्यालको अगाडी उभिएर भन्यो हो दलालीकरण ! मैले समयको दलालीकरण गरें र मान्छेको आत्मालाई भ्रष्टिकरण गरें र आज सफल व्यापारी, सम्मानित समाजसेवी बनेर यो शहरमा पुजित छु मित्र, राजनैतिक पार्टीका नेता, शासक प्रशासक आफ्नो शीरमा मेरो आर्शिवाद थाप्न आउँछन् र यो पाली मलाई सभासद बनाउन काँग्रेस र कम्युनिष्टहरूले तँछाड मछाड गरिरहेका छन् । यसपछि उ मौन भयो । समयको दलालीकरण र मान्छेको आत्माको भ्रष्टिकरण ? टाटकुमारले फेरी व्यापारी सामु आश्चर्यजनक शैलीमा मनको अबुझपना प्रस्तुत गर्यो ।
हेर मित्र मान्छेहरू समयलाई हातका केवल दश वटा औंलामा मात्र गन्छन् फेरी फेरी दोहोर्याएर हैन एकैपटक मात्र मैले यहि बुझें र तिनलाई भ्रष्टिकरण गरें की तिनलाई शताब्दियौं शताब्दि हैन सेकेण्डमै बाँच्न दिनुपर्छ यसपछि त्यहि सेकेण्डको गहना बनाएर ब्यापार शुरू गरें ग्राहक तान्न दलालीकरण गरें मेरै पसल छेउछाउबाट, गाउँबाट व्यापार गर्न आएको किराना पसले, कपडा पसले, चिया पसले, होटलवाला, तरकारी फलफुलवाला, मेडिकलवाला, हार्डवयरवाला र छेउछाउमा डेरा गरी बस्ने डेरावाला ती सबलाई जम्मा गरेर रौसी मासुमा डुबाएँ र दलालीकरण गरें र तिनलाई आफ्नो आफ्नो गाउँ टोलमा टोले दलाल बनाउन र तिनको दिमागलाई भ्रष्टिकरण गर्न रौसी मासुमा आफै मन फुकाएर लगानी गरें त्यहि रौसी मासुको लगानीले मेरा वरपरका सबै व्यापारी पनि सफल बन्नपुगे र म पनि असफल शीर्फ तिमी बनेर टाट पल्ट्यौ जो सक्कली सुनको व्यापारी थियौ !
नक्कली सुन पसलेको कुरो सुनेर टाटकुमार गम्भीर बनिरहेको थियो व्यापारीले उसलाई भनिरहेको थियो जब तिमी कुनै काम शुरू गर्छौ नि, विज्ञापन गर, रेडियो, टिभी, पत्रपत्रिकामा, पोष्टर ब्रोसर बनाउ र दिमागमा पाइन्टमा मुतेर पुष जान्छ भन्ने शोच बोक्ने, पैसाको लागी धर्म बेच्ने, मानसम्मानका पारखी र रौसी मासुमा आत्मा बेच्ने यी चार प्रकारका मान्छे खोज र समयलाई दलालीकरण गर मेरो मित्र सफलता तिम्रो सन्निकट छ ।




