नरेन्द्र मोदी सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)को माध्यमबाट सत्तामा आए । उनले त्यतिबेला भारतको पुनर्जागरणको नारा दिएका थिए । भारतलाई उनले युवा जनसंख्याको बढ्दो अपेक्षाअनुरूपको उच्च प्राविधिक क्षमतायुक्त औद्योगिक निर्माणको केन्द्र बनाउने वाचा गरेका थिए । मोदीले मतदातालाई ‘अच्छे दिन’का नयाँ युग उदाउने आशा देखाएका थिए । मोदीले ‘सब का साथ सब का विकास’ अर्थात् समावेशी विकास, ‘सानो सरकार प्रभावकारी शासन’ भन्दै उच्च रोजगारी, आर्थिक वृद्धि र समृद्धिको सपना देखाए । मतदाताको ठूलो संख्याले उनलाई विश्वास गर्यो ।
परन्तु, भारतमा भर्खरै सम्पन्न निर्वचनमा भने मोदीले यीमध्ये कुनै कुरा दोहोर्याएनन् । उनलाई आफ्ना नाराहरू खोक्रा भएका र तिनलाई पूरा गर्न आफू विफल भएको थाहा पाएकाले तिनलाई दोहोर्याउँदा आफैँलाई नोक्सान पर्ने बुझेका थिए । त्यसैले मोदीले बेग्लै प्रकारको चुनाव अभियान चलाए । उनले भारत भित्र र बाहिरका शत्रुहरूबाट घेरिएको दाबी गरे । आफूजस्तो ५६ इन्च फराकिलो छाती भएको मर्द र आफ्नो जागरुक बहादुर चौकिदारहरूको जत्थाले हिन्दु बहुमतको शासनमा हिन्दु राष्ट्रका रूपमा मात्र मुलुकलाई आतंककारी, घुसपैठिया, ‘राष्ट्रविरोधी’ र ‘धमिरा’हरूबाट मुलुकलाई सुरक्षित राख्न सक्छ भन्ने सन्देश दिए । यसले काम गर्यो । मोदीको ‘खाकी’ अभियानले उनलाई सन् २०१४ को भन्दा झन् प्रचण्ड बहुमतसहित चुनावमा विजयी गरायो । लोकसभाको ५४३ स्थानमा ३०३ स्थान भाजपाका उमेदवारले जिते भने उनका सहयोगी दलले अरू ५० ठाउँ हात पारे ।
सन् २०१९ को निर्वाचन सत्तारुढ दलले पूरा गरेका चुनावी वाचाअनुसार मतदाताले निर्णय गर्छन् भन्ने परम्परागत अवधारणाको खण्डन गर्ने घटना अध्ययन हुनेछ । पहिलो चुनावका प्रतिज्ञा पूरा गर्न पूर्ण असफल भएपछि मोदीले चलाखीपूर्वक ‘गोलपोस्ट’ नै सारे र आफैँले पाँच वर्ष पहिले गरेको वाचालाई एकातिर पन्छाएर खेलका नयाँ सर्तहरू तय गरे । तैपनि, मतदाताले उनलाई पुरस्कृत गरे । किन ? यसको एउटैमात्र विश्वसनीय व्याख्या आधुनिक भारतको इतिहासका सबैभन्दा असामान्य वैयक्तिक छवि निर्माण हो भनेर गर्न सकिन्छ । करदाताको पैसाबाट ५६ हजार करोड ( ७५ करोड डलर) खर्च गरेर तयार पारिएको डराएर आत्मसमर्पणको मुद्रामा झुकेको ‘मूलधार’का सञ्चार माध्यम, शक्तिशाली फोटोग्राफरहरू, अहोरात्र सक्रिय चुस्त प्रचार संयन्त्र र हजारौं हजार सामाजिक सञ्जालका सिपाहीले निर्माण गरेको अलौकिक व्यक्तित्वका रूपमा चित्रित मोदी अहिले पन्थका रूपमा स्थापित भएका छन् । यो पक्कै पनि ‘अलग प्रकारको प्रधानमन्त्री’ भएको छ तर त्यो नाराले बुझाउने सोझो अर्थजस्तो भने होइन । उनी आफ्नो वस्तुभन्दा ठूलो छाया भएका प्रधानमन्त्री हुन पुगेका छन् ।
यस अभ्यासमा सशक्त पार्टी संगठन, ‘मिस कल’ अभियानबाट भर्ना गरिएका दसौं लाख सदस्यहरू (मिसकल गरिएको व्यक्तिले जवाफ फर्काउनेबित्तिकै भाजपाको कार्यकर्ताकहाँ पुग्ने व्यवस्था गरिएको), चुनावभन्दा धेरै पहिलेदेखि सक्रिय प्रभावकारी मतदान केन्द्र समितिहरू, मतदाता रजिस्टरको एउटा पानाका नाम लेखिए जति मतदातालाई सदस्य बनाउने जिम्मेवारी भएका लाखौं पन्ना प्रमुख, हिन्दु प्रभुत्ववादी संगठन राष्ट्रिय स्वयंसेवक संगठनका जनस्तरमा छरिएका प्रचारकहरू, विभिन्न राज्यका संवेदनशील निर्वाचन क्षेत्रमा खटाइएका शाखाका प्रतिनिधिहरू, मतदाताको घरघरमा निरन्तर पर्चा र प्रचार सामग्रीसहित पुगिरहने चुनाव प्रचारकहरू र माथिल्लोदेखि तल्लो तहसम्म दायाँबायाँ नगरी आदेशअनुसार सञ्चालित हुने प्रचार संरचनाको सशक्त सहयोग र साथ पनि थियो ।
निरन्तरको चर्को प्रचारवाजी र सुनियोजित पार्टी संयन्त्रबाट प्रवाहित प्रभावकारी सन्देशबाट प्रभावित भारतीय मतदाताको ३७.४ प्रतिशतले मोदी राष्ट्रकै प्रतिक भएको ठाने र कमल चिह्न लिएका चेहराविहीन व्यक्तिलाई हैन मोदीलाई मत दिनु आफ्नो कर्तव्यजस्तै माने । भारतको संसदीय निर्वाचनलाई राष्ट्रपतिको चुनावजस्तो बनाइयो ।
यसको तात्पर्य विषयहरूको अब कुनै अर्थ छैन, कार्यसम्पादन असान्दर्भिक भइसक्यो र भारतीय मतदाता पूर्णतः व्यक्तित्वका आधारमा प्रतिबद्ध भइसके भन्ने हो त ? भाजपाले जितेका राज्यहरूको परिणाम हेर्दा पक्कै पनि त्यस्तै देखिन्छ । अर्कोतिर, केरल र तमिल नाडुका सुशिक्षित मतदाता र हिन्दुहरूको स्पष्ट बहुमत नभएको पन्जाबजस्तो राज्यका मतदाता भने सजिलै बहुमतीय सैन्यवादको नारामा फसेनन् । र केमा पनि ध्यान दिनुपर्छ भने भारतको सबैभन्दा धेरै मत ल्याउने विजयी हुने प्रणालीले ३७ प्रतिशत मतले मोदीलाई ५६ प्रतिशत स्थान जिताएको छ । जे भए पनि नियमअनुसार जित त जितै हो । र, यो ठूलो जित हो ।
भाजपाले मतदातालाई तिनको आर्थिक हितभन्दा पूर्वाग्रहलाई मत दिन राजी गराउने असाधारण क्षमता देखायो । मोदीलाई सन् २०१४ मा रोजगारी पाउने आशामा मत दिएको युवाले २०१९ सम्म बेरोजगारै रहनुपर्दा पनि किन मत दिएको होला ? प्रचारवाजीले फैलाएको भयबाट तर्सिएर यसले मोदीलाई आफ्नो संरक्षक ठान्यो र मत दियो । त्यो भयको कारक तत्त्व प्रायः मुसलमानलाई र सामान्यतः कुनै पाकिस्तानी वा त्यहाँबाट पठाइएको आतंककारीलाई ठान्दै त्यसलाई बलियो शासकले सामना गर्नुपर्छ भन्ने मानियो ।
कतिपय उदारवादी भारतीयहरूको चिन्ताको विषय लामो समयदेखि रहिआएको विभिन्न धर्म, जाति, भाषा र जातको विविधता भएको समावेशी, कल्याणकारी राज्य समाप्त हुन लाग्नु हो । लामो समयदेखि रहिआएको बहुलता, विभिन्नता, समावेशीपन र सहिष्णुता घट्दै गएको मुलुकका रूपमा भारतको उदय भएको छ । विविधतामा एकताको परिचायक रहेको एकरूपता, देशभक्तिजस्ता विषयलाई प्रभुत्ववादी, स्वतन्त्र संस्थाहरूमाथि सरकारको नियन्त्रण र लोकतन्त्रलाई एक व्यक्तिको शासनका रूपमा पुनर्परिभाषित गरिँदै छ । यसैलाई मोदीले उल्लासपूर्वक ‘नयाँ भारत’ भनेका छन् । उनको यही धारणाले धेरै भयातुर भारतीय पुरानै भारतमा फर्कन चाहन्छन् । (भारतीय लोकसभाका सदस्य)




