अहिले नेपालमा मर्जरको निक्कै बहस चलिरहेको छ । बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरु पछि लघुबित्त संस्थाहरु र सहकारीहरु पनि मर्जरमा जान थालेका छन्भने बिमा कम्पनीहरुको लागि पनि मर्जर गराउने उदेश्यले मर्जर तथा एक्विजिशन बिनियमावली जारी भएको छ । १९८० देखी १९९८ मा अमेरिकामा धेरै बैंक तथाबित्तीय संस्थाहरुमा मर्जरको लहर नै चलेको थियो । उक्त अवधिमा अमेरिकामा करिब ८ हजार बैंकहरु मर्ज भएका थिए ।
नेपालमा पनि बैंक तथा बित्तीय संस्था बिनियमावली २०६८ पछि बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरमा गएका थिए । जसको फलस्वरुप ३१ वटा बाणिज्य बैंक, ७ वटा विकास बैंक र ७९ वटा फाईनान्स कम्पनी गरी क, ख र ग बर्गका १९७ वटा बैंक तथा बित्तीय संस्थाहरु मर्जर तथाएक्विजिशन भई २०७५ चैत्र मसान्तसम्म २८ वटा बाणिज्य बैंक, ३२ वटा विकास बैंक र २४ वटा फाईनान्स कम्पनी गरी २४ वटामा झरेको छ । नेपालमा गरिएको एक अध्ययन अनुसार मर्जरमा सबैभन्दा चुनौती नयां ब्यवस्थापन टिमको गठन गर्नु देखिएको छ ।
त्यसपछि क्रमश कर्मचारीहरुको उचित ब्यवस्थापन, नयां सञ्चालक समितिको गठन, ब्यवस्थापन तथा कर्मचारीहरुको उचित कार्य बिभाजन र नयाँ बन्ने संस्थाको नाम चयन गर्नु कार्यहरु मर्जरमा प्रमुख चुनौती देखिएको छ । बिश्वमा भएका अधिकांश अध्ययनले मर्जरमा संस्कारको मिलान सबैभन्दा ठुलो चुनौती देखिएको छ जसको कारणले ३० प्रतिशत मर्जर असफल भएको तथ्याङ्कले देखाउँछ । सन् १९६८ मा रेलरोड न्यूयोर्क सेन्र्टल र पेन्नज्यूल्भ्यानिया रेलरोडको मर्जरपछि संस्कारको संघर्षको कारणले २ बर्षपछि कम्पनी टांट पल्टेको थियो । त्यस्तै गरी सफ्ट्वेयर कम्पनी नोबेल र वर्ड पर्फेक्ट कम्पनीको मर्जर पनि संस्कारको संघर्षको कारणले असफल भई कम्पनी नै बेच्नुपरेको थियो । त्यस्तै कम्प्यूटर कम्पनीहरु एचपि र कम्प्याक बिचको मर्जरमा पनि संस्कारको मिलान हुन नसक्दा असफल भएको थियो । मानिसहरुका स्वभाव, ब्यवहार तथा आचरण फरक हुन्छन् र कुनै पनि काम पटक–पटक गरिरहेमा उक्त कार्य उनीहरुको संस्कार बन्छ ।
त्यसैले लामो समयम एउटा संस्थामा काम गरिसकेका कर्मचारीहरुमा एउटा संस्कारको बिकाश भएको हुन्छ तर, उक्त संस्कार अर्काे संस्थाको कर्मचारीहरुको लागि राम्रो नलाग्न पनि सक्छ जस्तै एउटा संस्थामा नमस्कार गर्ने संस्कार हुनसक्छ भने अर्काे संस्थामा गुड मर्निङ्ग भन्ने संस्कार रहेको हुनसक्छ । मर्जरमा सबै संस्थाहरुको संस्कारलाई स्विकार गर्दै संस्थाहरुमा चलिआएको संस्कारमध्ये उपयुक्त संस्कार वा नयाँ संस्कारको बिकास गर्नुपर्छ । सन् २००७ मा रिलिज भएको बलिउड नायक अमिर खानको निर्देशन तथा अभिनय रहेको हिन्दी चलचित्र तारे जमिन परमा सबै बच्चाहरु बिशेष हुन्छन् र उनिहरु कुनै न कुनै बिषयमाअब्बल हुन्छन् भन्ने सन्देश दिईएको छ । अभिभावकहरुले बच्चाहरुको बिशेषता नबुझेर गल्ति गरिहेको र बिषेशता बुझ्न सके नालायक मानिएकोबच्चाले पनि ऐतिहासिक सफलता प्राप्त गर्न सक्छ भन्ने सन्देशको मर्मलाई ख्यालगर्दै ब्यवस्थापनले जुनसुकै संस्थाहरुबाट प्रतिनिधित्वगर्ने कर्मचारीहरुलाई पनि उनीहरुको बिशेषतालाई बुझेर उत्प्रेरण दिंदै अगाडी बढे कर्मचारी संस्कारको राम्रो मिलान हुन सक्छ । ठुलो हुँ भन्ने घमण्ड र सानो हुँ भन्ने हिनताबोध सफलताका बाधक हुन् । यि दुई स्वभावले मर्जरको सफलतालाई ठुलो प्रभाव पार्छ । मर्जरको प्रसंगमा ठुलो भन्नाले ठुलो संस्था, लामो अनुभव, धेरै ज्ञान तथा शिप आदि पर्छन् भने सानो भन्नाले सानो संस्था, कम अनुभव, कम ज्ञान तथा शिप आदि पर्छन् ।
म ठुलो हुँ भन्ने आत्मबिश्वास त सबैले राख्नैपर्छ तर, त्यो त्यसलाई घमण्डको रुपमा ल्याउन दिनु हुंदैन । गजनी चलचित्रमा अमिर खानले भने झैं “म यो गर्न सक्छु, यो मेरो बिश्वास हो । तर, यो मैले मात्र गर्न सक्छु, यो मेरो घमण्ड हो । बिश्वासलाई कायम राख्नु र घमण्डलाई ढोका बाहिरै छोडेर आउनु भए ठुलो आभारी हुने थिएँ ।” भन्ने भनाईलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बातावरण बनाउन ब्यवस्थापनको ध्यानजानु जरुरी हुन्छ । मर्जरपछिको केहि समयसम्म एउटा संस्थाको कर्मचारीहरुमा अर्काे संस्थाको कर्मचारीहरुप्रति चासोको साथै डर, त्राशतथा भय रहेको हुन्छ । बिशेष गरी ठुलो संस्थाको कर्मचारीहरु रअर्काे संस्थाबाट प्रतिनिधित्व भएर आएको हाकिमले पेल्ने हो कि भन्ने मनमा भईरहन्छ । कतिपय संस्थामा अर्काे संस्थाबाट प्रतिनिधित्व गर्ने हाकिमसंग आफ्ना समस्या राख्न नसक्ने, उनीहरुले राम्रो कुरा गरे पनि नकरात्मक सोंचको कारणले नराम्रो लाग्ने आदी पनि भएको देखिन्छ । यदि, अर्काे संस्थाबाट आएका कर्मचारीहरुलाई हेपेर वा पेलेर यदि कुनै कर्मचारीले आनान्द लिन्छ वा खुशी मनाउँछ भने उसले आत्मघाती गोल गरेर उत्सव मनाईरहेको छ भनेर बुझ्दा फरक पर्दैन किनकि, एउटा जिम्मेवार कर्मचारीको कर्तब्य मर्जरमा सम्मिलित सबै कर्मचारीहरुलाई सघाउनु हो । मानिस जन्मको आधारमा ठुलो हुँदैन, कर्मको आधारमा ठुलो हुन्छ भन्ने सिद्धान्तलाई शिरोपर गर्दै संस्थाका बरिष्ठ कर्मचारीहरुले नयाँ कर्मचारीहरुलाई काम सिकाउने बातावरण तयार पारिदिनुपर्छ भने कनिष्ठ कर्मचारीहरुले पनि बरिष्ठहरुप्रति आदर प्रकट गर्दै आफूले नजानेको काम सिक्नको लागि बिनम्रताका प्रस्तुतभई अनुभवी कर्मचारीहरुको मन जित्ने प्रयत्न गर्नुपर्छ ।
आफूलाई परिवर्तनको लागि तयार राख्नु कर्मचारीहरुको दायित्वहो किनभने माटो र हावापानी सुहाउँदो खेती गरे मात्र राम्रो बाली उत्पादन हुन्छ । मानिस जाडोमा बाक्लो कपडा लगाउँछन्, गर्मिमा पातलो र शितल हुने कपडा लगाउँछन्, घाम र पानी पर्दा छाता ओढ्छन्, किनभने उसको शरिरले अनुकुल तापक्रम खोजिरहेको हुन्छ । त्यसैगरी मानिसको जिवनमा पनि बिभिन्न खालका बातावरणहरु आउँछन् जान्छन् । बिभिन्न प्रतिकूल बातावरणहरुलाई अनुकूल बनाउनको लागि बातावरणमा भिज्दै आफूलाई सोहीअनुसारको परिवर्तन गर्दै लैजानुपर्छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकलाई चिनको बजारमा स्थापित गर्न धेरै संघर्ष गर्नुपरेपछि उनले चिनियाँ भाषा सिकेर चिनका ब्यापारीहरुसंग निकट सम्बन् धबनाउने रणनिति लिए, जुन बातावरण अनुकूल बनाउन आफूलाई तयार पारेको एउटा गतिलो उदाहरण हो । समुन्द्र सतहमा पानी उम्लन १०० डिग्री सेल्सियस र पानी बरफ हुन ० डिग्री सेल्सियस चाहिन्छ तर, १०० मा १ डिग्री कम अर्थात् ९९ डिग्री मात्र भएपनि पानी उम्लदैन भने १ डिग्री सेल्सियसमा पानी बरफ बन्दैन ।
जसरीे १ डिग्री सेल्सियस थपघटले पानीमा चमत्कारीक परिवर्तन ल्याउँछ, त्यसरी नै उचित संस्कारको मिलान हुन सके मर्जरबाट संस्थाहरु चमत्कारीक परिवर्तन आउन सक्छ जसलाई हामी मर्जरको सिनर्जी ईफेक्ट भनेर बुझ्छौ । मर्जरमा सिनर्जी ईफेक्ट भनेर १+१=३वा १+१=११ बुझिन्छ । कुनै कुनै मर्जरलाई कोदो र तोरीको मिसावट भनेर पनि भन्ने गरिन्छ तर, उचित संस्कारको मिलान भएमा मर्जरमा केमेष्ट्रि साईन्समा दुई वा दुईभन्दा बढि रसायनहरुको मिश्रणबाट नयाँ पदार्थको उत्पादन भए जस्तै संस्थामा उल्लेखिय परिवर्तन आई उत्पादकत्वमा समेत राम्रो बृद्धि हुन सक्छ । जसरी मानिसका हातका ५ औंला बराबर हुँदैनन् त्यसरीनै सबै मानिसका सोंच एकै हुंदैनन् । संस्थामा केहि मानिसहरु खराब पनि हुन सक्छन् त्यसैले मर्जरपछि संस्थामाकुनै एक दुई ब्यक्तिले सोंचे जस्तो ब्यवहार गरेन भनेर कर्मचारी आत्तिनु हुनु हुँदैन । त्यसैगरि ब्यवस्थापन आफ्नो पकडमा छ भनेर मात्तिनु पनि हुंदैन । आत्तिए वा मात्तिए मर्जर असफल हुन सक्छ । मर्जरपछिको अन्तरिम समयमा केहि समय केहि गाहे तथा अप्ठ्यारो भएता पनि ब्यवस्थापनसंग बसेर छलफल गरेर समाधान गर्नेतर्फ लाग्नुपर्छ ।
नेपाल राष्ट्र बैंकले १ बर्षसम्मको समयलाई अन्तरिम समय मानेको भएता पनि मर्जरपछिको ६ महिना बिशेष हुन्छ र कर्मचारीहरुको लागि यो समय परिक्षणकाल जस्तै हो र यो ६ महिना देखि १ बर्षसम्मको समय हटेर होईन डटेर समस्याको समाधान गर्न तयार रहनुपर्छ । हरेक दिनपछि रात आउँछ, डिजिटलको जमाना भन्दा पहिला फोटोको नेगेटिभलाई अध्यारो कोठामा धुलाईन्थ्यो र सुन्दर फोटो निकालिन्थ्यो । मर्जरमा पनि परिक्षणकाल पछि सुन्दर दिन आँउछन्, आत्तिनु र मात्तिनु हुंदैन ।
मर्जरको मुख्य उदेश्य भनेको नै संस्थालाई अझ बलियोबनाउनु नै रहेकोले मर्जरमा सम्मिलित संस्थाका कर्मचारीहरुले संस्थाको हितलाई केन्द्रबिन्दुमा राखेर आफूले अरुलाई के दिन सक्छु भन्ने दृष्टिले सोच्नुपर्छ । उचित मिलानको लागि लिने र दिने बिचको सन्तुलन हुनुपर्छ । मर्जरमा संस्कार मिलान एउट यस्तो प्रक्रिया हो, जसमा दिने मानिसको संधै जित हुन्छ र दिएभन्दा बढि प्रतिफल पाउँछ । दिने, बांड्ने भन्ने शब्दले टिम वर्कलाई पनि जनाउँछ । सहकर्मी साथीहरुलाई राम्रो कामगर्ने बातावरण दिने, साथीहरुलाई आफूले जानेको कुराहरु सिकाउने साथीहरुसंग सुख दुख बाँड्ने आदी । संस्था कस्तो बन्छ भन्ने कुरा संस्थाका कर्मचारीहरुले दिने संस्कारमा भरपर्ने भएकोले सफल मर्जरको लागि ब्यवस्थापनले उचित संस्कारको मिलान गर्न ध्यान केन्द्रित गर्नुपर्छ । उचित संस्कारको मिलान भएमा संस्थाले सिनर्जी ईफेक्ट ल्याउन सक्छ ।
(लेखक मल्ल ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।)




