बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रकाशन गृहले घरमै पुगेर पेश्की थमाउँदा साहित्यको गुणस्तर खस्केको हुनसक्छ : अध्यक्ष ज्ञवाली

प्रकाशन गृहले घरमै पुगेर पेश्की थमाउँदा साहित्यको गुणस्तर खस्केको हुनसक्छ : अध्यक्ष ज्ञवाली


  • Dhorpatan News
  • असोज ८ २०७६, बुधबार

चिनाउन कुनै फुर्कोको जरुरी नपर्ने साहित्यक संस्था हो, पोखरेली युवा सााँस्कृतिक परिवार । २०३४ सालतिर पोखराका सृजनशील युवाहरुले स्थापना गरेको यो संस्था उमेरले जेठो बन्यो अनि क्रियाशिलताले उँचो । टिकटमा मुक्तक परम्पराको थालनी गरेर साहित्यको पनि मूल्य हुन्छ भन्ने चिनाउँदा होस्, या समता काव्यसन्ध्याको आयोजना गर्दै अनुज र अग्रज पुस्तालाई एउटै मञ्चमा उभ्याउँदा नै किन नहोस्, यसले आफूलाई अब्बल साबित ग¥यो । प्रकाशन गृहको अभावको बेला पोयुसाँप प्रकाशक बन्यो । सृजना सुनाउने मञ्च नपाउनेहरुका लागि चौतारी बन्यो । यो संस्था सुस्ताएको छैन, बरु राष्ट्रिय रुपले नै आफूलाई अझ क्रियाशिल बनाउँदै साहित्य अनुरागीहरुको आस्थाको केन्द्र बन्यो ।गरीमामय यही पोखरेली सांस्कृतिक परिवार हाँक्ने जिम्मेवारीमा छन्, यतिबेला युवा साहित्यकार प्रकाश ज्ञवाली । अक्षरमा ब्यूँझेको समय नामक गजल संग्रहका रचयिता उनी अहिले पनि गजल र कविता लेखनमा उत्तिकै सक्रिय छन् । आफूभन्दा जेठो सामाजिक संस्थाको अध्यक्षको रुपमा उनले एकवर्ष बिताएका छन् । निरन्तरतासँगै नविनता चाहने पोयुसाँपको अध्यक्षको रुपमा उनी के गर्दैछन्, संस्थाको क्रियाशिलतामा उनी आफूलाई कसरी समाहित गर्दैछन् अनि अहिले संस्थाले के गर्दैछ ? यी र यावत विषयहरुसँगै ढोरपाटनसँग उनी आफ्नो व्यक्तिगत जीवनका केही आयामहरुबारे पनि खुले । खुल्नु के थियो, आफ्ना कुरा सुनाए र भविष्यप्रति आशावादी हुँदै उर्जामय समय व्यथित गर्दाका पोका पुन्तुरा फुकाए । प्रस्तुत छ, पोयुसाँपका अध्यक्ष प्रकाश ज्ञवालीसँग गरिएको लामो कुराकानीको सम्पादित अंश । 
साहित्यमा कसरी आकर्षित हुुनुभयो ?
म ८÷९ कक्षा पढ्दा नै हल्का कविता लेख्ने प्रयत्न गर्थेँ । हजुरआमा,आमाहरु रामायण वाचन गर्नुहुन्थ्यो । त्यो माहौलले ममा साहित्यप्रति रुची जगाएको हुनुपर्छ । पोखरा आएपछि राष्ट्रिय उच्च माविको विद्यार्थी बनेँ । त्यहाँ कृष्ण उदासी, कृष्ण भण्डारी मुमुक्षुहरुसँग भेट भयो । उहाँहरुको संगतले साहित्यकारहरुसँग संगत बढ्यो । म गजन सन्ध्याको सचिव पनि बनेँ । पोखरामा ६० सालतिर आएको हुँ म । यहाँ आएपछि जीवनसागर, ईश्वरमणि अधिकारी, दीपक समीपहरुसँग सम्बन्ध झांगियो । पछि गजल सन्ध्या पोखराको सदस्य र सचिव भएँ । त्यसपछि म पोखरेली युवा साँस्कृतिक परिवारको सदस्य भएँ । ६ वर्ष सचिव भएँ अनि अध्यक्ष बनेँ ।
यहाँको साहित्यिक माहौलमा भिज्न थप कुनै प्रयत्न जरुरी प¥यो कि ? ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल भनेजस्तै रह्यो, यहाँको यात्रा ?
म यहीँबाट राष्ट्रकविको दीर्घायूको कामना गर्दछु । मैले यहाँ त्यस्तो असजहता महशुस गर्नु परेन । पोखरामा ठूला साहित्यकारले पनि त्यही मञ्च प्रयोग गरेर कविता भनेका हुन्छन्, सानाले पनि त्यही मञ्च उपयोग गरेका हुन्छन् । त्यसले गर्दा हरेक महिना आयोजना हुने कार्यक्रममा नयाँ कविता, मुक्तक सुनाउनुपर्छ भन्ने हुटहुटी आउँथ्यो । गजललाई नै मूल विधा मानेकाले हरेक साँझ गजल लेखेर बित्थ्यो । आफ्नो कर्मले नै मलाई स्थापित गरायो भन्ने लाग्छ ।
पोखरेली युवा साँस्कृतिक परिवारको लामो इतिहासको व्याख्या तपाईँको मुखबाट सुनौँ न !
२०३४ सालमा अग्रजहरुले पवित्र उदेश्यले यो संस्था स्थापना गर्नुभयो । त्यो बेला पनि २ रुपैयाँको टिकट काटेर श्रष्टाको सम्मान गर्नुपर्छ , मुक्तक र कवितालाई पनि व्यवसायिकरण गर्नुपर्छ भन्ने सोच त्यही बेला पलाएको हो । कला, साहित्य, संगीतको छुट्टाछुट्टै विभाग बनाएर त्यही बेला आफ्ना गतिविधिहरु सम्पादित भए । मभन्दा जेठो संस्थाका गतिबिधिहरु मेरो मुखबाट सुनाइरहँदा श्रृंखलावद्ध नहुन सक्छ । तर, पोयुसाँपका आफ्ना गतिििबधिहरु नै श्रृंखलावद्ध भएकाले मैले केही कुरा नभन्दा पनि योगदान स्वतः आँखा अगाडि आउँछ भन्ने मेरो विचार हो । यो पवित्र मनहरुले खोलिएको संंस्था हो । पवित्र भावनाले मात्रै यो संस्था अहिलेसम्म पनि उही अवस्थामा रहन सफल भएको हो । संस्थापक अध्यक्ष सरोजगोपाल र संस्थापक सचिव सरुभक्तले जुन उर्जासाथ संस्था जन्माउनु भयो, त्यो अद्यावधी कायम छ । सामाजिक रुपमा सरकारले गरेका वा गठन भएका एकेडेमीले भन्दा पनि राम्रो गरेको छ ।
राजधानीवादसँग टक्कर गरेर, राजधानीका साहित्यिक संस्थाभन्दा पनि उत्कृष्ट काम गर्नुको रहश्य केही छ र ?
पोखराको वातावरण नै साहित्यिक छ । मान्छेमा यहाँको प्रकृतिले नयाँ उर्जा दिन्छ । उर्जाले उत्कृष्ट सृजना दिन्छ । त्यसैले पनि यसको गतिबिधि देखिने भएका हुन्, ओजिलो भएका हुन् । हामीले कार्यक्रम गर्दा टिकट काटेर मुक्तक सुनाएर, उल्टो पारिश्रमिक दिएर पठाएका छाँै । श्रष्छटा,सृजना र साँझ कार्यक्रम अर्को महत्वपूर्ण कार्यक्रम हो । देश र विदेशका श्रष्टालाई पोखरा बोलाएर उहाँहरुका सृजना सुन्ने वातावरण पनि हामीले मिलाएका छौँ । सांगीतिक कार्यक्रम पनि चलिरहेको छ । पोखरा र वरपरका कलाकारहरुलाई कतै लगेर त्यही ठाउँमा सृजित कलाहरुको प्रदर्शन गरेर पनि हामीले कलाकारहरुको यथाशक्य सम्मान गरिरहेका छौँ । पानी रंगको राजधानी पोखरा पानी रंगमा खुल्छ भन्ने त कलाकारहरुको सृजनाले नै प्रष्ट पारेको छ । ती सृजनाहरुको प्रदर्शनी पनि सरकारले गर्न नसकेको वा नदेखेको एउटा पक्ष हो भन्ने हाम्रो बुझाई हो ।
तपाईँको कार्यकालमा के कस्ता गतिविधि सम्पादित भए र भावी कार्यक्रम के छन् ?
म अध्यक्ष भएको एक वर्ष भयो । एक वर्षमा हामीले के ग¥यौँ भन्दा पनि पोखरामा सृजनाग्राम बनोस् भन्ने मेरो लक्ष्य रहेको छ । पोखरामा बसेर सृजना गर्न चाहनेहरुलाई लक्षित गरेर संस्थाका सल्लाहकार तीर्थ श्रेष्ठले श्रष्टालाई पोखराजस्तो सुन्दर ठाउँमा आवासीय लेखनको अवसर सृजना गराउने ध्येयले सृजनाग्रामको परिकल्पना गर्नुभएको हो । पोखरामा कविहरुलाई आउन चाहे, बसे भने बस्ने व्यवस्था र कम्तिमा लेख्ने वातावरण बनोस् भन्ने उदेश्यले सृजनाग्रामको कल्पना भएको हो । सामान्य घर भएको र खाने बस्ने व्यवस्था कवि, लेखकले नै गरे पनि बस्नलाई समस्या नहोस् भन्नु हाम्रो उदेश्य थियो । संस्थाका पूर्वअध्यक्ष सोम बज्राचार्यले त्यहाँ २ रोपनी जग्गा उपलब्ध गराइदिनुभयो । त्यहाँ ४ कोठाको भवन पनि बनेको छ । तर, त्यसलाई व्यवस्थित रुपले संचालन गर्न सकिएको छैन । पूर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले यो ग्राम बनाउने चाँजोपाँजो मिलाउने वचन दिनुभएको थियो । भवनको डिपिआर पनि बनेको थियो । तर, दुर्भाग्यवस उहाँको निधन भयो । अब हामी नयाँ उपायले सृजनाग्रामको काम सक्ने मेसोमा छौँ । नियमित रुपले चल्ने कला कार्यशाला, समता काव्यसन्ध्यालगायतका कार्यक्रम चलिरहेका छन् । म अध्यक्ष भएपछि प्रसिद्ध कवि मनु मञ्जुलको एकल कवितावाचन सम्भव भएको छ । म अध्यक्ष भएकै बेला संस्थासँग जोडिनु भएका अग्रजहरु उषा सेरचन, तीर्थ श्रेष्ठ, सरुभक्त र प्रकट पँगेनीका नयाँ कृतिहरु बजारमा आएका छन् र आउँदैछन् । यो संयोग नै मानेको अवस्था हो । हामी खुसी छौँ ।हामीले भर्खरै संस्थाका संस्थापक आदरणीय विक्रम गुरुङको एकल गायन सम्पन्न गरेका छौँ । उहाँ अरुण थापालाई स्थापित गर्ने संगीतकार पनि हो । उहाँले हङकङमा आयोजना भएको कार्यक्रमबाट बचेको ५ लाख पोयुसाँपलाई प्रदान गर्नुभएको छ । त्यो रकममा थपेर हामी २० लाख बराबरको संगीत पुरस्कार स्थापना गर्ने सोचमा छौँ । संगीतज्ञका पनि गुरु अम्बर गुरुङको स्मृतिमा त्यो पुरस्कार स्थापना हुनेछ । हामी गण्डकी साहित्यिक सम्मेलन गर्नेतर्फ पनि अगाडि बढेको छौँ । अब यी दुई काम कसरी सम्पन्न गर्ने भन्ने सोचमा हामी रहेका छौँ ।
साहित्यिक संस्था चलाउन गाह्रो छैन ? आर्थिक पाटोको व्यवस्थापन कहाँबाट हुन्छ ?
संस्थामा जोडिएकाहरुबाट सबैभन्दा ठूलो सहयोग भएको छ । यहाँका अन्य साहित्यानुरागीले पनि दिल खोलेर सहयोग गर्नुभएको छ । संस्था चलकै यसको क्रियाशिलताले हो । क्रियाशिल भएपछि अन्य पाटो आफै मिल्दो रहेछ । हामी खल्तीको पैसा नै राखेर पनि कार्यक्रम गर्छौँ । सरकारले बनाएका एकडेमीहरुले करिब ७० प्रतिशत रकम त व्यवस्थापनमै खर्च हुन्छन् । खास काम हुने त २० प्रतिशत हो ।
व्यवस्थापकीय जिम्मेवारीले लेखनमा बाधा पु¥याएको छैन ?
पक्कै हो । म व्यवस्थापकी पाटोमा लाग्दा, आफ्नै व्यापारमा हात हाल्दा पनि सृजनामा समय दिन पाएको छैन । मैले २०७८ सम्म व्यापारमा जोड दिने योजना बनाएको थिएँ । २०६८ देखि २०७८ सम्म साहित्य कर्मबाट टाढा बस्न खोजेको हो । तर, साथीहरुले छाड्न दिनु भएन । त्यसैले मैले सृजनामा समय दिन पाइन । तर, व्यवसायले मलाई सन्तुष्टी दिएको छ । त्यसपछि म पूर्णकालीन लेखक बन्न पनि सक्छु । म २०८० भित्र आफ्ना सृजना लिएर पाठक समक्ष आउँछु । केही कविताहरु तयार पनि छन् ।
साहित्य र समाजसेवालाई कसरी जोड्नु भएको छ ?
म लियो क्लवदेखि लायन्स क्लवसम्म आवद्ध छु । जहाँ सहयोग गर्दा मन रमाउँछ, त्यहाँ सहयोग गर्दा खुसी लाग्छ ।
राजनीतितिर पनि झुकाव छ क्यारे तपाईँको ?
घरमा बुबाको राजनीतिबाट प्रभावित भएर राजनीतिमा झुकाव राख्ने भएको हुँ । मैले अखिलको राजनीति पनि गरेँ । तर, मलाई राजनीतिमा हाम्फाल्ने सोच छैन । कहिलेकाँहि त राजनीति मेरो खास पाटो हैन कि भन्ने पनि लाग्छ । अहिले यो विचार झन गाढा भएको छ । तर, राजनीतिक चेतना भने म सँग छ । राजनीतिलाई सही मार्गमा जानुपर्छ । राजनीतिलाई सही मार्गमा लैजान साहित्यले पनि भूमिका खेल्नुपर्छ ।
अब प्रसङ्ग बदलौँ, के अहिले साहित्यले गुणात्मकता गुमाएको हो ?
अहिले राम्रराम्रा सृजना आएका छन् । पहिले कविताको राम्रो बजार थियो । अहिले उपन्यास लेख्ने रहर चलेको छ । अहिले पूर्णकालीन लेखक बन्नेहरु पनि बढेका छन् । बजारको माग अनुसार साहित्य लेख्दा ओजपूर्ण नभएको पनि सत्य होला ।
अहिले प्रकाशनगृह नै लेखककहाँ जान थालेपछि यसो भएको हो ?
हो,अहिले व्यवसायिक लेखन बढेको छ । प्रकाशन गृह घरमै पुगेर पेस्की थमाउँछन् र एक वर्षपछि किताब दिनुहोस् भन्छन्, यसले गर्दा समस्या उत्पन्न भएको होला ।
अन्त्यमा कुनै नसोधिएको प्रश्नको उत्तर दिनुछ ?
पोयसाँपको धेरै कुरा भयो । यसको इतिबृत्तान्त वर्णन गर्ने हैसियत सायदै राख्छु । तर, यहाँ भन्ने अवसर प्राप्त भयो, यसको लागि ढोरपाटन परिवारलाई धन्यवाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->