आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्मजयन्ती मनाइएको छ । नेपाली भाषालाई अहिलेको अवस्थामा ल्याउन आदिकविको ठूलो योगदान छ । रामायणलाई नेपालीमा अनुवाद गरी उनले नेपाली भाषालाई लोकप्रिय मात्रै बनाएनन्, विभिन्न भाषाभाषि भएको देशमा बलियो सम्पर्क भाषा पनि बनाइदिए । अहिले नेपाली राष्ट्रिय भाषा रहेको छ । देशमा बोलिने १२३ भाषामध्ये नेपाली सशक्त भाषा बनेको छ । सरकारी कामकाज यही भाषामा सम्पन्न हुने गरेको छ । हिजो खस वा गोर्खाली भाषा भनिने नेपाली सबैको भाषा बन्नुमा भानुभक्तको योगदान अतुलनीय नै छ । नेपाली भाषालाई दिएको योगदानका कारण उनी स्तुत्य र सम्मानित छन् ।
चलनचल्तीमा आएन भने भाषा हराउँछ । ठूलो माछाले सानो माछालाई खाएजस्तो पनि हुन्छ, भाषामा पनि । नेपालकै कुरा गर्ने हो भने यहाँका दुराहरुले बोल्ने भाषा लोप नै भएजस्तो भएको छ । कुसुण्डा भाषाको बोल्ने अर्को पुस्ता अब सायदै बाँकी होला । भोटवर्मेली र भारोपेली परिवारका भाषाको बाहुल्यता रहेको नेपालमा भोटवर्मेली भाषा परिवारका केही भाषाहरु हराइसकेका छन् । उनीहरुको भाषामाथि अर्को भाषाले अतिक्रमण गरेको छ । नेपालमा अहिले करिब ४५ प्रतिशत जनताको मातृभाषा नेपाली हो । जन्मेदेखि नेपाली नै बोल्ने र मातृभाषा अर्के भएका तर माध्यम भाषा नेपाली बनाएको ठूलो जनसंख्या पनि यहाँ रहेको छ । नेपाली भाषाले फरक मातृभाषा बोल्नेहरुलाई एक गराएको छ । सबैको भाषा बन्ने क्रममा नेपाली भाषामा विभिन्न भाषाभाषीका शब्दहरु पनि मिसिन पुगेका छन् । जनु भाषाले अरु भाषाबाट शब्दहरु लिन सक्छ, शब्दभण्डार बढाउन सक्छ, त्यही भाषा सम्वृद्ध हुन्छ । नेपाली भाषालाई अझ सम्वृद्ध बनाउने हो भने अन्य भाषाबाट सक्दो शब्दहरु लिन कन्जुूयाईँ गर्नुहुँदैन । संकिर्णताले भाषा कमजोर हुन्छ । उदारताले भाषा फैलन्छ ।
संरक्षण नगरिँदा, प्रयोगमा नआउँदा वा प्रयोग गर्ने अवसर नहुँदा धेरै भाषाहरु लोप भएका छन् । मातृभाषामा बोल्न, लेख्न र पढ्न पाउनु नागरिकको अधिकार हो । तर, यो अधिकार प्रयोगमा राज्य उदार हुन सकेको छैन । अझ पञ्चायतकालीन समयमा रोपिएको एक भाष, एक भेषको नीतिले जातजातिका भाषाहरुमाथि अन्याय भएकै हो । अहिले पनि यो अवस्था छँदैछ । तर,पछिल्लो समयमा भाषभाषीहरुमा जागरण आएको छ । उनीहरु आफ्नो भाषा बचाउन आफै क्रियाशिल भएका छन् । यो राम्रो पक्ष हो । तर, भाषा संरक्षणको आभियान ढिला भइसकेको छ । भाषाहरु बिस्तारै अतिक्रमणमा पर्दैछन् । र , यो रोगबाट नेपाली भाषा पनि अछुतो छैन । नेपाली भाषा बाध्यकारी भएर अरु साना भाषा मरेको मान्नु एउटा कुरा, तर नेपाली भाषा पनि यतिबेला सुरक्षित छैन ।
यसको कारण हो, अंग्रेजीप्रतिको हाम्रो मोह । अंग्रेजीलाई विश्वभाषा भनिन्छ । संसारका सबै कुनामा बोलिने यो भाषा बेलायती उपनिवेशसँग फैलियो । भारतमा अंग्रेजले देवनागरी लिपी नै बदलेर अंग्रेजी भाषा चलाए । अंग्रेजीभाषीले गरेको उन्नति र प्रगति, खोज र अनुसन्धानले अंग्रेजी जान्नैपर्ने भाषा भयो । हामी पनि अंग्रेजीतिर लोभियौँ । आफनो भाषामात्रै चलाउने अवस्था थिएन र छैन पनि । अहिले विद्यालयमा अंग्रेजी मोटाएको छ भने नेपाली दुब्लाउँदै गएको छ । अधिकांश निजी स्कूलहरुमा एक पिरियड मात्रै नेपाली भाषा पढाइन्छ । बाँकी विषयहरु अंग्रेजी माध्यमबाट पढाइन्छ । जसले गर्दा हाम्रो पछिल्लो पुस्ता नेपालीमा कमजोरहुँदै गएको छ । यो शुभसंकेत होइन । नेपाली भाषालाई यसरी नै कमजोर बनाउँदै जाने हो भने कुनै दिन जातजातिका भाषा हराएजस्तै नेपाली पनि हराउन बेर मान्दैन । त्यसलै भाषाको संरक्षणमा राज्यले समयमै कदम चाल्नुपर्छ । भानुको जन्मजयन्ती मनाएर,एक दिन कविता वाचन गरेर भाषा बाँच्ने होइन । भाषाको व्यापकता तथा प्रयोगमा निरन्तरताले नै भाषा बचाउन सकिन्छ । आवश्यकता अनुसार विश्वका सबै भाषा सिक्नु र प्रयोग गर्नु बाध्यता होला तर भाषा मासिए, संस्कृति मासिन्छ र संस्कृति मासिए, राष्ट्रियता नै संकटमा पर्छ भन्ने हामीले बिर्सनु हुँदैन ।

