बलात्कारका आरोप लागेपछि कृष्णबहादुर महराले समामुख पदबाट राजीनामा दिएका छन् । उनले आफूमाथि लगाइएको आरोपको निश्पक्ष छानविन होस् भन्दै राजीनामा दिएको बताएका छन् । ‘नैतिकता’को आधारमा राजीनामा दिएको उनीद्धारा जारी विज्ञप्तिमा जारी गरिएको छ । प्रतिनिधिसभाका सभामुख महराले आफूसँग लामो समयदेखि चिनजानमा रहेकी महिलालाई उनकै डेरामा गएर बलात्कार गरेको आरोप पीडित महिलाको रहेको छ । मदिरा सेवन गरेका महरासामु आफू निरीह भएको पीडित महिलाको जिकिर छ । महराले यसअघि पनि दुव्र्यवहार गरेको महिलाको आरोप छ ।
महराको यो कर्तुत सार्वजनिक भएपछि उनको बचाउ र विरोधमा चर्को टिप्पणीहरु आए । कतिले महिलाको चरित्र, स्वास्थ्य र उनको नियतमाथि प्रश्नचिन्ह उठाए । कतिले उनले तत्काल राजीनामा दिनुपर्ने माग गरे । महरा बलात्कार काण्डमा मुछिएकोमा धेरैले जिब्रो टोके । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले यो घटनाको सत्यतथ्य जाँचको माग ग¥यो । तीव्र क्रिया र प्रतिक्रियाबीच महरा आवद्ध नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)ले नै उनलाई राजीनामा दिन निर्देशन दिएपछि उनको राजीनामा आएको हो ।
राजीनामामा उनले घटनाको सत्यतथ्य जाँचको माग गरेका छन् । यो स्वभाविक पनि छ । बलात्कार नैतिकताभित्र पर्दैन । महरा स्वयंले आफू ती महिलाको डेरामा गएको स्वीकारेका छन् । सुरुमा आफ्नो सचिवालयको विज्ञप्तिमार्फत घटना अस्वीकार गरेका महरा चौतर्फी दवावबाट गलेका हुन् । यो गलाईपछि उनले नैतिकताको कुरा पनि झिके । कम्तिमा ढिलो भए पनि उनले नैतिकताको दुहाई दिँदै नैतिकवान बन्ने प्रयत्न गरे । यो सकारात्मक पक्ष हो । अब यो घटनाको सत्यतथ्य बाहिर आउनैपर्छ । घटनाबारे जानकारी भए पनि कारवाही प्रक्रिया सुरु गर्न चुकेको प्रहरीलाई घटनाको फाइल खोल्ने बाटो पनि महराले नै खोलिदिएका छन् । रातमै घटनाको जानकारी पाएको र ती महिलाको डेरामा पुगेको प्रहरीले यो घटनालाई सुरुमा त बाहिर ल्याउनै खोजेन । शक्तिको अगाडि प्रहरी निरीह बन्न पुग्यो । जाहेरी नआएको काइते जवाफ दिएर प्रहरीले आफ्नो निरीहपन देखायो । प्रहरीको डण्डा सर्वसाधारणको लागि मात्रै हो, शक्तिमा हुनेहरुको लागि त प्रहरी सेवक मात्रै हो भन्ने सन्देश प्रवाहित भयो । यो लाजमर्दो अवस्था हो । गृहसचिव र गृहमन्त्रीसम्मलाई यो घटनाबारे जानकारी भए पनि कारवाही प्रक्रिया अगाडि नबढ्नु भनेको अपराधलाई उन्मुक्ति दिनु नै हो । धन्न, घटना मिडियामा आयो र नैतिकताको दुहाई दिँदै महराले राजीनामा दिए ।
कुनै पनि महिलाले आफ्नो चरित्रलाई दाउमा राखेर कसैमाथि मिथ्या आरोप लगाउँदैनन् । हाम्रो समाजले बलात्कृत महिलालाई कस्तो दृष्टिले हेर्छ र उसको बाँकी जीवन कस्तो हुन्छ भन्ने सामान्य कुरा सम्झने हो भने मात्रै पनि महिला पीडित भएकोमा सन्देश हुँदैन । तर, आफ्ना मान्छेले गरेका हरेक कुरा सही देख्ने राजनीतिक संस्कार विकास भएको नेपालमा ती महिलालाई नै लान्छित गर्ने प्रयत्न गरियो । सत्ता र शक्तिको बलमा आफूूमाथि जे पनि हुन सक्ने त्रासलाई जितेर महिलाले देखाएको हिम्मतले पनि उनी पीडित नै भएको देखाउँछ । भला, अब छानविनको बाटो खुलेको छ । हिजो खुट्टा कमाएको प्रहरीलाई यो पटक राम्रो अनुसन्धान गर्दै दूधको दूध पानीको पानी छुट्याउने अवसर प्राप्त भएको छ । प्रहरी यो काममा अब्बल देखिनुपर्छ । सत्ता र शक्तिको आडमा कसैलाई उन्मुक्ति दिने प्रपञ्च रचियो भने न्याय त मर्ने नै छ, न्यायसँगै प्रहरीको प्रतिष्ठा पनि रसातलमा पुग्नेछ । मुख्य कुरा त अब ती महिलाई सुरक्षित राख्ने दायित्व पनि प्रहरीमै थपिएको छ ।

