कास्की प्रहरीले पोखराका विभिन्न वडा कार्यालयहरुमा श्रृंखलावद्ध चोरीमा संलग्नहरुलाई पक्राउ गरेको छ । प्रहरीले सार्वजनिक गरे अनुसार चोरीमा संलग्न व्यक्ति काठमाण्डौ–११ स्थायी घर भई पोखरामा बस्दै आएका ५१ वर्षीय किशोर थापा हुन् । उनले चोरीमा आफ्नो संलग्नता स्वीकारेका छन् । पोखराको वडा नम्बर १३ बाट सुरु उनको चोरी श्रृंखला एक वर्षमा वडा नम्बर १५ सम्म पुग्यो । १४ महिनामा उनले पोखराका ११ वटा वडालाई निशाना बनाए । लामो समयसम्म चोरी कसरी र किन भयो भन्नेबारे प्रहरी नै अनविज्ञ बन्नपुग्यो । वडा कार्यालयहरुमा भएको चोरीलाई जनप्रतिनिधिहरुले आफ्नो कमजोरी ढाकछोप गर्ने प्रपञ्चको रुपमा पनि अथ्र्याइयो । त्यसैगरी सो घटनालाई राजनीतिक प्रतिशोधको रुपमा पनि हेरियो । खासमा थापाले सुरक्षा गार्ड नहुने भएकाले वडा कार्यालयलाई आफ्नो निशाना बनाएका थिए । करिब ८ वर्ष डाँका मुद्दामा जेल सजायँ भोगेका थापाले कारागारबाट छुट्नासाथ पुनः उही अपराधकर्म गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
पोखरा सुरक्षा संवेदनशील क्षेत्रमध्ये एक हो । देशका मै हुँ भन्ने व्यक्तिहरुको आवागमन भइरहने यो सहर सुन्दर मात्रै छैन, यहाँ हुने आपराधिक क्रियाकलापहरु त्यत्तिकै डरलाग्दा पनि रहेका छन् । पोखराले पन्छाउन र बिर्सन नसक्ने नमिता सुनिता हत्याकाण्डदेखि दिनहुँ हुने सामान्य झैैझगडा तथा लागूपदार्थ दुव्र्यसनको लागि पनि यो सहर खुख्यात छ । पछिल्लो समयमा वडा कार्यालयहरुमा चोरी हुने श्रृंखला चलेपछि पोखराकै वडा कार्यालयमा किन एकपछि अर्को चोरी भन्ने प्रश्न उठ्यो । नगारिक समाज र संचारजगतले यो विषयको उठान गर्दा प्रहरी÷प्रशासन रक्षात्मक बन्नुपर्ने अवस्था आयो । यो आफैमा लज्जाष्पद क्षण थियो । तर, जब ढिलै भए पनि प्रहरीले यो घटनामा संलग्नलाई पक्राउ ग¥यो, तब प्रहरीले चाहेमा जे पनि गर्न सक्छ भन्ने सन्देश प्रवाहित हुन पुग्यो । कास्कीको पुम्दीमा भएको बालिका बलात्कार घटनामा संलग्नको पहिचानमा देखाएको सफलतासँग अहिलेको घटनालाई जोड्न थालियो । यो प्रहरीको लागि जनविश्वास जित्ने अवसर हो । प्रहरी पनि यही समाजको अंग हो । प्रहरीले समुदायको सहयोग बिना अपराध निन्त्रण गर्न सक्दैन । त्यही मान्यतामा अडेर अहिले प्रहरीले समुदायसँग प्रहरी अवधारणा विकास गरेको छ । यो अवधारणालाई व्यवहारमा लागु गराउनु प्रहरीकै दायित्व हो । प्रहरीको यो दायित्वसँग जनविश्वास आर्जन गर्नुपर्ने चुनौति रहनु अर्को पाटो हो । किनकि, प्रहरीको व्यवहारप्रति यदाकदा उठ्ने प्रश्न र प्रहरीमा भएको नैतिकताको ह्रास आफैमा डरलाग्दो विषय हो । प्रहरीले आफ्नो छवि उजिल्याउँदै जनतासँग नजिकिएमा धेरै अपराधहरु आफै न्यूनिकरण गर्न सकिन्छ भन्ने सोच्नुपर्छ । प्रहरीले आफ्नो धमिलिएको छवि उजिल्याउन आफैले मेहनत गर्नुपर्छ र बर्दीप्रति बफादार बन्नुपर्छ ।
मुख्य कुरा त, प्रहरीले आफू विशुद्ध व्यावसायीक बन्न धेरै मेहनत गर्नुपर्छ । अपराध कर्म गर्नेहरुलाई कुनै पनि हालतमा उम्कन नदिन आफ्नो अनुसन्धान प्रणालीमा सुधार गर्नृुपर्छ । राजनीतिक हस्तक्षेपबाट मुक्त हुन आफैले पनि प्रयास गर्नुपर्छ । यसो भएमा प्रहरीमाथि लागेका यावत् आरोपहरु आफै निम्छरा सावित हुनेछन् । अहिले प्रहरीले जुन सफलता प्राप्त गरेको छ, त्यसले प्रहरी अनुसन्धानमा लगातार क्रियाशिल रहन्छ र कानूनको लामो हातबाट मै हुँ भन्ने अपराधी पनि उम्कन सक्दैन भन्ने सन्देश प्रवाह भएको छ । कम्तिमा कास्कीमा पाएको यो सफलतालाई प्रहरीले देशैभर फैलाउने काम गर्नुपर्छ ।

