पोखरा,२१ साउन – अक्षरहरुको यात्रा कस्तो हुन्छ ? अक्षर रोपेपछि उम्रन्छ के ? किन स्याउ जमिनमा झर्छ र ,आकाशतिर जाँदैन ? वाहियात प्रश्नहरुले जन्माएका उत्तरहरु सुन्दर हुन्छन् । तेस्रो प्रश्नको उत्तर न्युटनले खोजिसके । अघिल्ला चाहिँ ? त्यसको जिम्मा गजल सन्ध्या पोखरालाई नै छाडौँ न !
चिना टिपोटले भन्छ, ‘गजल सन्ध्या पोखरा २०५८ सालमा जन्मिएको हो ।’ अर्थात, नेपाली भाषाका पहिला गजलकार मोतिराम भट्ट बितेको ठ्याक्कै १ सय ५ वर्षपछि । श्रृंगार रसमा लेखिने गजलको लतले गाँजेका पोखरेली ठिटाठिटीले यो संस्था जन्माए । जन्माएनन् मात्रै, जन्मेदेखि नै गजल वाचनको परम्परा चलाए । अझ, कोठाचोटामा सुतेर हैन, कनिकुथी हैन, भूगोलको नयाँ ठाउँमा पुगेर गजल र कविता रच्ने जुक्ति फुराए । र त्यसको नाम दिए अक्षण यात्रा ।
किन त ?
गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदी भन्छन्,‘ फरक ठाउँमा सृजित सृजनामा त्यहाँको परिवेश र माटोको सुवास हुन्छ , हामी गजल र कवितामा जिवन्तता चाहन्थ्यौँ, त्यसैले ।’ यति भनिसकेपछि ‘गुराँस’ उपनाम राखेका उनी गुराँसजस्तै मुस्कुराए । जन्मेको पनि निकै भयो । अक्षरसँगै भावुक मनको यात्राको श्रृंखला नै १ सय ६८ औँ भयो । ‘अक्षर यात्राका यतिका श्रृंखलाले कम्तिमा मान्छेको भाषा, भाका र मनका ब्यथा बोल्ुनपर्छ भन्ने सन्देश प्रवाहित गरेको छ’, अमृत सैदान्तिक बने । १६८ औँ श्रृंखलाको क्रममा कास्कीको उत्तरपूर्वी गाउँ याङ्जाकोट पुगेका उनको कुरामा अघिल्लो पुस्ताका उम्दा कवि तीर्थ श्रेष्ठले पनि सहमति जनाए । उनले अक्षर यात्रालाई सृजनाको लागि सामान बटुल्ले अवसरको रुपमा लिनुपर्ने बताए ।उनले माधव घिमिरे थोरै समयमात्रै लमजुङ बसे पनि रचनामा लमजुङको सुवास आउने बताउँदै अगाडि भने,‘ सामाग्री ४० वर्षअघिको त्यही पुस्तुन र बाहुनडाँडाको हो र त्यसैले उहाँलाई राष्ट्रकवि बनाएको हो ।’
बाबा राणाले गाएको सुर्खेत बुलबुल ताल भन्ने गीतले आफूलाई पनि बुलबुल ताल हेर्न हौस्याएको सम्झँदै उनले साहित्यले पर्यटनको विकासमा पनि सघाउने धारणा राखे । ‘कुनै असल सृजनामा बाँचेको भूभागले मानिसलाई आकर्षित गर्छ’, उनले थपे,‘भूभागले मात्रै आकर्षित गर्दैन तर असल सृजनासँग जोडियो भने झन आकर्षित गर्छ ।’
उनै कविले त्यहीँ रहँदा एउटा कविता कोरे र सबैको सामु सुनाए –
म फेरि आउनेछु, धर्तीमा हरियाली ल्याउनेछु
विश्वास गर, सधैँ जीवनको गीत गाउनेछु ।
मौषम पतझढको पनि होला, रात औँशीको पनि आउला
प्रत्येक प्रतिकुलतामा पनि हुनेछु……………
एक दिन यस्तो आउनेछ, मान्छे प्रलयको हैन लयको गीत गाउनेछ !
अग्रज र अनुज पुस्ता समेटिनु अक्षर यात्राको विशेषता हो । सोही ठाउँमा सृजित सृजना त्यहीँ सुनाउनु यसको अर्को विशेषता । कवि तीर्थले भनेझैँ यात्रा कहिले रचनागर्भ बन्छ त कहिले यात्राले मान्छेको सोचाई नै बदल्ने सामथ्र्य राख्छ । जाँदा र आउँदा संगसंगै हुने मनहरुले छुट्टाछुट्टै यात्रा तय गर्छन् । अर्को भाषामा भन्दा उनीहरुले अक्षरलाई आफ्नै तालले यात्रा गराउँछन् र अक्षरलाई यात्री बनाउँछन् ।
याङ्जाकोटकै कुरा गरौँ , जवानीको उत्तरार्ध (?) मा रहेकी गीता तिवारीले भने याङ्जाकोटमै रहँदाको अनुभवलाई कवितामा उनिन् र अनुरोध गरिन्,‘ ओ महोदय ! यो गाउँलाई गाउँ नै रहन दिनुहोस् , नबनाउनुस् यो गाउँलाई क्रंक्रिटको सहर ।’
साँच्चै, प्रकृतिले मान्छेभित्रको कोमलता ओकाल्न लगाउँछ कि क्या हो ? व्यवहारिक जीवनमा सत्ताप्रति नरम देखिने कवि प्रकाश ज्ञवालीले ‘देश भनेको भुगाल मात्रै होइन, परिचय भनेको नागरिकता मात्रै होइन’ भन्दै सत्ताको विकेक गुमेपछि हुन बाँकी केही नहुँदो रहेछ भन्ने उद्घोष गरे ।
कलाकार प्रकाश घिमिरेले कविता त सुनाएनन् तर कविताजस्तै सरल र चञ्चलेपन देखाउँदै आफूले कलाकारको रुपमा याङ्जाकोटमा रमाइलो गरेको अनुभूति पोखे । गजल सन्ध्याका सल्लाहकार कलिल शर्माले साथीहरुले नै खुट्टा तान्नेहरुलाई चेतावनी दिए र समयले कसैलाई भेदभाव नगर्नै भन्दै उनले अगाडि बढ्नुपर्ने सन्देश प्रवाह गरे । धनबहादुर तामाङले गुरुङ भाषा मिसाएर युगचेतको धुन निकाले । बालिका अभिलाषीले गाउँ र सहरको विभेद पर्गेल्दै गाउँप्रतिको मोह व्यक्त गरिन् । अनिताको मनलाई याङ्जाकोटको चिसो हावाले कुत्कुत्याएकै हुनुपर्छ, उन श्रृंगार रसको सहारा लिइन् । राजनीतिक चेत भएका आमोद थापाले ‘सुनिसियोस् मेयर सा’ब’ राजाजस्तै हुनुपर्छ’ भन्ने कवितामा सत्ताको अहंकार र भ्रष्ट चरित्रमाथि कडा व्यङ्ग्य गर्न भ्याए ।
रचना वाचन गर्नेहरु कल्याण पन्त, भीम रानाभाट, उदीपराज ढुंगाना, सौगात पोखरेल, वसन्त विनोद,आनन्द भट्टराई,सुदर्शन पौडेल,अम्विका भट्टराईहरुले सुन्दर रचना सुनाए । वाहवाही बटुले । लाग्थ्यो, कोही गाउँको सौन्दर्यमा लठ्ठ भए र त्यसैमा भुले । कसैले गाउँमा आधुनिकता पसेकोमा चिन्ता जनाए । कोही प्रेमिल बने । मान्छेमा असन्तुष्टी र विद्रोही स्वभाव पनि हुन्छ नि ! उनीहरुले सत्ता र व्यवस्थाप्रति रोष पनि प्रकट गरे । आफ्नै गाउँमा आएका कवि कलाकारहरुको रचना सुनेर बसेका स्थानीय नारायण गुरुङले भने,‘साहित्यको माध्यमबाट गाउँको प्रचार हुने आशा जताए । नवनित साहित्य र गजल सन्ध्याको आयोजना रहेको कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र मादी गाउँपालिकाले सघाएकोमा कृतज्ञ बनेका अध्यक्ष अमृतले अन्त्यमा बिट मार्दै भने,‘ गाउँमा पुग्दा त्यहाँका आमाहरुसँग भेट हुन्छ, त्यहाँका बासँग भेट हुन्छ र त्यहाँका मान्छेको संवेदनासँग कवि मनहरु ठोक्किन्छन्, यस्तो कार्यक्रम कम्तिमा देशभर नै हुनुपर्छ ।’





