नेपाली कामदारहरुलाई मलेसिया जाने बाटो खुलेको छ । करिब १५ महिनासम्म रोकिएको यो गन्तब्यमा नेपालीहरुको उच्च माग मात्रै छैन, ठूलो संख्या त्यहाँ कार्यरत पनि छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अब शुन्य लागतमा त्यहाँ कामदार पठाउने व्यवस्था मिलाएको बताएका छन् । दलाललाई पैसा बुझाएर पनि सहजतासाथ त्यहाँ जान नपाउने अवस्था अब अन्त्य भएको पनि उनको भनाई छ । मलेसियाबाट करिब २५ हजार कामदारको माग भएको छ । यसको अर्थ अबको केही दिनमा नेपालबाट २५ हजार युवाहरु कठिन श्रमको लागि मलेसिया पुग्नेछन् । उनीहरुले त्यहाँ गरेको दुःखबाट प्राप्त पैसाले घरको गर्जो टार्दै राष्ट्रलाई पनि योगदान गर्नेछन् । मन्त्री विष्टले मलेसिया जाँदा चर्को शुल्क लिएको, मलेसियाली संयन्त्रले मात्र काम गर्दा सिण्डिकेटको अवस्था आएको, स्वास्थ्य जाँच गराउँदा पनि नेपाली ठगिएको भन्दै मलेसिया रोजगारी रोकेका थिए । मन्त्रीको यो निर्णयको चर्को बिरोध पनि भयो । नेपालीहरुको सजिलो गन्तब्य मानिएको सो ठाउँ रोकिएपछि विकल्प के त ? भन्ने प्रश्न पनि उठ्यो । तर, मन्त्री विष्टले नेपाली कामदारले लेवी तिर्नुपर्ने, स्वास्थ्य परिक्षणको खर्च ब्यहोर्नुपर्ने अवस्थाको अत्य गराए । उनले भने अनुसार हुने हो भने अब रोजगारदाताले कामदारले स्वास्थ्य परिक्षणलगायतमा गरेको खर्च पहिलो महिनाको तलबमा थप्नेछ । मलेसियाको कानून अनुसारका सार्वजनिक बिदा, बिरामी बिदा, वार्षिक बिदा र परिवारमा कसैको मृत्यु भएको अवस्थामा समेत १५ दिन बिदाको व्यवस्था गरिएको छ । कामदारसँग कुनै पनि बहानामा शुल्क नलिन पनि मन्त्रीले निर्देशन दिएका छन् । मन्त्री विष्टले शुल्क लिइएमा कडा कारबाही गरिने प्रष्ट पारेका छन् । अहिले भएको सम्झौताले नेपाली कामदारको हितमा महत्वपूर्ण निर्णयहरु गरेको छ ।कम्तिमा पैसा तिरेर काम गर्न जाने अवस्थाको अन्त्य भएको छ । मलेसियामा रहँदाको सुरक्षा, कार्यस्थलको सुरक्षा र सुविधाको ख्याल गरिएको छ । मलेसियाको राजनीति गर्न निषेध गरिएको छ । अब पासपोर्ट जफत गरेर कामदारलाई बन्धक बनाउने अवस्थाको पनि अन्त्य हुनेछ ।
त्यहाँ सुख खोज्न विदेश गएको हैन नेपाली । दुःखका बीच परिवारको लालनपालन र सुन्दर भविष्यको कल्पनामा विदेशिएका हुन्, उनीहरु । हरेक दिनजसो बाकसबन्द भएर विमानस्थलमा आउने शव बुृझ्दा रुनेहरुले देख्दा मन छियाछिया हुन्छ । त्यहाँबाट कमाएको पैसाले देशको अर्थतन्त्र चलायमान भएको छ । सरकारले आफ्ना देशका नागरिकलाई रोजगारी दिन सकेको छैन । देशमा रोजगारी नहुँदा दैनिक १५ सय सृजनशील युवाहरु विदेशिएका छन् । सरकारचाहिँ फलानो देशले नेपाली कामदार लिने भयो भन्ने सन्देश प्रवाहित गरेर हर्ष मनाइ रहेको अवस्था छ । यो दुःखद परिस्थितिको अन्त्य हुनैपर्छ । आफ्ना देशका सृजनशील युवाहरुलाई देशमै रोजगारीको वातावरण सृजना गर्नुपर्छ । त्यसो हुन नसके वैदेशिक रोजगारबाट प्राप्त पैसाले देश उभोँ लाग्दैन । यसै पनि वैदेशिक रोजगारीले समाजमा पारेका नकरात्मक प्रभावहरु कम छैनन् । वैदेशिक रोजगारीले ल्याएको सामाजिक बिग्रहबारे सरकारले ध्यान दिन सकेको छैन । सामाजिक बिग्रहलाई समयमा नै संवोधन नगरे अर्को भयावह अवस्था आउनेतर्फ कसैको ध्यान गएको छैन । कम्तिमा तत्कालै नसकिए पनि सरकारले आफ्ना नागरिक विदेश पठाउने यो धन्दा रोक्नेतर्फ ध्यान दिनुपर्ने भएको छ । मान्छे विदेश पठाएर सुखी र सम्मृद्ध नेपाल सम्भव छैन । देशमा रोजगारी सृजना गर्दै स्वाधीन अर्थतन्त्र निर्माण गर्न अब ढिलाइ भयो ।

