बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

’ज्यू–हजुर’ गर्नेबाट दूरी बढाऊ,मुख्यमन्त्री !

’ज्यू–हजुर’ गर्नेबाट दूरी बढाऊ,मुख्यमन्त्री !


  • Dhorpatan News
  • असोज १ २०७६, बुधबार

सदाचारी हुनु भनेको लोभ र मोहको आशक्तिबाट मुक्ति हो । पूर्वीय दर्शनमा आसक्तिबाट माथि उठ्नुलाई महानता मानिन्छ । आसक्तिले कसैको भलो गर्दैन । आसक्त मान्छेबाट सामाजिक न्याय र सुशासनको परिकल्पना गर्न सकिँदैन । मुखले एउटा र व्यवहारमा अर्कै कुरा गर्नु फरक हो, नत्र बोली र व्यवहारमा तादाम्यताले नै मान्छेको नैतिकता मापन हुन्छ । सामाजिक अभियन्ताहरु, राजनेताहरु अक्सर यही बाटो अवलम्बन गर्छन् । त्यसैले उनीहरु सम्मानित बन्छन् । सम्मानित हुन सम्मानयोग्य कर्म गर्नैपर्छ । समाजको अगुवा बन्नैपर्छ । आदर्श र नैतिकताबाट स्वखलित हुनुहुँदैन । महात्मा गान्धीदेखि नेल्सन मण्डेलासम्म त्यही कर्मले महान बनेका हुन् । सादगीको चर्चा गर्दा नेपालकै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको नाम पनि यदाकदा लिइने गरिन्छ । सादगी भनेको मनलाई लोभबाट टाढा राख्नु र अरुको लागि अनुकरणीय बन्नु पनि हो । तर, नेपालका राजनेताहरु पछिल्लो उपक्रममा यो बाटोमा हिँडेका देखिँदैनन् । उनीहरुमा ‘एकबारको जुनीमा पाएको अवसर सदुपयोग गरौँ’ भन्ने भावना जागृत भएको भान हुन्छ । विधि, नियम र प्रक्रियालाई आफु अनुकुल बनाएर सत्ता र शक्तिको दुरुपयोग गरेकाले यस्तो अनुभूति भएको हो ।

गण्डकी प्रदेशकै कुरा गर्ने हो भने, यहाँका मुख्यमन्त्रीदेखि जनप्रतिनिििधहरुका गतिबिधिहरु त्यही मार्गमा डोहोरिएका त हैनन् भन्ने सन्देह उत्पन्न हुन थालेको छ । भर्खरै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूले चढ्दै आएको पुरानो गाडीको नम्बर एकाएक परिवर्तन गरी रातो बनाएका छन् । उनकै कार्यालयको सिफारिसमा यातायात विभागले गाडी नम्बरलाई निजी बनायो । मुख्यमन्त्री निजी गाडीमा सवार हुनुहुँदैन भन्ने होइन तर के प्रयोजनको लागि निजी बनाइयो र कहाँ प्रयोग भइरहेको छ भन्ने कुराले बढी महत्व राख्छ । निजी नम्बर प्लेट हालेको सो गाडी उनको पारिवारिक प्रयोजनको लागि प्रयोग भइरहेको सार्वजनिक भएको छ । मुख्यमन्त्रीले गण्डकीको प्रतिनिधित्व गर्छन् । उनी सरकारी ओहोदामा छन् र सरकारी नम्बर प्लेट अर्थात् सेतोमै सवार हुँदा सुहाउँछ । आफूलाई संघीय सरकारले अपमान ग¥यो भन्दै महंगो गाडी किनेका उनी लज्जावोध हुने त्यो पुरानो गाडीको मोहबाट किन मुक्त हुन सकेनन् ? किन रातो नम्बर प्लेट बनाएर पारिवारिक प्रयोगमा लगाए ? कम्तिमा यो प्रश्नको सदाचार चाहने मुख्यमन्त्रीले जवाफ दिनुपर्छ ।

मुख्यमन्त्रीको रुपमा उनका जिम्मेवारीहरु धेरै छन् । गाडी चढ्नु उनको रहर हैन, बाध्यता हो । तर, राज्यको सम्पत्तिको रंगरुप नै फेरेर प्रयोग गर्नुपर्ने आवश्यकता किन प¥यो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ आएन भने मुख्यमन्त्रीप्रति जनताले औंला ठड्याउँछन् । हो, उनी पाँचवर्षे कार्यकालको लागि जनअनुमोदित हुन् । तर, त्यो अनुमोदनको अर्थ सबै क्षेत्रमा उनले जे गरे पनि उन्मुक्ति पाउँछन् भन्ने होइन । उनको आलोचना गर्नै हुँदैन भन्ने होइन । कम्तिमा अहिलेसम्म दिएका सार्वजनिक अभिव्यक्तिले मुख्यमन्त्री आफ्नो लक्ष्य र आदर्शमा प्रष्ट छन् भन्ने देखिन्छ । तर, उनी आफू र आफूलाई उकास्ने चाकडीबाजको घेरामा परेका त हैनन् भन्ने आशंकाले पनि यतिबेला ठाउँ पाएको छ । उनी आफ्नै आदर्शको बाटोबाट च्यूत हुनेखालका निर्णयमा फस्ने त हैनन् भन्ने पनि देखिएको छ । अत ः उनले यतिबेला सत्ताको वरपर बसेर आफ्नो स्वार्थसिद्ध गर्ने जमात चिन्नु परेको छ । आफूलाई फसाउन ज्यू–हजुर भन्ने जमातबाट सचेत हुनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->