बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पत्रकार ! आम मान्छेको भाषा बोल

पत्रकार ! आम मान्छेको भाषा बोल


  • Dhorpatan News
  • भाद्र ३ २०७६, मंगलबार

नारदीय कर्म हो पत्रकारिता । दूधको दूध, पानीको पानी छुुट्याउने कर्म पनि हो पत्रकारिता । शाव्दिक अर्थ पत्रकारितालाई के हो भन्ने गौण हो तर पत्रकारिताले निभाउने धर्म महत्वपूर्ण हो । अतः नारदसँग नै जोडिन्छ पत्रकारिता ।केही दिनयता पत्रकारिता आम मानिसको चर्चाको विषय बनेको छ । ‘जनताको भाषा’ बोल्ने एक कार्यक्रम प्रस्तोता र उनका सहकर्मी पक्राउपछि पत्रकारिता नै आम सरोकारको विषय बन्न पुग्यो । आम सरोकारको विषय कोट्याउने पत्रकारहरु नै चर्चाको केन्द्र बन्न पुगे । पत्रकारिताको विविध आयामबारे आम जनताले सरोकार राख्न थाले । पत्रकार स्वयं पनि यो प्रकरणमा दुई खेमामा विभक्त बन्न पुगे । यो विषयको निरुपण हुन बाँकी छ । निश्यच पनि सडक र भीडले न्याय निरुपणको भूमिमा निभाउन सक्दैन÷ मिल्दैन । तर, अमूक व्यक्तिको पक्षमा सिंगो समाज दुई ध्रुवमा विभक्त हुँदाको परिस्थितिलाई पत्रकारिताले पनि नजरअन्दाज गर्न भने मिल्दैन ।
नेपाली पत्रकारिताको इतिहास लामो छैन । राज्यसत्ता विरुद्धको आवाज मुखरित गर्नु सुरुवाती चरणको ‘पत्रकारिता धर्म’ थियो । राणा शासनको विरुद्ध आवाज उठाउने र निश्चित वादको वकालत गर्ने व्यक्ति पत्रकार महासंघको संस्थापक अध्यक्ष हुनु यसको ज्वलन्त प्रमाण हो । जे होस्, पत्रकारिताले दमित भावनाहरु व्यक्त गराउन,चेतना भर्न र मानिसलाई सत्यको पक्षमा लाग्न प्रेरणा दिइरह्यो । नेपालमा भएका सबै राजनैतिक परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रह्यो । दमित भावनाहरुलाई सतहमा ल्याएर परिवर्तनको संवाहक बन्नु नै पत्रकारिता हो भन्ने मान्यता स्थापित भयो । सत्य र न्यायको पक्षमा हुने व्यक्ति नै पत्रकार हो भन्ने नजिर स्थापित भयो ।
तर, सधैँ त्यस्तो पनि रहेन । पत्रकारिता मागी खाने भाँडो मात्रै बनेन,ठगी खाने र धम्क्याउने माध्यम पनि बन्न पुग्यो । पत्रकारको खोल ओडेर असत्यको पक्षमा वकालत गर्नेहरु यो पेशामा हावी भए । पत्रकारको हक अधिकारको लागि स्थापित नेपाल पत्रकार महासंघले पनि आफ्नो पेशालाई मर्यादित बनाउन खासै केही गरेन । बरु, दलगत स्वार्थ समूहरुले यो संस्थामा कब्जा जमाए ।अमूक पार्टीको भातृ संगठन बन्ने प्रक्रियामा पत्रकारहरु नै मतियार बने । व्यक्तिगत लाभ र पार्टीको कार्यकर्ता बन्नको लागि पत्रकारितालाई उपयोग गरियो । जनताका कुरा बोल्न छाडियो । हो, यही बेला टेलिभिजनको पर्दामा जनताको कुरा भन्ने एउटा व्यक्ति आए । जनताले आफ्नो कुरा मज्जाले भने । तर, पत्रकारिता भनेको निष्ठा हो भन्ने सायद, ती प्रस्तोताले पनि बिर्से । उनी आफूलाई मसिहा सम्झने अवस्थामा पुगे । कमाउने ‘धन्दा’मा एक कदम अघि बढेको आरोपबाट उनी मुक्त हुन सकेनन् । यो उनको सबैभन्दा ठूलो कमजोरी थियो । अहिले उनी व्यत्तिको आत्महत्यालाई उक्साहट बनाएको आरोपमा अनुसन्धानको घेरामा छन् । उनको पक्ष र विपक्षमा सिंगो नागरिक समाज विभक्त छ । ढुंगालाई देवता बनाउन सकिन्छ र हुन्छ तर मान्छको देवत्वकरण सधैँ अमान्य हुन्छ । आरोपित व्यक्ति देवता होइनन्, उनको देवत्वकरण गर्नुपर्ने कुनै कारण पनि छैन । तर, यो प्रकरणसँगै नेपाली पत्रकारिताले के बुझ्नुपर्छ भने,‘पत्रकारिता र जननाबीचको दूरी बढेको छ ।’ पत्रकारिताले जनताको भाषा बोल्न छाडेको छ । जनताहरुको कुरा बोल्न छाडेकैले नेपाली पत्रकारिताले विश्वास गुमाएको छ । यो प्रकरणबाट पत्रकारले सिक्नु परेको छ, कम्तिमा जनताको भाषा त बोल । उनीहरुको कुरा त लेख पुनः उनीहरुसँग नजिक होऊ । जनताको भाषा बोलेकैले आरोपित व्यक्तिले पनि आम मान्छेको सहानुभूति पाएको यो घटनाबाट केही त सिक ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->