हाम्रा सहरहरु कस्ता बनून ? भन्ने प्रश्न उठ्नासाथ नेपालको सहरीकरणको इतिहास सम्झना आउँछ । सहरसँग आर्थिक सम्मृद्धि जोडिएको हुन्छ । नेपालको आधुनिक इतिहास हेर्ने हो भने, सहर भन्नासाथ राजधानी काठमाण्डौको कुरा आउँछ । कुनैबेला काठमाण्डौ उपत्यका तीनवटा राज्यमा विभक्त थियो । काठमाण्डौ, भक्तपुर र पाटनमा विभक्त खाल्डोलाई मञ्जुश्रीले बस्नयोग्य बनाए भन्ने उक्ति सुनिन्छ । गोपाल र महिशपालहरुको इतिहास पनि राजधानी खाल्डोसँग जोडिन्छ । जे होस्, घुमन्ते मान्छेहरुले मलिलो उपत्यकामा बस्ती बसाए । खेतिपाती गर्न थाले । कालान्तरमा बस्ती बढ्दै गयो । राजा जन्मे शासन गरे । बस्ती बढ्दै गएपछि बन्दव्यापार बढ्दै गयो र सहरको रुप लियो । त्यो सहर कुनै बेला भारत र चीनसँग व्यापार गर्ने हैसियत राख्थ्यो । चाँदी र तामामा टक्का चलाउँथ्यो । व्यापारसँगै उठेको राजश्वबाट त्यहाँ राजाका दरबार बने, मठमन्दिर बने । व्यापारिक र प्रशासनिक केन्द्रको रुपमा मानिसको आउजाउ बढ्न थाल्यो । सानो बस्ती सहर बन्यो । सहरलाई आर्थिक गतिविधिले सम्मृद्धि प्राप्त भयो । अनि उपत्यका सुन्दर सहर बन्यो । भला,त्यहाँ अहिलेको जस्तो भौतिक सुविधा थिएनन् । काठमाण्डौ अहिले विशाल भएको छ । विशालतासँगै यसले मौलिकता गुमाउँदै गएको छ । सास फेर्ने खालि ठाउँ पनि छैन कि जस्तो भएको छ । धुलो,धुँवा र प्रदुषणणको चपेटमा छ उपत्यका । तर पनि यसप्रतिको आकर्षण घटेको छैन । यो फरक कुरा हो ।
नेपालका अन्य सहर उत्पतिको कथा काठमाण्डौको जस्तो छैन । विराटनगर व्यापारका कारण स्थापित भयो । पूर्वपश्चिम राजमार्ग बनेपछि त्यसका किनाराहरुमा बस्ती बस्यो । बस्ती सहरमा परिणत भए । पृथ्वी र सिद्धार्थ राजमार्ग बनेसँगै त्यसका किनाराहरुमा पनि सहर बने । खासमा सहर बन्नु भनेको आर्थिक गतिविधि चलायनमान हुनु हो । हिजोको खस्यौली, बटौली हुँदै बुटवल बन्यो । पुरानो वीरगंज भारतसँग बन्दव्यापार गर्ने कारणले सधैँ चर्चामा रह्यो । वीरगंज काठमाण्डौ जत्तिकै पुरानो छ । भैरहवा, नेपालगञ्जदेखि पोखरा, बागलुङ, पाल्पालगायतका सहरहरुको उत्पतिको आ–आफ्नै कथा छन् । सहर बस्नुका आर्थिक, सामाजिक र भौगोलिक कारणहरु हुन्छन् र छन् । प्रशासनिक निकायको उपस्थितिले पनि सहर बसाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हिजोको बन्दिपुर होस् वा पाल्पा अनि सुर्खेत नै किन नहोस्, प्रशासनिक कार्यालयहरुको स्थापनाले ती सहरमा बदलिएका हुन् । सहरहरु सुन्दर हुन्छन् भन्ने आम मान्यता रहेको छ । सहरले सुविधा, काम र माम दिन्छ । त्यसैले आदिमकालदेखि नै सहरप्रति मान्छेको रुचि रहँदै आएको छ । मान्छेको रुचिले नै सहरलाई गुल्जार बनाएको छ ।
तर, दुर्भाग्य अहिले नेपालका सहरहरु सहरजस्ता छैनन् । मान्छेको भीड र भागदौड मात्रै सहर हैन । सहरसँग हुनुपर्ने मौलिकता हराउँदै गएको छ । काठमाण्डौ खाल्डोदेखि अन्य सहरहरुमा मान्छे छन् तर मान्छेलाइृ चाहिने न्यूनतम आवश्यकता पूरा गर्न बढो सकस भएको छ । पानीको अभाव,अव्यस्थित ढल, अवैज्ञानिक बाटाहरुले सहर कुरुप बनेको छ । मानवीयता हराएको र सुन्दरता गुमाएको ठाउँ नै सहर त हैन ? भन्ने प्रश्न उठ्न थालेको छ । अत ः हाम्रा सहरहरुलाई हामीले सहरजस्तै बनाउन अभियान थाल्नुपर्ने भएको छ । भएका मान्छेको व्यवस्थापन र थप मानिसलाई आकर्षित गर्नेखालका बनाउनु पर्ने भएको छ । अझ, ती सहरहरुको मौलिकता जोगाउनु पर्ने आवश्यकता पनि उत्तिकै टड्कारो बनेको छ । सहर भनेको कोलाहल, भीडभाड, फोहर र अव्यवस्थाको पर्याय हैन भन्ने बनाउनु परेको छ । तर, योजना बने पनि यो सपनालाई व्यवहारमा उतार्न सकिएको छैन । बागलुङकै कुरा गर्दा स्वच्छ र फराकिलो बनाउने योजना अलपत्र परेको छ । यो बागलुङको मात्रै होइन, देशैभरको समस्या हो । सहरको वर्गीकरणगर्दै सहरलाई सहरजस्तै बनाउँदै नयाँ सहरहरु निर्माणमा अब योजनावद्ध रुपले काम गर्न ढिला हुँदै गएको छ ।

