बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चिनियाँ राष्ट्रपतिको सफल भ्रमण

चिनियाँ राष्ट्रपतिको सफल भ्रमण


  • Dhorpatan News
  • असोज २८ २०७६, मंगलबार

नेपालीहरुको लागि दशैँ खुसी बोकेर आउँछ । पारिवारिक जमघट, आत्मियता साँटासाँट र मीठो–मसिनो भोजन यो पर्वको विशेषता हो । हामीले यो वर्षको दशैँलाई बिदाई गरेका छौँ । मानिसको जीवनमा जस्तै राष्ट्रको जीवनमा पनि यो दशैँ महत्वपूर्ण र अविश्मरणीय बन्न पुग्यो । चिनियाँ राष्ट्रपति सी जिनफिङको राजकीय भ्रमण यही बेला सम्पन्न भयो । आम नेपालीहरु दशैँ मनाउँदै गर्दा सीले नेपालको भ्रमण मात्रै गरेनन्, नेपालसँगको पुरानो सम्बन्धको चर्चा गर्दै सम्बन्धलाई थप मजबुत बनाउने घोषणा पनि गरिदिए । उनले नेपाललाई भूपरिवेष्ठित हैन कि भूजडित मुलुक बनाउन सघाउने बताए । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनको भ्रमणयता नेपालमा चीनबाट उच्चस्तरीय भ्रमण हुन सकेको थिएन । छिमेकी नेपालको भ्रमण गरेर सीले उच्चस्तरीय भ्रमणको शुन्यताको अन्त्य मात्रै गरेका छैनन्, नेपाललाई रणनीतिक साझेदार बनाउँदै नेपालप्रतिको चिनियाँ चासोको पुष्टी पनि गरिदिएका छन् ।
सी भ्रमणको बेला नेपाल र चीनबीच विभिन्न सम्झौताहरु भएका छन् । ती सम्झौताहरु मुख्यतया पूर्वाधार निर्माणसँग जोडिएका छन् । केरुङ–काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययन, अन्य राजमार्गहरुको निर्माणले निश्चय पनि नेपाललाई उत्तरतर्फको यात्रा सहज बनाउने छ । यसका साथै उत्तरी नाकाहरुको सहजताले भारतसँग मात्रै निर्भर रहेको नेपाली अर्थतन्त्रलाई केही त्राण पनि दिनेछ । तर, पूर्वाधार निर्माण रातारात हुने विषय होइन । सम्भाव्यता अध्ययनले मात्रै रेल आउने पनि होइन । यो महत्वाकांक्षी योजना सम्पन्न गर्न ठूलो धनराशीको आवश्यता पर्छ । ठूला परियोजना निर्माण पैसाले मात्रै पनि सम्भव हुँदैन । त्यसको लागि निर्णय कार्यान्वयन गर्ने दृढ संकल्प पनि चाहिन्छ । सम्झौता गर्ने तर कार्यान्वयन पक्षमा उदासिनता देखाउने नेपालको पुरानो रोग हो । छिमेकी राष्ट्राध्यक्षले देखाएको सदासयतामा उदासिनता स्वीकार्य हुँदैन । त्यसो त चिनियाँ राष्ट्रपति स्वयंले पनि कुटनीतिक रुपमा नेपालीलाई काम गर्न सुझाव दिएका छन् । ‘चीनले बनाएका सबै योजनाहरु पूरा गरेरै छाडेको’ भन्ने उनको अभिव्यक्तिको आशय मात्रै बुझे पनि अब नेपालले भएका सम्झौताहरुको सिरानी हालेर सुत्ने छुट पाउने छैन ।
नेपाल र चीनबीच भएको २० बुँदै समझदारी र १४ बुँदै संयुक्त वक्तत्वमा अनुदान छ, सदासयता छ र छिमेकीको नाताले चीनको सामरिक स्वार्थको लागि नेपाली भूमि प्रयोग नहोस् भन्ने भित्री चाहना रहेको छ । चीनले नेपालबाट के चाहन्छ भन्ने कुरा बुझ्ने काम हाम्रो नेतृत्वको हो, परराष्ट्र मन्त्रालयको हो । शक्तिराष्ट्र चीन होस् वा अर्को छिमेकी भारत, परराष्ट्र नीति अनुसार नै हाम्रा सम्बन्धहरु स्थापित हुनुपर्छ । कुटनीतिमा अलिकति मात्रै सन्तुलन गुम्यो भने त्यसले ठूलो हानी पु¥याउँछ । राष्ट्रपति सीले उदारता र हार्दिकतापूर्वक दिएको सम्मानलाई जोगाउन कुटनीतिक परिपक्वता देखाउन सक्नुपर्छ । २३ वर्षपछिको चिनियाँ उच्चस्तरीय भ्रमण आफैमा महत्वपूर्ण उपलब्धि हो । दिने र लिनेभन्दा पनि सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन यो भ्रमण कोषेढुंगा सावित भएको छ । राष्ट्रपति सीको सफल भ्रमण सम्भव भएसँगै सरकारले पनि एउटा उपलब्धि हाँसिल गरेको छ । कार्यान्वयन चरणमा सरकारको परिपक्वता र क्रियाशिलता भने हेर्न बाँकी नै छ । तर, सीले नेपालीप्रति देखाएको सद्भाव, सहयोग र समर्थनले नेपालीको शीर उचो बनाएकै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->