गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षाको विकासबिना विकास विकास असम्भव भएको मात्रै बताएनन्,विश्वविद्यालयहरुलाई राजनीतिबाट टाढा राख्नुपर्ने धारणा पनि राखे । गण्डकी टेक्निकल कलेज स्थापना गरी व्यावसायिक शिक्षा दिने योजना सुनाउँदै गर्दा उनले सो विश्वविद्यालयको धारणा आफ्नो नाम राख्न नभएको पनि प्रष्ट्याए । गण्डकी प्रदेश सरकारले बेलचौतारामा गण्डकी टेक्लिकल विश्वविद्यालय बनाउने उद्घोष गरेको छ । प्रदेश सरकारले अघिल्लो वर्ष घोषणा गरेको विश्वविद्यालयको लागि सीमित बजेट छुट्याएको छ । त्यो बजेटले विश्वविद्यालय बन्दैन । मुख्यमन्त्री गुरुङले पनि जग्गा प्राप्तिमा समस्या भएको कारणले विश्वविद्यालयको काम ढिला भएको बताएका छन् । उनले विश्वविद्यालयमा हुने राजनीतिकरणले समग्र शिक्षा प्रणाली बिगारेको बताउँदै राजनीतिबाट टाढा भए मात्र विश्वविद्यालय वास्तविक अर्थमा विश्वविद्यालय हुने बताएका छन् ।
मुख्यमन्त्री गुरुङको धारणाले अहिलेको शिक्षा प्रणालीको विकृतितर्फ संकेत गर्छ । हो, नेपालका विश्वविद्यालयहरु चरम राजनीतिकरणले थला परेका छन् । विश्वविद्यालय भागबण्डामा चल्छन् । ठूला राजनीतिक दलले त्यहाँका मुख्य पदहरुमा आफ्ना मान्छे भर्ना गर्छन् । विज्ञता हाँसिल गरेका व्यक्ति रहनु पर्ने ठाउँमा राजनीतिक भागबण्डा हुँदा शिक्षा प्रणाली मात्रै बिग्रेको छैन, देशलाई चाहिने जनशक्तिको पनि कमी भएको छ । यसले गर्दा राज्यले ठूलो क्षति ब्यहोर्नु परेको छ । एक पटक अमेरिकाका राष्ट्रपतिले भनेका थिए,‘चीनले गरेको आर्थिक प्रगतिसँग डराउनु पर्दैन, किनकि हामीसँग राम्रा विश्वविद्यालय छन् ।’ उनको भनाईले नै प्रष्ट पार्छ, शिक्षाको महत्व कति छ भन्ने । राम्रो विश्वविद्यालय हुनुले राष्ट्रको हरेक क्षेत्रमा असर गर्छ । अहिले भर्खर सार्वजनिक गरिएको एक रिपोर्टका अनुसार संसारकै राम्रो विश्वविद्यालयमा अक्सफोर्ड पहिलो स्थानमा आएको छ । बेलायतको अक्सफोर्ड पहिलो नम्बरमा आउँदा नेपालको पुरानो विश्वविद्यालय १३ सय ६० स्थानमा छ । १३ सय ९६ वटा विश्वविद्यालयमध्ये नेपालको विश्वविद्यालयले पाएको स्थान आफैमा लाजमर्दो मात्रै छैन, देशको लागि लज्जाको विषय पनि हो ।
दोष अर्कालाई दिएर उम्कन मिल्दैन । मुख्यमन्त्री गुरुङले भनेजस्तै हामीले हाम्रा शैक्षिक केन्द्रहरुलाई राजनीतिकरण गरेर धेरै बिगारिसकेका छौँ । अब बिग्रन केही बाँकी छैन । तर, हामीसँग सपार्नको लागि धेरै काम गर्नुपर्ने आवश्यकता रहेको छ । अब कम्तिमा विश्वविद्यालयहरु प्राज्ञिक थलोको रुपमै रहनुपर्छ । यहाँ हुने चरम राजनीतिकरणको अन्त्य हुनैपर्छ । त्यति मात्रै नभएर, साक्षर हुने हाम्रो शैक्षिक प्रणालीमा सुधार पनि अहिलेको पहिलो आवश्यकता हो । जुन दिनसम्म नेपालले आफ्नो शैक्षिक पद्धतिमा सुधार गर्दैन, तबसम्म न त देशले विकासको गति लिन्छ न त आवश्यकता अनुसारको जनशक्ति नै निर्र्माण हुन्छ ।, नेपाललाई खाडी मुलूकमा अदक्ष कामदार पठाउने देशकै रुपमा राख्ने कि दक्ष जनशक्ति उत्पादन गर्ने राष्ट्र बनाउने भन्ने कुराको निक्र्योल गर्न ढिला भइसकेको छ । त्यसैले विश्वविद्यालयहरुलाई दक्ष जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलो बनाउन ढिला गरिनु हुँदैन । यसको लागि शिक्षालाई राजनीतिबाट टाढा राखिनुपर्छ । योग्य व्यक्तिलाई विश्वविद्यालयको नेतृत्व दिनुपर्छ अनि शिक्षालाई जीवनपयोगी बनाउने गरी पाठ्यक्रम तयार पारिनुपर्छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीले जे भनेका छन्, त्यो कुरालाई व्यवहारमा उतार्न सकेमात्र पनि उदाहरणीय काम हुनेछ ।

