बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जंगली रुखहरुसंग जम्का भेट !

जंगली रुखहरुसंग जम्का भेट !


  • कृष्ण राज शर्मा
  • साउन १३ २०७६, सोमबार

अपरान्हको घुमाई गर्दै थियौं । घुम्दै जाँदा उकालीमा यी दुई रुखहरु आँखाको सामुन्ने उभिए । हामीलाई देखेपछि त हल्लन थाले । झगडा गर्दै आमने–सामने भएर झन उफ्रन थाले । हामी झस्क्यौं । भुईंचालो पो गयो कि ! तर हैन रहेछ । यी दुई रुखहरुको झगडा पो रहेछ । हामीले खुबै चासो दिएर झगडा सुन्यौं । एउटाले करायो– ‘तँ अयोग्य म योग्य । म पात पनि काम लाग्छु । तेरो पात त के काठ पनि कमसल हुन्छ । म टपरी बन्छु तँ त्यसै उडेर खेर जान्छस् । मेरो कत्रो महिमा भयो तेरो के छ ?’ (यो सुनेर अर्को झन् ठूलो स्वरमा करायो) –‘भो भो तँ पनि ठूलो नभै । टपरी भएँ भनेर फूर्ती नगर् । तँ जस्ता टपरी त फालेका कागजबाट पनि बन्छन् । तँलाई कसैले खान्नन, कसैको पेट भर्ने पनि होईनस् । अरुको जूठो खाएर बस्ने त होस् । त्यसपछि किच्चडमा मिल्किने त होस् ।’
यिनको झगडा सुनेर हामी दंग पर्यौं । मान्छे मान्छे लडाउन भिडाउन सिपालु मान्छे त देखे जानेकै हो तर, रुख बिरुवा बनस्पतिलाई पनि लडाउने भिडाउने को होला ? कताबाट कुन तत्वले यस्तो गरायो ! आश्चर्यमा पर्यौं । हाम्रा यी कुरा पनि सुनेछन् । सुनेपछि अयोग्यले बोल्यो– ‘हामी हाम्रो समाजमा थुपुक्क मिलेर बसेकालाई भँडाउने तिमि मान्छेहरु नै हौ ! तिमिहरुले भोजभतेर विवाह गर्दा मायाँ प्रिती लाउँदा हामी दुईलाई नै ‘हुनी र नहुनी’ भन्दै अनेक कुरा काट्छौ । तिम्रै समाजमा भएका मान्छेलाई हुनी नहुनी भन्न सक्दैनौ ? हाम्रो मात्रै कुरा काट्छौ । कति छन त्याहाँ ‘नहुनी हुनी भएका, हुनी नहुनी भएका’ थाहा छैन तिमिहरुलाई ? तिम्रो राजनीति हेर त, च्याऊ खाने घ्यू खाने, घ्यू खाने च्याऊ खाने भएका छैनन् ? हामी होऊँ कि नहोऊ, तिमी मान्छेलाई के चासो हँ ?’ भन्दै थलैपार्ने खालका प्रश्न सोध्न थाले । यस्तो सुनेपछि हामी अगाडि बढ्यौं । केही पर पुगेपछि यिनका प्रश्नमा घोत्लिन थाल्यौं । हैन, रुख बिरुवाले पनि मान्छेको समाज राजनीति फट्याइँ सबै थाहा पाउने रैछन त ! ओ हो, के भयो यो ? हामी झन् आश्चर्यमा पर्यौं ।
बास्तवमा यी दुई रुखको आपसि मेलमिलापमा ठूलो कटुता त्यसबेला भयो जतिबेला मानिसले आफ्नो स्वार्थ अनुकुलको प्रयोग रुखलाई गरे । यिनीहरुको ऊंचनीच राम्रो नराम्रोको भेद मानिसले नै खोलिदिएपछि रुखहरुमा पनि वर्ग उत्पन्न भयो । आजकल यो भेद जानेर यी दुई रुखमा ठूलो दुश्मनी बढेको रहेछ भन्ने हामीले बोध गर्यौं । उनीहरुले हामी मान्छे माथी लगाएको आरोप पनि निराधार लागेन । आखिर मान्छेलाई दश बर्षसम्म त जंगलले नै पढायो । जंगलमा च्याऊ खाएर दीक्षित भएका मान्छेलाई घ्यू खान थाले भन्दैमा उसको हैसियत संझाउन जंगलका रुखहरु किन डराउँथे ! त्यसैले यी रुखहरुको हप्काई–दप्काई गलत र अस्वाभाविक पनि लागेन । फेरि हामी हाम्रो बाटो लाग्यौं ।
वरपीपल चौतारी नेर के पुगेका थियौं अर्का दुई रुखले उसै गरि हाम्रो अगाडि काँप्न थाले । सोध्यौं
– ‘ए वर पीपलका बुढा रुखहरु ! के भयो तिमिहरुलाई ? किन काँपेको ? किन हल्लेको ?’ हाम्रो प्रश्न सुनेर आक्रोशित हुँदै पीपलको रुख करायो– ‘तिमी मान्छेहरुले हाम्रो अस्तित्व पहिचान मेट्न थाल्यौ । दशकौंदेखि हाम्रो चित्र बनाएर मान्छेलाई भ्रममा पार्यौ । पीपलको चित्र देखाउने पीपलको जरा उखेल्दै हिड्ने तिमी मान्छेहरु दुष्ट हौ । हिन्दुत्व नै मेट्न हिंड्ने तिमीहरुले अबदेखि मेरो चित्र प्रयोग नगर । चिलाउनेको रुखको चित्र बनाएर हिंड । हामी वर पीपलका रुख जति बाटो बनाउने भन्दै उखेल्दै फाल्दै गर्दा तिम्रो मन खाएन ? वरपीपलका चौतारी देखिन छाडे । यी हेर, यौटा जरामा म थामिएको छु । अबदेखि मेरो संरक्षण गर्दैनौ भने तिमीहरु मेरो अगाडीको बाटो भएर नहिंड, बुझ्यौ ?’ ओ हो, पीपलको कुरा सुनेर हाम्रो झण्डै सात्तो गएको ! भयभित हुँदै हामीले पीपललाई अनुनय गर्यौं– पीपल ज्यू, हजूरको पवित्रतामा हाम्रो पुरै विश्वास छ । हाम्रो तर्फबाट तपाईंको पुरै संरक्षण पनि गर्छौं । पूजा पनि गर्छौं । तपाईं त हाम्रो संस्कृति हो, सभ्यता हो, धर्म हो । हामीले कहिल्यै तपाईंको बर्खिलाप गर्दैनौं । जसले गल्ती गरेको छ उसलाई नै यता आउँदा समातेर झकझकाउनु होला । ‘भालुको रिस खन्यूँ माथी’ त गर्न भएन नि पीपल ज्यू !
हाम्रो अनुनय सुनेपछि केहि नम्र हुँदै पीपल बोले, –‘तिमीहरु होईनौ भने को हुन त ती अधर्मी ? तिनलाई चिनाई देऊ । खुबै हाम्रो धर्म मान्छौं । धोखा दिन्नौं भन्दै मेरो चित्र उतारेर दशकौंसम्म लुट्नुसम्म फाईदा लुटे । कि तिनीहरु बिधर्मीको प्रलोभनमा परेर हाम्रो प्रकृति संस्कृति भूगोल नाशगर्न थाले ?’
हस् हजूर हामी बुझेर हजूरलाई खबर गर्छौं । जलाई बिदा पाऊँ ! हामी हिंड्न खोज्यौं । तर पिपलको प्रिय बरको जराले बाटो छेक्यो ।
–किन के भो हजूर ? हामी जान नपाउने ?
(पीपलले आफ्ना पात पुरै हल्लाउँदै गर्जन थाले)
– “तिमीहरुले तत्काल यौटा काम गर्नुपर्छ, नत्र जान पाउँदैनौ !’ (के काम हजूर, हामी गर्न तयार छौं मर्जी होस् हामीले भन्यौं ।)
पीपलले बोले–
– पक्का हो !
– एकदम पक्का हजूर !
– ल कसम खाऊ !
– के खाऊँ हजूर ?
– कसम खाने कुरा पनि मैले सिकाउने हो ? आँफै रोज…
– सूर्य भगवान कसम, पीपलको रुखको कसम, हँसिया हथौडा कसम, गाईको कसम धरोधर्म काम गर्छम् हजूर !
– तैट् यस्ता पनि कसम हुन्छन ? यी सबै काम नगर्ने देश लुटेर ठगेर खाने कसम खाएर पनि तिमीहरुले मेरो काम गर्छौ ? मैले पत्याईन ! अर्को कसम खाऊ !
– नेपाल आमाको कसम, मातृभूमीको कसम हजूरले अह्राएको काम तत्कालै गर्छम् हजूर ।
– हो, ल यो कसमले भने काम गरौला । ल सुन, तत्काल अरु केही गर्न पर्दैन । यो असारमा जताततै बाटो बनाउने नाउँमा गाउँ भत्किदै छन् । यी गाउँ भत्काउँदा हाम्रो जरै उखेल्ने काम भैरहेको छ । यति काम तत्काल रोक्न सक्छौ । रोक । नत्र तिम्रो कसमले तिमीहरुलाई नै सराप्ने छ ।
– हस् हामीले ‘भन्छौं’ ।
– यो सुनेर पीपल रिसाए । ठूला आखाँले हेर्दै… के रे !
(तुरुन्तै कुरा फेर्यौं ।)
– हैन हैन हजूर ‘गर्छौं’ । हामीले त रेल ल्याउने पानी जहाज ल्याउने काम पर्छ कि भनेर भन्छौं भनेको नि ! यति सानो बरपीपल जोगाउने काम त भोलि नै गर्छौं । अहिले लाई जान्छौं हजूर ।
– ल जाओ ! यसपछि बरको जराले बाटो खुला गर्यो । दायाँ बायाँ कतै नहेरी यस्तै अरु रुखले भेटलान भनेर कुलेलम ठोक्दै घरै आयौं !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->