बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आम्चीहरुलाई अवसर देउ

आम्चीहरुलाई अवसर देउ


  • Dhorpatan News
  • असोज २ २०७६, बिहिबार

हिमाली क्षेत्रका डाक्टर हुन्, आम्ची । आयुर्वेदमा आधारित आम्चीकै भरमा सयौँ वर्षेदेखि हिमाली क्षेत्रमा उपचार हुँदै आएको छ । उनीहरु अनुभवको आधारमा जडीबुटीको पहिचान गर्छन् । ती जडिबुटी प्रयोग गरेर बिरामीको उपचार गर्छन् र निको बनाउँछन् । कतिपय अवस्थामा असाध्य मानिएका रोगहरु पनि आम्चीको अघि घुँडा टेक्न बाध्य हुन्छन् । आम्चीहरु जडिबुटी पाइने बेला उच्च हिमाली भागमा उक्लन्छन् । पुस्तौँदेखि जडिबुटीके परख गर्ने कलाले उनीहरुलाई कुनचाहिँ ओखती हो र कुन हैन भन्ने बुझाउँछ । ती जडिबुटीलाई पिसेर, मात्रा मिलाएपछि बल्ल ओखती बन्छ । पूर्वीय समाजको दैनिक जीवनमा आम्ची र आयुर्वेद परापूर्वकालदेखि नै प्रयोगमा छ । अहिले आयुर्वेद जोडिएका औषधी र सौन्दर्य प्रशाधनले लोकप्रियता पनि हाँसिल गरेका छन् । पुरातन उपचार पद्धतिलाई आधुनिकीकरण गर्ने विश्वव्यापी लहर पनि चलेको छ ।
नेपालमा आयुर्वेदलाई र आम्चीलाई स्वीकार गरिएको छ । आधुनिक अस्पताल बन्नुअघि नेपालमा आयुर्वेद नै चल्थ्यो । कविराजहरु राखेर अस्पताल चलाइएको थियो । तर, आधुनिक चिकित्साको बढ्दो प्रयोगले उनीहरु छायाँमा परेका छन् । सिंहदरबार वैद्यखाना केही ओखती उत्पादनमा सीमित छ । त्यसको आधुनिकीकरणमा सरकारको चासो छैन । सिंगो विश्वले यही पद्धति अपनाउँदै विश्वविद्यालय नै खोल्ने सुरसार गरिरहँदा नेपाल सरकार चुकेको छ । नेपाल सरकारले हिमाली क्षेत्रमा कहिले पो सेवा सुविधा दिएको थियो र ? त्यहाँ स्वास्थ्य पनि चाहिन्छ भन्ने सरकारले अहिलेसम्म पनि सोच्न सकेको छैन । यस्तो अवस्थामा मान्यता प्रदान गरिएको आयुर्वेद र आम्ची दुबै मर्कामा परेका छन् । पुरातन पद्धतिमा टेकेर जडिबुटीमार्फत उपचार गर्ने आम्चीहरु देवता नै हुन् । त्यहाँका जनताका पूज्य पनि हुन् । तर, राज्यको तर्फबाट भने यी देवताको कुनै भाउ छैन । हिजोदेखिको परम्परागत पेशा धानेर संविधानप्रदत्त स्वास्थ्य सेवा दिँदै आएका उनीहरु राज्यकै कोपभाजनमा परेका छन् । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागअन्तर्गत रहेको वैकल्पिक चिकित्सा महाशाखाले वैकल्पिक तथा आम्ची चिकित्सा सेवा सुदृढीकरण, सम्बन्धित कानून, नीति, गुणस्तर मापदण्ड निर्माणमा सहयोग पु¥याउने उदेश्य पनि लिएको छ । प्राविधिक तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी) बाट आम्चीको लागि २ वर्ष ९ महिनाको पाठ्यक्रम तयार पारिएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आम्ची चिकित्सा अस्पतालको मापदण्ड बनाउँदै सोवारिक्वा (आम्ची) इकाई स्थापनाको लागि सहजिकरण गर्ने तथा यो पद्धतिको उपचार सेवा प्रवाहमा सहजिकरण गर्ने नीति पनि सरकारको छ । तर, यी सबै कुरा कागजमा सीमित छन् । हिमालयन आम्ची एसोसियसनको पहलमा सरकारले आम्ची पढ्न अनुमति दिए पनि पढेका आम्चीहरुलाई काम दिन सकेको छैन । उनीहरुको पेशालाई मर्यादित बनाउने र आधुनिकीकरण गर्नेतर्फ सरकारको ध्यान छैन । आफ्नै बलबुतामा पढेका आम्चीहरुको भविष्य अन्यौल छ । जनताले पत्याए पनि राज्यले उनीहरुलाई पत्याएको छैन । जनताले पत्याएको र एकपटक राज्यले पनि स्वीकार गरेको यो शिक्षा पद्धतिलाई व्यवस्थित गर्दा राज्यलाई हानी हैन, नाफा नै हुन्छ । नेपाल वैकल्पिक उपचार केन्द्र बन्न सक्छ । भारतममा रामदेवले आयुर्वेदको प्रयोगबाट बनाएको छविजस्तै नेपालका आम्ची र वैद्यहरुले पनि राज्यलाई ठूलो योगदान गर्न सक्छन् । मुख्य कुरा त, सरकारले प्रदान गर्न नसकेको हिमाली क्षेत्रको स्वास्थ्य सेवामा सरकारी पहुँच बिस्तार भएको सन्देश पनि प्रवाहित हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->