स्याङ्जा, २३ साउन – स्याङ्जाको हरिनाश गाउँपालिका पालिकालाई एउटै रगंले चिनाउने अभियानमा अगाडी बढेको छ । समाजमा एकरुपता ल्याउने उद्देश्यले सिङ्गो चित्रे गाउँका सबै घर एउटै रङ्गले सजाइएको छ । यहाँका १ सय २ घरधुरीका छानामा निलो टिनको जस्ता पाता लगाइएको छ । भने घरका भित्ता कलेजी र हरियो रङ्गले च्याट्ट पारिएको छ ।
मगर जातीको बाहुल्यता रहेको यस गाउँका सबै घरमा गाउँपालिकाको ७० प्रतिशत र स्थानियको ३० प्रतिशत लगानीमा गाउँभरीका घरमा एउटै रङ्ग लगाइएको हो ।
गाउँपालिका भित्र एकरुपता ल्याउनको लागि यो अभियान सञ्चालन गरेको गाउँपालिका प्रमुख खिमनारायण मानन्धरले बताए । मानन्धरले भने ‘हरिनाश समृद्धीको लक्ष्यमा छ , पहिले चेतना र एकताको सन्देश फैलाएका छौं । ’
हरिनाश गाउँपालिकाको छुट्टै पहिचान स्थापित गर्नको लागि पालिकाको सबै घरधुरीमा एउटै रङ्ग लगाउने अभियान पालिकाले अगाडी सारेको गाउँपालिका उपाध्यक्ष झममाया पराजुलीले बताइन । सबै स्थानियले एकको नजरमा अर्को लाई समान देख्ने वातावरणको विकास नभए सम्म समाजको विकासमा कठिनाइ हुने भएकोले समाजमा एकरुपताको सन्देश दिन यो अभियान सञ्चालन गरेको उनको भनाइ रहेको छ ।
जिल्ला सदरमुकाम भन्दा कास्कीको पोखरा र तँनहुको दुलेगौडा, भिमाद पायक पर्ने भएकोले पनि यस गाउँपालिकाका स्थानिय बासिन्दाको किनमेल एवं दैनिक काम काज छिमेकी जिल्लाका बजारमा हुने गरेको छ । गाउँपालिका देखि नजिकको दुरिमा रहेको तँनहुको दुलेगौडा, भिमाद बजार सम्म जाने सड्क कालोपत्रे भएमा किसानले उत्पादन गरेका अदुवा , सुन्तला , पशु पंक्षी लगायत कृषकले उत्पादन गरेका वस्तुको विक्री वितरणमा सहज हुने र कृषि पेशामा युवा पुस्ताको आकर्षण बढाउन सकिने चिसापानीकी स्थानिय भवानी थापाले बताइन ।




