बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चिनिया राष्ट्राध्यक्षको भ्रमण सुनिश्चित गर

चिनिया राष्ट्राध्यक्षको भ्रमण सुनिश्चित गर


  • Dhorpatan News
  • भाद्र २६ २०७६, बिहिबार

नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा ४ पटक नेपालको भ्रमण गरे । संसदमा संवोधन गरे । वाहवाही बटुले । मुक्तिनाथसहितका धार्मिक स्थलमा गएर धर्मभीरुको परिचय दिए । कम्तिमा भारतीय पर्यटकहरुलाई नेपालबारे जानकारी दिन उनको भ्रमण फलदायी भयो । कुटनीतिमा देखाउने र गर्ने कुरा फरक हुन्छ । उनको भ्रमणले नेपाल–भारत सम्बन्धमा के कति असर प¥यो भन्ने समीक्षाको विषय हुनसक्छ । तर, उनको पटकपटकको भ्रमणले छिमेकी मूलुकको नेपालप्रतिको चासो भने पक्कै उजागर गरेको हुनुपर्छ । छिमेकी भारतका प्रधानमन्त्रीले नेपालको भ्रमण गरिरहेको सन्दर्भमा अर्को छिमेकी मूलुक चीनबाट भने लामो समयदेखि यस्तो उच्चस्तरीय भ्रमण हुन सकेको छैन । चिनिया प्रधानमन्त्री च्याङ चमिनले सन् १९९६ मा गरेको भ्रमणपछि किन यस्तो उच्चस्तरीय भ्रमण हुन सकेन भन्नेबारे विभिन्न कोणबाट व्याख्या हुने गरेको छ । के चीनले नेपालप्रति खास ध्यान नदिएको हो वा छिमेकीसँग सम्बन्ध बिस्तार गर्न नचाहेको हो ? भन्ने प्रश्न पनि उच्चस्तरीय भ्रमण हुन नसकेपछि उठेकै छ । विभिन्न समयमा चीनबाट उच्चस्तरीय भ्रमण हुने हल्ला चले पनि अन्तिम समयमा आएर भ्रमण स्थगित हुनुलाई सुखद संकेत मान्न नसकिने अवस्था पनि छ ।
चीन नेपालप्रति संवेदनशील छ । खासगरी नेपाली भूमिबाट चीन बिरोधी गतिबिधि नहोस् भन्ने उसको चाहना हो । ऊ नेपालमा स्थिरता चाहन्छ र त्यही स्थिरतासँगै आफ्नो सुरक्षा चासो संवोधन भएको हेर्न चाहन्छ । चीनले नेपाललाई दिँदै आएको सहयोग,दुःख पर्दा देखाएको संवेदनशीलता सह्रानीय छ । भारतीय नाकाबन्दीको बेला चीनले नेपाललाई पेट्रोलियम पदार्थ मात्रै दिएन, समुद्रसम्मको बाटो सहज गरिदियो । तर, नेपालीको बानी निर्णय गर्ने र कार्यान्वयन नगर्ने खालको छ । नाकाबन्दीको बेला भएका महत्वपूर्ण सम्झौतालाई कार्यान्वयनमा ल्याउन नेपाल चुकेको छ । यसैगरी चीनको महत्वकांक्षी परियोजना रोड एण्ड बेल्ट इनिसियटिम्समा पनि नेपाली चासो कम देखिएको चिनिया बुझाई रहेको छ । अझ नेपाल अमेरिकी डिजाइनको इण्डो प्यासेफिक परियोजनामा आवद्ध हुन लागेको हल्लाले पनि चीन सशंकित भएको हुनुपर्छ । सार्क राष्ट्रको अध्यक्षको हैसियतले नेपालले चीनलाई सार्कमा ल्याउन गरेको प्रयास तुहिएको छ भने सार्क अध्यक्षको भूमिका पनि प्रभावकारी बन्न सकेको छैन । यस्तो अवस्थामा नेपालले दुई देशबीचको सम्बन्ध दरिलो बनाउन उच्चस्तरीय भ्रमणलाई उपयोग गर्न सक्नुपर्छ । आफ्ना कुरा भन्नुपर्छ ।
राष्ट्राध्यक्षहरुको भ्रमण रमाइलोको लागि हुँदैन । उनीहरु निश्चित उदेश्य बोकेर भ्रमणमा निस्कन्छन् । राष्ट्राध्यक्ष र त्यो पनि चीनजस्तो मुलूकको, उनी पर्यटक बन्न नेपाल आउने हैनन् भन्ने हामीले बुझ्नैपर्छ । अहिले चिनिया विदेशमन्त्रीले नेपालको भ्रमण गरी आफ्ना राष्ट्राध्यक्षको भ्रमणको तयारीबारे जानकारी लिएका छन् । आशा गरौँ, नेपालले अब चिनिया महामहिमको नेपाल भ्रमणको उचित तारतम्य मिलाउनेछ । कुुटनीतिक रुपमा आफूलाई बलियो बनाउँदै चिनिया चासोको संवोधन र आफ्नो हितमा पनि काम गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->