पोखरा,२४ साउन – पोखरामा पनि डेंगुका रोगीहरु भेटिएपछि रोगको संक्रमणबाट बच्न स्वास्थ मन्त्रालयले सर्वसाधारणसँग अनुरोध गरेको छ ।पोखरामा २१ जना बिरामीमा डेंगुको संक्रमण भेटिएपछि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले सचेत रहन आग्ह गरेको हो । स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काका अनुसार पोखराको वडा नम्बर ४, ८, ९, १०, १७, २५ मा १७ जना र तनहुँ, स्याङजा र धरानका पोखरा आएका ४ जनामा डेंगुको संक्रमण भेटिएको हो ।
संक्रमितहरुको पोखराका अस्पतालमा उपचार भइरहेको छ भने केही घर फर्किसकेका छन् । मोटर ग्यारेज भएको र धेरै पानी जम्ने पोखरा बसपार्क क्षेत्रमा डेंगुका बढी बिरामी भेटिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलले जनाकारी दिए । उनका अनुसार संक्रमितहरु खतरामुक्त छन् ।
डेंगु भनेको भाइरल इन्फेक्सन हो । यो एडिज लामखुट्ठेको टोकाइबाट सर्छ । एडिज लामखुट्टे भनेको एक प्रजातिको लामखुट्टे हो जुन प्रायः कृत्रिम भण्डारण गरेर राखेको फ्रेस पानीमा बस्छ र यसले प्रायः दिनमा टोक्ने गर्छ । डेंगु विभिन्न प्रकारका हुन्छन् । साधारणतया सबै डेंगु खतरनाक हुँदैनन् । डेंगु कुनै साधारण लक्षण देखिएर पनि हुन्छ भने कुनै असाधारण लक्षण देखाएर पनि हुन्छ ।
यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोका रूपमा लक्षण देखिन्छ । यो साधारण लक्षण हो । शरीरका कुनै पनि भागबाट रक्तस्राव बढी हुने, रक्तचाप कम हुने र रगतमा प्लेटलेट्स कम भयो भने खटिरा धेरै आउने लक्षणहरू देखिएमा यी असाधारण लक्षण हुन् र यो अवस्थालाई जटिल मानिन्छ । यसको निर्मूल गर्ने उपचार भने हुँदैन, लक्षणअनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरू रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरू रोगले यदि आक्रमण गरेमा अवस्था जटिल बन्दै जान्छ ।
डेंगुका लक्षण के हुन् ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ–२००९)का अनुसार डेंगु विदाउट साइन (लक्षणविनाको डेंगु)मा एकदमै बढी ज्वरो (१०२ डिग्री) आउँछ । यसका ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेजस्ता साधारण लक्षण हुन् ।यसैगरी खटिरा आउने, रक्तस्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेट्सको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने, रक्तचाप निकै कम हुने हुन्छन् । अधिकांश रोगी सामान्य उपचारपछि निको हुने भए पनि वेलैमा उपचार नगरेमा मानिसको ज्यानै जान सक्छ ।
डेंगुबाट बच्ने उपाय के छन् ?
– लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
– घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ ।
– घरनजिक कुनै पनि किसिमका झाडी राख्नुहुँदैन ।
–लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा लामखुट्टेको धूप वा क्रिम प्रयोग गर्नुपर्छ ।– झ्याल–ढोकामा जाली राख्नुपर्छ ।





