पोखरा,१९ साउन – कविता, गजल र मुक्तक वाचन अनि गद्य लेखन र पुस्तक परिचर्चा । पोखराको दैनिकी हो यो । त्यसैले त ‘१० जना जम्मा भएको ठाउँमा गएर सोध्यो भने त्यहाँ ४ जना कवि हुन्छन्’ भन्ने पोखराबारेको साहित्यिक ठट्टा नौलो लाग्दैन यहाँ ।
कविशिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा,अलि मियाँ,मुकुन्दशरण उपाध्याय, सरुभक्त, भूपी सेरचन, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ र पछिल्लो पुस्ताका रोशन सेरचन र सरस्वती प्रतिक्षा, गनेस पौडेल लगायतका हस्तीहरुको नामुद सहर !
पौड्यालले तरुणतपसीबाटै एउटा मानक तयार गरे । कविशिरोमणिको उपमा पाए । २०२१ सालमा मुकुन्दशरणले सानै उमेरमा “प्राकृत पोखरा”बाट मदन पुरस्कार प्राप्त गरे र पोखराको नाम उँचो पारे । जनकविकेशरी धर्मराज थापाले २०२३ सालमा मालती मंगलेबाट सोही पुरस्कार प्राप्त गरी पोखरालाई साहित्यको केन्द्र हो भन्ने मान्यता स्थापित गराए ।
२०३० को दशक पोखरामा साहित्यिक जागरणको दशक बनेर आयो । सरुभक्त, तीर्थ श्रेष्ठ,प्रकट पगेनी शिव,विजय बजिमय, विश्व शाक्य, नवराज कार्की,उषा सेरचनहरु नया जोस बोेकेर आए । त्यो बेला उनीहरुमा जाँगर त थियो तर सृजना सुनाउने मञ्च थिएन । त्यो खाँचो पूरा गर्न पोखरेली युवा साँस्कृति परिवारको गठन भयो । पोयुसाँपले श्रष्टाका निम्ति तयार पारेको मञ्चले २०३५ सालमा नै टिकट काटेर मुक्तक सुन्ने परम्पराको थालनी ग¥यो ।सोही समयमा उदाएका सरुभक्तले २०४८ सालमा पागलबस्ती उपन्यासमार्फत मदन पुरस्कार प्राप्त गरेपछि भने अरु कुनै पनि सर्जकले पोखरामा मदन पुरस्कार भित्र्याउन सकेका छैनन् ।
गजल सन्ध्याका पूर्वअध्यक्ष रुपेन्द्र प्रभावी कटुका अनुसार अहिले पोखरामा पोयुसाँप, गजल सन्ध्या, मुक्तक मञ्च, हेम्जा साहित्य प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान, शुक्ला साहित्य समिति, नवनित साहित्य समाज, कविता क्लव, कविता यात्रा,नमूना साहित्य समूह, संरक्षण कविता आन्दोलन, लोककवि अली मियाँ लोक वाङ्मय प्रतिष्ठान, शुक्ला साहित्य प्रतिष्ठान, ¥याण्डम रिडर्स सोसाइटी लगायका साहित्यिक संघ÷संस्था क्रियाशिल छन् ।
पुरानो पोखरेली युवा साँस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार समता काब्य सन्ध्याको आयोजना गर्छ । पाका र नया पुस्ताका कविहरुको रचना वाचन काव्य सन्ध्याको विशेषता हो । गजल सन्ध्याले हरेक महिनाको दोश्रो शनिबार गजल सन्ध्या चलाउँछ । गजलवाचन सो कार्यक्रमको विशेषता हो । त्यसैगरी महिनाको तेश्रो शनिबार सोही संस्थाको आयोजनामा अक्षरयात्रा अन्तर्गत विभिन्न ठाउँमा पुगी सोही ठाउँमा रचना सृजना र वाचन गरिन्छ भने महिनाको अन्तिम शनिबार ¥याण्डम रिडर्स सोसाइटीले पुस्तक परिचर्चा कार्यक्रम सञ्चालन गर्छ । मुुक्तक मञ्चले हरेक शनिबार मुक्तक वाचनको श्रृंखला चलाउँछ । अन्य संघ÷संस्थाले पनि विभिन्न समयमा साहित्यिक कार्यक्रम गर्दै आएका छन् । प्रगतिशील लेखक संघ, गद्य लेखक संघ जस्ता संस्थाहरुको गतिविधीले पनि पोखरा तातेकै हुन्छ ।
यति धेरै साहित्यिक गतिविधी भए पनि पछिल्लो समय पोखराका एकाध कवि र श्रष्टाबाहेक राष्ट्रिय साहित्यिक फाँटमा चर्चामा आउनेहरु भने कमै रहेका छन् । सरस्वती प्रतीक्षाको पहिलो उपन्यास ‘नथिया’ र गनेस पौडेलको पैतालाको राम्रै प्रशंसा र पुरस्कार हात पारेपछि पोखराको शाख थामिए पनि पछिल्लो समय राम्रा साहित्यिक कृति जन्मन सकेका छैनन् । हो, साहित्यिक गतिबिधि बढी र स्तरीय सृजना कम भएको छ यतिबेला पोखरामा । ‘हिजो मञ्च थिएन, मेहनत बढी थियो, अहिले मञ्च छ, मेहनत छैन’, पोखराबाट स्तरीय साहित्य सृजना नभएको स्वीकार्दै कवि तीर्थ श्रेष्ठले भने,‘साधनाभन्दा हल्लामा रमाउन थालेपछि यो अवस्था आएको हो भन्ने आवाजलाई पनि हामी नकार्न नसक्ने अवस्थामा छौँ ।’
कवि श्रेष्ठको विचारमा समानस्तरको रचना कुनै पनि लेखकबाट सम्भव छैन, हरेक लेखकमा एउटा मानक तयार गर्ने र त्यसकै दाँजोमा अरु सृजना गर्ने रहर हुन्छ । पोखराको हकमा पनि आफैले लेखेका रचनाको भारले गर्दा आफैलाई गाह्रो भएको उनले स्वीकारे । आफ्नो कविता सङ्ग्रह तयार भए पनि छाप्न हिच्किचाएको स्वीकार्दै उनले भने,‘मैले कविता सङ्ग्रह निकाल्नु जोखिम मोल्नु नै हो,आफैले खडा गरेको चुनौतिको पहाडले खडा गरेको चुनौतिको पहाड चढ्दा बुद्धि पु¥याउनैपर्छ, म बल्ल अर्को कृति प्रकाशकलाई थमाएर आएको छु ।’
कवि तीर्थ श्रेष्ठ अहिले पनि राम्रा कविता लेख्छन् । ४० को दशको सेरोफेरोमा उनले लेखेका र ५० को दशकमा प्रकाशिहत कविताहरुको सङ्ग्रह ‘तीर्थ श्रेष्ठका कविताहरु’मा समेटिएका कविताहरुले राष्ट्रिय चर्चासँगै कविताको एउटा मानक तयार भयो । ‘शब्दलाई खेलाउने कुशल शिल्पी नै उहाँको विशेषता हो’, चर्चित गजलकार ईश्वरमणि अधिकारीले भने,‘तरलवादी आन्दोलनमा समेत संलग्न रहुनभएका उहाँका कवितामा पाइने सरलताले कवितालाई नया उचाई प्रदान गरेको छ ।’ आख्यान बढी चर्चामा रहेको बेला पोखराको पहिचान बोकेको कविताको चर्चा कम हुनु अस्वभाविक नभएको उनको तर्क छ ।
पागलबस्ती लेखेर चर्चा कमाएका भएका सरुभक्तको भनाई भने भिन्न छ । म्याक्सिमम् गोर्गी भन्ने बित्तिकै आमा, लक्ष्मीप्रसाद देवकोटा सम्झनासाथ मुनामदन,पारिजात सम्झनासाथ शिरीषको फूल र आफूलाई सम्झँदा पनि पागलबस्तीको चर्चा हुने गरेको स्वीकार्दै उनले पाठकले बनाएको मानक सृजनाको हकमा मान्य नहुने धारणा राखे । हरेक लेखकले उत्कृष्ट सृजना गर्ने लालषा पालेको धारणा राख्दै उनले एक भेटमा सुनाए,‘सर्जकले कृति जन्माउँछ तर पाठकले एउटा रचनामार्फत सर्जकको मानक बनाउँदैमा उत्कृष्ट लेख्ने तृसना भने मेटिदैन ।’ उनले पागलबस्तीपछि पनि आफूले त्योभन्दा राम्रा रचना सृजना गरे पनि चर्चा कम भएको गुनासो गरे ।
विक्रमाब्द ४०को दशकमा उदाएका कविहरु तीर्थ,प्रकट पगेनीहरुको चर्चासँगै ४० को दशकमा रमेश श्रेष्ठ चर्चामा रहे । बिम्बहरुको प्रयोग गर्दै रमेशले २०५५ सालतिर ‘चराहरुको पहाड’ सार्वजनिक गरे । ‘नयाँ पुुस्तामा पोखराको बिँडो थाम्ने खोइ ?’, स्वयं कवि रमेश श्रेष्ठ आफैसँग प्रश्न गर्छन् र भन्छन्, ‘ हल्ला गर्दै हिँड्ने तर गुणस्तरमा ख्याल नदिई आफैले लेखेको राम्रो हो भन्ने अहम्ले पोखरेली साहित्य खस्केको हो ।’
एक समीक्षकको विचारमा पोखराको साहित्य यति बेला अग्रजले खाएको भाङको नसामा मस्त रहेको छ । ‘अग्रजले भजन मण्डली तयार गर्ने अनि अनुज पुस्ता भजन गाउनमै रमाउने जस्तो पनि देखिएको छ’, पोखराको पछिल्ला साहित्यिक गतिविधीबारे तीखो टिप्पणी गर्दै उनले भने,‘भजनमण्डलीबाट गतिलो सृजनाको अपेक्षा गर्न सकिँदैन ।’ एउटाले सुनाउने र अर्कोले वाहवाह गरेर ताली पिट्ने पररम्पराले स्तरीय साहित्य सृजना नहुने उनको तर्क छ ।
त्यसो त, गजलमा दीपक समिप, कवितामा ईश्वरमणि अधिकारी, सरस्वती प्रतिक्षा लगायतका सर्जकहरुको रचनाले राष्ट्रिय चर्चा बटुल्दै आएका छन् । पूर्वमा विराटनगर, झापा एवं राजधानीसँग प्रतिष्पर्धा गर्न पोखरा अझ तयार रहेको जिकिर गर्दै उनले साहित्यकार समयप्रवाहले जन्माउने भएकोले यहाँबाट पनि विश्वस्तरका साहित्यकार निस्केन आशा गरे ।





