बागलुङ ,११ असार – पाँच बर्ष पहिले सम्म खच्चडको पछि दगुर्ने बागलुङको जैमिनी नगरपालिका १ कुश्मीशेराका रुद्रनाथ शर्मा अहिले खच्चड छोडेर गाई पाल्न थालेका छन् । खच्चडकै व्यवसाय गर्दै आएका कुश्मीशेराकै चित्र प्रसाद चापाईंले पनि ट्याक्टर किनेको केही बर्ष भयो । जिल्लाकै ढोरपाटन नगरपालिका ९ का मंगले कामीले गत बर्ष सम्म खच्चड पाल्दै थिए ।
तर पछिल्लो समय खच्चडको प्रयोग घटेकाले व्यवसायीहरुले खच्चडको साटो अन्य बैकल्पीक व्यवसाय अपनाउन थालेका छन् । जिल्लाकै दुर्गम मानिने निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका टोल टोलमा कच्चि सडकको सञ्जाल पुगेको छ । सडककै कारण खच्चडको प्रयोग घटेपछि व्यवसाय परिवर्तन गर्नु परेको कुश्मीशेराका रुद्रनाथ शर्माले बताए ।
गत बर्ष सम्म जिल्लाको तमानखोला गाउँपालिकाको नर्जा खानीमा सडकको सञ्जाल थिएन् । त्यहाँका सर्वसाधारणले समान ढुवानी गर्ने गतिलो माध्यम खच्चडनै थियो । गत आर्थिक बर्षमा तमानखोला गाउँपालिकाले प्राथमीकतामा राखेर नर्जाखानीमा सडक पुर्याए पछि सवारी चल्न थालेका छन् ।
बागलुङको ग्रामिण क्षेत्रमा यातायातको साधानको रुपमा संचालन हुँदै आएको खच्चडको पछिल्लो समय प्रयोग कम हुन थालेको छ । खच्चडाको साटो सामान ढुवानीका लागि मानिसहरुले साना पिकअप भ्यान तथा ट्याक्टरहरुको प्रयोग गर्न थालेका छन् । खच्चड बागलुङको गलकाृेट देखि पस्चिम र बलेवा देखि दक्षिणका क्षेत्रहरुमा अत्याधिक हुने गरेको थियो । “गिट्टी बालुवा बोक्ने देखि घर छाउन ढुंगा सम्म खच्चडमा बोकाईयो“ शर्माले भने “खच्चड नभए खाद्यान्न ढुवानीनै हुँदैनथ्यो“ खच्चडमा ढुवानी गर्दा भन्दा पिकअप र ट्याक्टर जस्ता साधनमा समााग्री ढुवानी गर्दा सस्तो पर्ने भएकाले खच्चडको प्रयोग घटेको व्यवसायीहरु बताउँछन् । खासगरी बागलुङको ताराखोला, राङखानी, कुश्मीशेरा, बुर्तिबाङ, ढोरपाटन, निसेलढोर, तमान, बोङ्गादोभान, खुङ्खा लगाएतका स्थानहरुको विकट गाउँ–गाउँमा संचालन हुने गर्थे ।
सवारी साधन घर घरमै पुग्न थालेकाले खच्चडको प्रयोग निकै कम हुन थालेको ढोरपाटन नगरपालिका ९ का खच्चड व्यवसायी मंगले कामी बताउँछन् । ‘गाडी नआउँदा खोडा खच्चड मार्फत ढोरपाटनमा उत्पादन हुने आलु सिमी लगायतका सामानहरु बेसी तिर बेच्न लग्थ्यौँ, बेसी तिरबाट चामल, नुन, तेल, लत्ता कपडा ल्याउने गथ्यौँ,’ कामीले भने ‘अहिले सडक गाउँमै आएको छ, सबै सामान गाडीले ल्याउँछ लैजान्छ, त्सले गर्दा घोडा खच्चडको कामै छैन ।’ एक समुह खच्चडको झण्डै पाँच लाख रुपैयाँ पर्छ । ठुलो लगानी गरेर सर्वसाधारणको सुविधाका लागि ल्याईएका खच्चड प्रयोग बिहिन भएपछि व्यवसायी भने चिन्तामा छन् । कयौं व्यवसायीले पेशानै परिवर्तन गरेका भएपनि केही व्यवसायी अझै खच्चड पाल्दै आएका छन् । तमानखोलाका खच्चड व्यवसायी पूर्णबहादुर सिर्पालीले सडकले सहजता भए पनि आफुहरुको गरीखाने माध्यम बन्द हुने अवस्थामा आएको दुखेसे पोखे । उनले गाउँ सडक नआउँदा यो व्यवसायबाट राम्रो आम्दानी हुने गरको बताउँदै पछिल्लो समय कमाई हुन छोडेको गुनासो गरे ।
‘पहिले–पहिले दिनभर साउको सामान गाउँ–गाउँमा पुर्याउन भ्याइनभ्याइ हुन्थ्यो अहिले कसैले पनि सामान ढुवानी गर्न बोलाउँदैनन्, उनले भने ‘कसैले सामान ढुवानी गर्न नबोलाउँदा घोँडा खच्चडलाई दाना खुवाने खर्च पनि उठ्दैन ।’ सिर्पालीले बर्खाको समयमा बाढी पहिरोले सडक बिग्रियो भने मात्रै सामान ढुवानी गर्ने माग आउने बताउँदै बाढी पहिरोको जोखिम मोलेर काम गर्नु पर्ने गुनासो गरे । खच्चडका लागि घाँस भन्दा चना मकै जस्ता खाद्यान्न आवश्यक पर्ने भएकाले पालन पोषण महंगो हुने गरेको व्यवसायीहरु बताउँछन् ।





