बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कविता : बलात्कृत फूलकी छोरी

कविता : बलात्कृत फूलकी छोरी


  • सुरेश हाचेकाली
  • जेष्ठ १९ २०७६, आइतबार

म बलात्कारी र बलात्कृत दुवैकी छोरी हुँ

मेरो रगतमा

बलात्कारी बाउको कालो शुक्रकिट

र बलात्कृत आमाको वैजनी डिम्ब

नाङ्गो आँखाले नदेखिने गरी पौडिरहेका छन् ।

म मेरी आमाको

स्वैच्छिक गर्भाधारणबाट जन्मिएकी हुइनँ

म मेरो बाउको

सन्तानप्रेमी चाहनाबाट पनि जन्मिएकी हुइनँ ।

मेरो बाउ त एकैसाथ

बौलाइरहेको पुरुष हतियार

र मानवता नचिन्ने भुत्ते खुकुरी बोकेर

घृणाको धतुरोले लठ्ठिदै

मेरी आमा हुनुभन्दा अगाडिकी

मगरकाँचुली फूललाई काट्न आइपुगेको थियो।

नवयौवनाको त्रसित आँखामा

उसले रासलिलाको नीलो दह देख्यो

र नृशंस आरोहणको बदलामा

म प्रवेश भइसकेकी मेरी आमालाई

दयापूर्वक जीवनको बक्सिस दिएर गयो।

म ती नै

भूतपूर्व बलात्कृत फूलकी

नाजायज कोपिला भएर जन्मिएछु

यो महिलामारा गाउँमा।

मलाई नागरिक घोषणा गर भन्दा

शक्तिको जाँडले मातेर

तिलचामले दारी सुम्सुम्याउँदै

मेरो बाउको विवरण माग्छ

फलामको मुटुले चल्ने पुरुषार्थी प्रशासन।

यतिबेला मेरी आमासँग

न त उनको पाठेघर आवादी गर्ने

त्यो अचिनारु बलात्कारी छ

न त उसको अनुहारको घुर्मैलो हुलिया छ

मानौं ऊ त

केही निमेषभित्र उपद्रो मच्चाएर

आकाशै आकाश भागिगएको लामपुच्छ्रे तारा थियो ।

हो,

मेरो बाउको विषालु रगत छ मभित्र

तर त्यो रगतलाई

सम्पूर्णरूपले प्रशोधन गरेर

आमामय बनाउन चाहन्छु

किनकि मेरी आमा

मातृत्व राजीनामा नदिएर

सभ्यताको पुनर्लेखन गर्ने

महसुर महादेवी हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->