शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भदौमा ‘प्रथम विश्वकर्मा कप फुटबल प्रतियोगिता’ हुने

भदौमा ‘प्रथम विश्वकर्मा कप फुटबल प्रतियोगिता’ हुने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०७६, शुक्रबार

पोखरा,२४ जेठ – विश्वकर्मा सेवा समाज लाहाचोक कास्कीको आयोजनामा प्रथम विश्वकर्मा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । समाजले विहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।आगामी भदौ २१ गतेदेखि २८ गतेसम्म प्रतियोगिता संचालनमा आउने आयोजकले बताएको छ । बगर हरिचोकस्थित राष्ट्रिय उच्च माविको खेलमैदानमा प्रतियोगिता हुनेछ ।

‘खासगरि विश्वकर्मा समुदायका युवाहरुलाई एकतामा बाँध्ने र अन्य समुदायका युवासंग पनि सद्भाव अनि भाइचारा बाँड्ने लक्ष्य सहित हामीले यो फुटबल प्रतियोगिता गर्न लागेका हौँ ।’ पत्रकार सम्मेलनमा समाजका अध्यक्ष समेत रहेका प्रतियोगिताका सँयोजक जीवन सुनारले भने–‘त्यो सँगै केही सामाजिक क्रियाकलाप गर्नका लागि आवश्यक आर्थिक सहयोग जुटाउनु पनि यो कार्यक्रमको अर्को उद्देश्य हो ।’पहिलोपटक समाजको आयोजनामा हुने यो प्रतियोगितामा गण्डकी प्रदेशका सबै जिल्लाबाट सहभागिता हुने आयोजकले बताएको छ । आयोजकका अनुसार करिब ५० वटा टिमले प्रतियोगितामा सहभागिता जनाउँदैछन् ।

फुटबल प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रोले ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । त्यो बाहेक आयोजकले बेस्ट प्लेयर, बेस्ट डिफेन्स, बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर र हाइस्कोरर विधामा पनि पुरस्कार छुट्याएको छ ।‘सम्पूर्ण खर्च जोड्दा प्रतियोगिताका लागि १३ लाख रुपैयाँ लाग्ने हामीले अनुमान गरेका छौँ ।’ प्रतियोगिताका अर्थ संकलन सँयोजक राजेन्द्र गहतराजले भने–‘र, हामीले यो खर्च टिम दर्ता शुल्क र विभिन्न संघसंस्थाहरुले गर्ने आर्थिक सहयोगमार्फत पुर्ती गर्नेछौँ ।’ आयोजकले अनुमानित १९ लाख रुपैयाँ प्रतियोगिताका लागि संकलन हुन सक्ने आँकलन गरेको छ ।प्रतियोगिताबाट बचेको रकम लाहाचोकस्थित जनजागरण आधारभुत विद्यालयको स्तरोन्नती र सोही ठाऊँमा रहेको शिव तथा विश्वकर्मा मन्दिरको निर्माणमा खर्च गरिने आयोजकले बताएको छ ।विश्वकर्मा सेवा समाजले यसअगाडि लाहाचोकमै सामुदायिक भवन निर्माण सम्पन्न गरिसकेको छ । त्यो बाहेक स्थानियस्तरमा समुदायसँग सम्बन्धित विभिन्न क्रियाकलापमा उसले सक्रियता देखाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->