‘ढोरपाटन दैनिक’ आजदेखि १६ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ । निष्पक्ष समाचार, स्वतन्त्र विचार र व्यावसायिक पत्रकारिताको मूल उद्देश्यसहित २०६० भदौ १ गते साविक धौलागिरि अञ्चल सदरमुकाम बागलुङबाट हाम्रो यात्रा प्रारम्भ भएको थियो । १७औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा बागलुङसँगै गण्डकी प्रदेशको राजधानी पोखराबाट एकैसाथ हाम्रो प्रकाशन सुरु भएको छ । यो हाम्रो गण्डकी प्रदेशको यात्रा हो । मुलुकको परिवर्तित संरचनामा एउटै प्रदेशको दुई स्थानबाट एकसाथ प्रकाशित हुने ‘ढोरपाटन दैनिक’ पहिलो पत्रिका भएको हामी स–गर्व घोषणा गर्दछौँ । यो यात्राले हामीलाई थप क्रियाशील, सिर्जनशील र जिम्मेवार बनाएको छ । कार्यक्षेत्र थपिएसँगै अब हामीमा ‘त्रिवेणीदेखि कोरलासम्म, मनकामनादेखि ढोरपाटनसम्म, अन्नपूर्णदेखि धौलागिरिसम्म र बुढीगण्डकीदेखि कालीगण्डकी’सम्मको आवाजलाई एकसाथ पस्किनुपर्ने दायित्व पनि थपिएको छ । यो यात्रामा जिम्मेवारीसहित समग्र गण्डकी प्रदेशको अग्रणी सञ्चार माध्यमका रुपमा स्थापित हुनु वाहेक अर्काे विकल्प हामीसंग छैन ।
एउटा सञ्चारमाध्यममा हरेक नागरिकले निष्पक्ष, उत्तरदायीपूर्ण समाचार, विचार र विश्लेषण पढ्न पाउनुपर्दछ भन्ने हाम्रो सुरुवाती मान्यता कायमै हुनेछ । राष्ट्रियता, विधिको शासन, मानवअधिकार र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि हाम्रो निरन्तर खबरदारी रहनेछ । सूचनाप्रविधिमा भएको फड्कोलाई आत्मसात् गर्न सकिएन भने प्रदेश र मुलुक मात्रै होइन, विश्वका कुनै पनि कुनामा रहेका नागरिकलाई ढोरपाटनसँग प्रत्यक्ष जोड्न सकिँदैन । संसारभर छरिएका नेपाली मनसँग जीवन्त संवाद कायम राख्न www.dhorpatannews.com अनलाइन न्युज पोर्टलमार्फत जोडिइरहेका छौँ । समाचार, सूचना, मनोरञ्जन, स्वास्थ्य, साहित्य र हरेक नागरिकलाई आवश्यक पर्ने सञ्चार सामग्रीका साथमा ढोरपाटनको प्रकाशित कपी अनलाइन पोर्टलमा सजिलै पढ््न सकिनेछ । यसका लागि आवश्यक सबै संयन्त्रहरू चुस्तदुरुस्त रूपमा सञ्चालन गर्नुपर्दछ भन्ने हेक्का हामीलाई छ । त्यसका लागि यहाँहरूको अमूल्य सहयोग÷सुझाब हामीलाई प्राप्त भइरहेकै छ ।
संविधानले निर्दिष्ट गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को मर्म र समाजवादउन्मुख राष्ट्र निर्माणको महाअभियानमा ‘ढोरपाटन दैनिक’ पनि संवाहक बन्ने दृढ संकल्प हामीमा छ । संघीयताको मर्मअनुसार अगाडि बढ्दै, पत्रकारिताको माध्यमबाट गण्डकी प्रदेशको समृद्धि यात्रामा सहयोगीको भूमिका निर्वाह गर्ने कोसिस जारी रहनेछ । अहिले आमनागरिकको चाहना मुलुकमा राजनीतिक स्थायित्वसँगै सुशासन, समृद्धि हो । संघीयता अर्र्काे अर्थमा नागरिकका लागि घरदैलोको सरकार पनि हो । यसलाई व्यवहारमा पुष्टि गर्ने दायित्व राजनीतिक नेतृत्वको हो । आमनागरिकले त्यसलाई अनुभूति गर्न सुशासनसहितको समृद्धि आवश्यक छ । त्यसैले हामीले अहिले बहसका लागि ‘संघीयतामा समृद्धि’ विशेषांक प्रकाशन गरेका छौँ । यसको अर्थ, संघीयताको मर्म, समृद्धिका पाटा र राज्यप्रदत्त सेवासुविधाका बारेमा हरेक नागरिकले सहजतापूर्वक जानकारी पाऊन् र जिम्मेवार निकाय थप जवाफदेही बनोस् भन्ने हाम्रो निष्कर्ष हो । यो कर्मशीलहरूको रचनाको संग्रह मात्रै होइन, राज्यलाई उत्तरदायी बनाउने हाम्रो सिर्जनशीलता पनि हो ।
अन्त्यमा, ढोरपाटन दैनिकको १७औँ वार्षिकोत्सवको सुखद अवसरमा आमपाठक, विज्ञापनदाता, ग्राहक, विक्रेता, शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछौ । सिर्जनशील क्षमतासहित अहोरात्र खट्ने हाम्रो टिमलाई विशेष धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि यहाँहरूबाट विगतमा जस्तै साथ, सहयोग, सुझाब, ऊर्जा र हौसलाको अपेक्षा गर्दछौ ।
अध्यक्ष /सम्पादक





