नेपालीहरुको महान चाड दशैँ नजिकिएको छ । दशैँ, तिहार,नेपाल संवत, छटजस्ता चाडपर्व नजिकिँदै गर्दा बजार चलायमान बनेको छ । हुँदा खानेहरुलाई दर्शैंँको जोहो गर्नुपर्ने बाध्यता छ । चाडबाड नजिकिनु भनेको चिची, पापा र नानाको माग हुनु पनि हो । हुनेखानेलाई त दशैँ आउँदा खासै फरक पर्दैन तर निम्नवगीर्यहरुको लागि दशैँ दशा बनेर आउँछ । ऋण खोजेर भए पनि चाडबाड मान्नुपर्ने बाध्यताले उनीहरुको ओठतालु सुकाउँछ । दशैँ ऋण बोकाएर जाने गर्छ । यो नियतिबाट अझै पनि समाज मुक्त हुन सकेको छैन । सोह्रश्राद्ध चलिरहँदा नै बजारमा दशैँको चहलपहल बढ्न थालेको छ । विदेशिएकाहरु घर आउने उपक्रम सुरु भएको छ । नवरात्री सुरु भएपछि यो क्रम अझ बढ्नेछ । केही दिनपछि गाउँ फर्कनेहरुको लर्कोे लाग्नेछ । बूढाबूढी र केटाकेटी मात्रै भएको गाउँमा तरुना तन्नेरीहरुले नयाँ रौनक ल्याउनेछन् ।, गाउँ गुल्जार बन्नेछ । दशैँ सद्भाव साँटने पर्व हो । आफूभन्दा ठूलाहरुसँग आशिर्वाद लिने यो पर्वले आपसी मित्रता बढाउँछ । आफन्तहरुसँग भेटघाट र आत्मियता साँट्ने अवसर पनि दशैँले दिलाउँछ । धार्मिक र साँस्कृतिक महत्वसँगै दशैसँग जोडिने आर्थिक पाटो झन महत्वपूर्ण रहेको छ । अर्थशास्त्रीय भाषामा भन्ने हो भने, वर्षदिन भरको व्यापार वा खर्चभन्दा दशैँमा गरिने खर्च बढी हुन्छ । व्यापारीहरुको चाड पनि हो, यो । दशैँमा हुने व्यापारको हिस्सा वर्षका अन्य ११ महिनाभन्दा पनि बढी हुन्छ ।
दशैँ नजिकिएसँगै शान्ति सुरक्षाको व्यवस्था मिलाउन प्रतिनिधिसभा राज्य व्यवस्था समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ । चाडबाडको बेला हुने चोरी र अपराधका घटना रोक्न गृहमन्त्रालय मातहतका सुरक्षा निकायहरु सक्रिय हुनैपर्छ । लुटपाट र चोरीका घटना बढ्ने भएकाले यो बेला सुरक्ष सतर्कता अपनाउनै पर्छ । त्यतिमात्रै नभएर यो बेला राजमार्गमा हुने ज्यादति, भारबहन क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिलाई पनि रोक लगाउनुपर्छ । चाडबाडको बेला भीडभाडमा हुन सक्ने सम्भावित अपराधलाई निरुत्साहित गर्न र अपराधीहरुलाई कडा कारवाही गर्न सुरक्षा गस्तीहरु बढाइनुपर्छ । यसैगरी सवारी साधनहरुको अनुगमन गरिनुपर्छ र सम्भावित दुर्घटना न्यूनिकरणको लागि शुन्य सहनशीलता अपनाउनुपर्छ ।
अर्कोतर्फ चाडबाडको बेलामा हुने कालोबजारी रोक्न र जनतालाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउन सरकारले विशेष व्यवस्था गर्नुपर्छ । सरकारले औपचारितकता पूरा गर्न देशका विभिन्न ठाउँहरुमा सस्तो पसल खोलेको जानकारी गराएको छ । ती सस्तो पसल देखाउनको लागि मात्रै सीमित पारिनु हुँदैन । ती पसलहरुमा दैनिक उपभोग्य बस्तुहरुको उलब्धता हुनुपर्छ । कालोबजारी, अखाद्य बस्तुको बिक्री बितरणलाई पूर्णतः बन्देज लगाइनुपर्छ । कृतिम अभाव, तोकिएकोभन्दा बढी गाडी भाडा लिनेजस्ता कुरालाई पनि पूर्णत निरुत्साहित गरिनुपर्छ ,। मुख्य कुरा विधिको पालना गराउन यो बेला गृहमन्त्रालयले बढी सक्रियता देखाउनुपर्छ । चाडबाडको बेला लाखौँ मान्छेहरु सहरबाट गाउँ जान्छन् । उनीहरुलाई सुरक्षित तवरले गाउँ पुग्ने वातावरणतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्छ ।

