भाइरसभन्दा ब्याक्टेरिया र ब्याक्टेरियाभन्दा परजीवीबाट हुने झाडापखाला लामो समयसम्म रहने र उपयुक्त औषधि प्रयोग नगरे बेहोस हुने हुन्छ । झाडापखालाको धेरै समयसम्म उपचार नगरे मृत्युसमेत हुन्छ । शरीरका प्रणालीका रोग, एन्टिबायोटिक औषधि र अन्य केही औषधिले पनि पखाला गराउन सक्छ ।
झाडापखालाले प्रकोपको रूप लिनु र महामारी बनेर फैलिनु राम्रो होइन । हामी सबै नागरिकले स्वच्छ खानेपानी पिउने र सरसफाइमा विशेष ध्यान पुर्याउनु पर्छ । झाडापखाला सबै उमेर समूहका मानिसलाई लाग्दछ । विशेषगरी बालबालिकालाई यसले बढी सताउँछ । पटकपटक पानीजस्तो पातलो दिसा लाग्नुको साथै वाकवाकी लाग्ने र वान्तासमेत आउने हुन्छ ।
झाडापखाला हुँदा घरमा नै उपचार गर्न पनि सकिन्छ । प्रशस्त मात्रामा घरेलु गेगागुडीको झोल अन्य झोल पदार्थका खानेकुराहरू खुवाउने गर्नुपर्छ । यदि आमाको दूध खान बच्चा हो भने अरू समयमा भन्दा बढीपटक खुवाउनुपर्छ । अलिकति ठूलो बच्चा भए प्रशस्त मात्रामा झोलिलो खानेकुराहरू (दालको झोल, मसला कम भएको तरकारी, गेडागुडीको झोल, केरा, माछामासु, फलफूलको रस, भातको माड, अन्न पातलो लिटो) खुवाउनुपर्छ ।
यस्तो समयमा पानी प्रशस्त मात्रामा खानुपर्छ । झाडापखाला हुँदा हाम्रो शरीरबाट नुन र पानी खेर गएको हुन्छ त्यसैले यसको लागि पुनर्जलीय झोल बनाएर प्रशस्त खानुपर्छ । झाडापखाला मात्रै नभएर शरिर स्वस्थ राख्नका लागि पनि हामीले सधैँ राम्रो खानेकुरा खानुपर्छ । सधैँ साबुन पानीले राम्रोसँग हात धोई सफा गरेर मात्रै खानेकुरा खानुपर्दछ । पखाला लाग्दा पुनर्जलीय झोल एकदमै महत्वपूर्ण हुन्छ ।
जतिपटक पखाला लाग्छ, त्यति नै पटक खाँदा यसले राम्रो हुन्छ । घरेलु उपचार गर्दा झाडापखालाको अवस्था सुध्रिँदै जान्छ र ठीक हुन्छ । यदि २/३ दिनसम्म राम्रो भएन भने, दिसा धेरै पातलो गरे, तारन्तार वान्ता गरे, ज्यादै तिर्खाए, खाना खान नसके, ज्वरो आयो वा कम्पन (कामज्वरो)आउन थाले, मुख खुट्टा सुन्निए, नाडी कमजोर र छिटो–छिटो चलिरह्यो भने तुरुन्त चिकित्सकलाई देखाउनु पर्दछ ।
रक्तचाप कम भएमा र दिसामा रगत देखिएमा, नजिकको स्वास्थ्य संस्था वा चिकित्सककहाँ लैजानुपर्छ ।सरुवा रोग मध्येको एक रोग हो झाडापखाला यो गर्मीमा हुन्छ । झाडापखालाको प्रमुख कारण खानेकुरा हो र यससँगसँगै पानीको कारण पनि झाडापखाला लाग्दछ । हरेक वर्ष झाडापखाला लाग्ने भनेको खानेपानी र खानेकुरामा भएको संक्रमणले गर्दा हो ।
अस्पतालमा दिनहुँ झाडापखालाका बिरामी आउने जाने क्रम चलिरहेको हुन्छ । डिस्चार्ज भएर जाने र भर्ना हुन आउने बिरामीको संख्या लगभग उस्तै–उस्तै देखिन्छ तर कुनै ठाउँमा धेरै बिरामी भएर २०/३० जना भर्ना भएका हुन्छन् ।
झाडापखालाबाट बच्न हाम्रो बानी परिवर्तन गर्न जरुरी छ । पानी र खानेकुराबाट नै झाडापखाला हुने भएकाले पानीलाई राम्रोसँग उमालेर मात्रै खानुपर्दछ । त्यस्तै बासी खानेकुरा खानुहुँदैन यो नै झाडापखालाबाट बच्ने मुख्य उपाय हो । गर्मीमा खानेकुरालाई फ्रिजमा राखेर खानु उपयुक्त हुन्छ । धेरै समयसम्म बाहिर राखेर खाँदा असर गर्छ, यसले गर्दा (फुटप्वाइजिङ-> खाना बिषाक्त हुनु) झाडापखाला हुन्छ ।
कसै–कसैलाई धेरै चिसो पानी खाँदा पनि घाँटी दुख्ने समस्या हुन्छ तर सबैलाई यस्तो हुन्छ भन्ने हुँदैन । झाडापखाला बढी भएर बेहोस हुन सक्ने र अझ उपचार ढिलो गर्यो भने मृत्युसमेत हुने भएकाले यसलाई सामान्य रूपमा लिनुहुँदैन । खानेपानीमा समस्या, प्रदूषण र सरसफाइमा समस्याका कारण झाडापखाला निम्तिने गर्दछ । झाडापखालाकै कारण बर्सेनि हजारौँ बच्चाको अकालमै मृत्यु पनि हुने गरेको छ ।
नेपालका लागि चुनौतीको रूपमा रहेको झाडापखाला गर्मी मौसमको सुरुआतसँगै गर्मी र वर्षातको समयमा झिंगाहरू धेरै हुने हुँदा झाडापखालाको सम्भावना बढी हुन्छ । आफ्नो शरीर र वातावरणीय सरसफाइमा पर्याप्त ध्यान नपुग्दा झाडापखाला हुने हुनाले यसमा ध्यान दिनुपर्दछ । अहिले वर्षातको समय छ, पानी परिरहन्छ यसले गर्दा ठाउठाउँमा बाढी आउने हुन्छ । बाढीले जीवजन्तुहरू मर्ने र पानी प्रदूषित भई वातावरणसमेत फोहोर हुन्छ त्यसले झाडापखालाको महामारीसमेत फैलिन सक्छ् ।
भाइरल–रोटा, ब्याक्टेरिया–भी कोलेरी, सालमोनेला, क्लोस्ट्रोडियम आदि, प्रोटोजोबल–इ.हिस्टोलाइटिका, जियारडिया लाम्बलिया आदि र विषाक्त खाना (फुड प्वाइजनिङ) बाट हुने पखाला एक्कासि हुने झाडापखाला हो ।दीर्घकालीन हुने झाडापखाला मधुमेह, पाकस्थली वा ठूलो आन्द्रामा सुजन (सुन्निनु), पित्तशयमा सुजन, पित्तथैलीमा पत्थरी, शरीरमा भिटामिन ‘बी’ को कमी, क्षयरोग, क्यान्सर आदिमा देखिन्छ ।
जलश्रोत मा विस्वमै दोस्रो धनि भएता पनि काठमाडौं लगायत अधिकांस सहर हरूमा पानीको एकदमै समस्या छ जारको शुद्दीकरण गरियको भन्ने पानिमा समेत धेरै समस्या आइरहेको हुन्छ । एक बोटल मिनिरल वाटर किन्नको लागि २० देखि २५ रुपैँया लाग्छ तर जारको पानी ६०-७० रुपैयाँमा नै आउँछ यति सस्तो कसरी भयो ? उत्पादक बाट बितरक हुदै उपभोक्ता सम्म आइपुग्दा बिचको बिचौलिया ले त झनै कति स्सतोमा लिन्छन। यसको बारेमा जानकारी लिन जरुरी छ । एक बोतल पानी र एक जार पानीमा धेरै फरक हुन्छ त्यसैले जारको पानी पनि कतै ट्यांकरको त होइन ? अशुद्द त छैन ? शंकाको विषय पनि हो । अस्ति मात्रै २/३ अस्पतालमा जारको पानीमा फोहोर भेटिएको थियो ।
यस्तो त कति भएको छ कति लेखाजोखा नै छैन । त्यसैले हामीले पानी उमालेर मात्रै पिउनुपर्दछ । बाहिर धुलोमा हिँड्दा माक्सको अनिवार्य प्रयोग गर्नुपर्दछ । गर्मीको समय छ जहाँपायो त्यहि र जे पायो त्यहि खान हुँदैन । गर्मी भयो भनेर धेरै कोल्ड ड्रिंक्स खानु हुँदैन । त्यसले घाँटीमा समस्या ल्याउँछ । हामीले आफ्नो शरीरलाई स्वस्थ राख्न मीठो होइन राम्रो र पौष्टिक खानेकुरा खानुपर्दछ ।
चासो किन आवश्यक छ ?
नेपालमा अहिलेसम्म झाडापखाला उपचारको भरपर्दो निर्देशिका बनेको छैन। चिकित्सकले अनुभव, शंका वा लक्षणका आधारमा एकभन्दा बढी एन्टिबायोटिकको प्रयोग गरिरहेको पाइन्छ। यसले अनावाश्यक एन्टिबायोटिकको प्रयोग हुने र दीर्घकालीन रुपमा औषधिको प्रभाव कम हुँदै जाने अवस्था आउँछ। यस्तो प्रवृत्तिले बिरामीमाथि अनावश्यक आर्थिक भार पारेको देखिन्छ। यदि, झाडापखाला कुनै नौलो जीवाणूको (जुन पहिले त्यस स्थानमा थिएन) कारणले भएको भए त्यसले प्रकोप या महामारी ल्याउन पनि सक्छ। झाडापखाला गराउने जीवाणू विरुद्धको खोप पनि उपलब्ध भएकाले त्यस्ता जीवाणूको पहिचान गरी जोखिम हेरी प्रयोग गरेमा यसबाट सम्भावित प्रकोप वा महामारीबाट सुरक्षित हुन सकिन्छ। जस्तै, रोटा भाइरसको कारणले हुने झाडापखालाबाट बच्न यस विरुद्धको खोप अहिले विश्वभरि उपलब्ध छ। पाँच वर्षमुनिका बालबालिकामा झाडापखालाका कारण मृत्यु गराउने प्रमुख भाइरस रोटा हो।
यी सबै समस्याको एकमुष्ट सम्बोधन गर्न जीवाणू पहिचान अति आवश्यक हुन्छ। त्यस्तै, राष्ट्रियस्तरको उपचार निर्देशिका तयार पार्न पनि जीवाणू पहिचान आवश्यक छ। यस्ता निर्देशिकाबाट ग्रामीण इलाकामा ठूलो सहयोग पुग्नेछ, जहाँ प्रयोगशाला परीक्षणको नतिजा द्रूत गतिमा आउँदैन।
नेपालमा हाल झाडापखाला गराउने प्रमुख जीवाणू के–के छन् भनेर राष्ट्रियस्तरको आधारभूत तथ्यांकको आवश्यकता छ। टेकु अस्पतालमा साल्मोनेला, सिगेला तथा हैँजाको कल्चर गर्ने गरे पनि अस्पताल भर्ना हुने ९५ प्रतिशतभन्दा बढीमा झाडापखालाको कारण पत्ता लाग्ने गरेको देखिँदैन। हैँजा फैलिने समयमा पनि औसतमा ५ देखि १० प्रतिशतको हाराहारीमा मात्र हैँजाको कारणले भर्ना भएको देखिन्छ भने बाँकी कुन जीवाणूहरुले यति धेरैलाई झाडापखाला गराइरहेको छ भन्ने कुरा किटान हुँदैन। यसर्थ झाडापखाला नेपालमा अझै अज्ञात रोगका रुपमा रहेको छ।
सामान्य धरेलु उपचार:
१. कुपोषणबाट जोगाउने, साविककै जस्तो खानेकुरा दिने गर्नुपर्छ ।
२. प्रशस्त मात्रामा घरेलु झोल कुराहरू खुवाउनु पर्दछ । आमाको दूध खाने बच्चा भए साविकको भन्दा बढी पटक दूध खुवाउनुपर्छ । बच्चा ६ महिनाभन्दा कम उमेरको भए ५–६ पटक आमाको दुध र नपुग्ने भए गाईभैंसीको वा बट्टाको दूधमा आधा पानी मिसाई खुवाउनुपर्छ । बच्चा ६ महिनाभन्दा बढी उमेरको भए वा ठोस आहार खाने बच्चा भए बिरामीलाई प्रशस्त मात्रामा झोलिलो खानेकुराहरू जस्तै दालको झोल, तरकारी (मसला कम भएको) गेडागुडीको झोल, केरा, माछामासु, फलपूलको रस, फिका चिया, भातको माड, अन्न पातलो लिटो यी समेत नभएमा सादा पानी प्रशस्त मात्रामा दिनुपर्छ । समुदायमा झाडा पखाला लाग्दा पानी पिउन नदिने अत्यन्त गलत धारणा छ, जसले गर्दा खेर गएको पानी आपूर्ति नभई जलवियोजन हुन्छ ।
३. झाडा पखालाबाट खेर गएको लवण, पोषक तत्वहरू र पानी क्षतिपूर्ति गर्न पुनर्जलीय झोल बनाएर खुवाउनुपर्दछ ।
यसरी घरेलु उपचार गरेमा सामान्यतः तीनचार दिनमा झाडापखालाको अवस्था सुध्रिंदै जान्छ र ठीक हुन्छ । तर तीन दिनसम्म सुधारोन्मुख नभएमा, धेरै पातलो दिसा गरेमा, तारन्तार बान्ता गरेमा, ज्यादै तिर्खाएमा राम्ररी खान पिउन नसकेमा, ज्वरो आएमा कम्पन हुन थालेमा, मुख खुट्टा सुन्निएमा, नाडी कमजोर र छिटो–छिटो चलिरहेमा, रक्तचाप कम भएमा, दिसामा रगत देखिएमा, मुखबाट पुनर्जलीय उपचार गर्न नसकिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा वा स्वास्थ्यकर्मी वा चिकित्सककोमा लैजानुपर्छ । यसो गर्दा धनजनको क्षतिमा न्यूनीकरण गर्न सकिन्छ ।




