बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दशैँको शुभकामना

दशैँको शुभकामना


  • Dhorpatan News
  • असोज १७ २०७६, शुक्रबार

दशैँ घरमा भित्रिने तरखरमा छ । दशैँ हिन्दुहरुको चाड मात्र रहेन,व्यापारीको चाड बनिसक्यो ।वर्षभरमा हुने व्यापारमा दशैको योगदान कति हुन्छ,व्यापारीलाई मात्र थाहा हुन्छ । व्यापारीको हातमा चाडपर्व जानु भनेको वैश्विककण पनि हो ।आयातमा निर्भर नेपालले यतिबेला संसारका सबैजसो देशबाट सामानहरु आयात गरेको छ । दशैँ र तिहारमा चाहिने फूल पनि आयातमा निर्भर रहेको सरकारी प्रतिवेदनले नै औंल्याएको विषय हो । दशैँमा भित्रिने रेमिट्यान्सले नै यहाँको अर्थतत्रलाई भरथेग गरेको छ । भन्न पर्दैन, नेपाल गरिबीको चरम अवस्था छ । देशमा ठूला–ठूला घोषणा भएका छन् तर त्यो व्यवहारमा लागु हुन सकेको छैन । सरकारले देशको वास्तविक अवस्था नबुझेर हो कि,समस्याको चाँङ बढ्दै गर्दा पनि मौनता साँधेको अवस्था छ । यो गम्भीर विषय हो । मान्छेका चाहना र इच्छाहरु बदलिएका छन् । मानिसले सामाजिक सद्भावप्रति ख्याल गर्न छाडेको छ । वैश्विक व्यापारले संसारलाई एउटा गाउँ बनाएको छ तर गाउँमा हिजो हुने संंस्कृतिको जगेर्ना गर्न नसक्दा हामलिे मौलिकता गुमाएका छौँ ।
मौलिक पर्व हो दशैँ । दशैँले मान्छेलाई जोड्छ, फुटाउँदैन । वर्षभरमा भएका यावत नमिठाकुराहरुलाई दशैँको आशिषले निमिट्यान्न पार्छ । दशैँले कलह र द्धेष बिर्साउँछ । टीका र जमरा लगाउँदै गर्दा त्यसले समुन्नत समाजको परिकल्पना गर्छ । सबैको भलो पनि देख्छ । दशैँ नेपालीको मौलिक पर्व हो । टीका र जमरा लगाउने प्रचलन संसारमै छैन । संसारमा नभएको यो मौलिकतालाई हामीले पर्यटनसँग जोड्न सक्छौँ,समृद्धिको अभियानको सहायक बनाउन सक्छौँ । दशैँ नेपालीको पहिचान हो भन्ने सन्देश प्रवाहित गर्दै हामी आफ्नै सुसंस्कृत परम्परामा रमाउन पनि सक्छौँ । यो नेपालीको सांस्कृतिक पर्व हो र मौलिकताको संरक्षणले आफ्नो अस्तित्व रक्षा हुन्छ भन्ने हामीले बुझ्नु पर्छ ।
मौलिकतामा विसंगतिहरु पनि मिसिएका छन् । हुने खानेको चाड बनेको छ, दशैँ । बजारको अत्यधिक मूल्यबृद्धिले आम नागरिकहरु प्रताडित बनेका छ् । राज्यकोषको दोहन गर्नेहरुले के गरे भन्नेतर्फ नजाने हो भने पनि काम गरेर खानेहरुलाई दशैं संकट बनेर आउने गर्छ । चिची, नाना र खानाको यो पर्व सबैको हुनुपर्छ । आम नेपालीको पर्व बन्नुपर्छ भन्नेतर्फ राज्यको ध्यान जान सकेको छैन । राज्य यतिबेला निरीह देखिएको छ । मूल्यबृद्धिले आकाश छुँदा पनि अनुगमनकारी निकायहरु मौन रहेका छन् । यो भन्दा दुर्भाग्यपूर्ण अवस्था केही हुनै सक्दैन । निराशाका पोकाहरु जति फुकायो, त्यति नै बढी आक्रोश उत्पन्न हुन्छ । दशैँ आक्रोश उत्पन्न गराउने पर्व होइन । दानवी प्रवृत्तिमाथि दैविक प्रवृत्तिले विजय प्राप्त गरेको खुसीयालीमा मनाइने यो पर्व सबै नेपालीको पर्व बनोस्, पर्वको नाममा विकृति र विसंगतिले प्रवेश नपाओस् भन्नेमा सचेतता अपनाउनु पनि हामी आफैको कर्तव्य हो । दशैँको मौलिकतालाई आधुनिकताले नखाओस्, दशै वास्तविक रुपले नै सांस्कृतिक पर्व बनोस् अनि आसुरी शक्तिमाथि मानवीय शक्तिले विजय प्राप्त गरोस् । दशैँ फजुल खर्च गर्ने, आडम्बर प्रदर्शन गर्ने पर्व नबनोस् । दक्षिणा धेरै दिनुपर्छ र अहम्को विजय गराउनु पर्छ भन्ने मान्यता त्याग्दै यो सांस्कृतिक पर्व मनाऔँ । ढोरपाटन परिवारकोतर्फबाट दशैँको हार्दिक मंगलमय शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->