बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सफल कप्तानलाई स्यावास् !

सफल कप्तानलाई स्यावास् !


  • Dhorpatan News
  • असोज ३० २०७६, बिहिबार

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले मंगलबार कप्तानीबाट राजीनामा दिए । नेपाली आधुनिक क्रिकेटको सफल  नेतृत्व गरेका पारसको राजीनामाले देश तरंगित भयो । सन् २००४ सालमा क्रिकेटमा डेब्यु गरेको एउटा ठिटो ब्याटिङ र बलिङमा देखाउने जादू, वाकपटुता अनि नेतृत्वदायी क्षमताका कारण नेपालीको मन–मस्तिष्कमा बसेकोमा कुनै शंका थिएन । यु–१५ को टोलीमा समावेश हुँदै पारसले नेपालको जर्सी लगाएका थिए । पछि उनी १९ वर्षमुनिको नेपाली टोलीमा परे । राष्ट्रिय टोलीमा आएपछि सन् २००९ मा उनले नेपाली टोलीको नेतृत्व गर्ने अवसर पाए । चुनौतिपूर्ण अवसरलाई उनले साँच्चिकै न्याय गरे । उनकै कप्तानीमा रहेको टोलीले डिभिजन ५ हुँदै टिमलाई टि–ट्वान्टी विश्वकपमा पु¥याए । यसका साथै नेपाली टिमले एकदिवसीय मान्यता उनकै नेतृत्वमा प्राप्त ग¥यो ।

नेपाली खेलप्रेमीको मनमा गडेका उनै पारसले राजीनामा दिँदा देश तरंगित नहुने कुरै भएन । यो तरंग अझै शान्त भएको छैन । पारसले आखिर किन राजीनामा दिए त ? ‘नेपाली क्रिकेटले राम्रो गरोस्’ भन्ने आशयले आफूले राजीनामा दिएको उनले बताएका छन् । संयोग कस्तो भने लामो समय विवादमा रहेको नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निलम्बन फुकुवा गरेकै बेला उनको राजीनामा आएको छ । पारसले कप्तानबाट राजीनामा दिए पनि क्रिकेटबाट अलग नभएको जानकारी गराएका छन् । नेपाल क्रिकेट संघ( क्यान) मा नयाँ नेतृत्व आएको बेला उनले अब सबै मिलेर नेपाली क्रिकेटलाई राम्रो गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

पारस आफ्नो कुरा स्पष्ट भन्ने स्वभावका छन् । नेपाली क्रिकेटमा देखिएको विवाद र त्यही विवादका कारण भोगेको निलम्बनको बेला  उनले त्यही चरित्र देखाए । खेलमा राजनीति नगर्न सबैलाई सुझाए । राम्रो खेलकै कारण क्यान आइसिसीको निलम्बनमा पर्दा पनि राष्ट्रिय टोलीलाई विभिन्न खेलहरुमा सहभागि हुने अवसर जुराए । एक क्याप्टेनका रुपमा उनले गरेको त्यो सबैभन्दा महत्वपूर्ण योगदान हो । यसैगरी आफूभन्दा सिनियर खेलाडीको सम्मान र सानालाई प्रोत्साहन गर्दै उनले टिमलाई एकजुट बनाए । बिग्रेको राजनीतिक वातावरण,निराशाकाबीच उनले क्रिकेटकै माध्यमबाट नेपालीहरुमा आशाको संचार गराए । नेपाली झण्डा र जर्सीकै माध्यमबाट उनले सारा नेपालीलाई खुसी दिए । कप्तानको रुपमा उनले निभाएको भूमिकाकै कारण उनी राष्ट्रिय नायक बन्न सफल बने । यो नायकत्व चीरस्मरणीय छ ।

एउटा खेलाडी सँधै एउटै लयमा हुँदैन । लय गुमाएपछि वा सही समय आएपछि खेलाडीहरुले अर्काको लागि अवसर दिनुपर्छ । यो खेल जीवनको सर्वमान्य सिद्धान्त हो । पारसको हकमा भने उनी सधैँ आफ्नो दायित्वमा सफल रहे । उनकै कप्तानीमा नेपाली क्रिकेटले अविश्वनीय फड्को मा¥यो । आफ्नो खेल जीवन आरोहमा जानु अगावै उनले राष्ट्रिय टोलीको कप्तानी छाडेर एउटा नयाँ संस्कारको सुरुवात चाहिँ गराएकै छन् । पदबाट नगलत्याइँदासम्म त्यहीँ रहिरहन खोज्ने प्रवृत्तिलाई चुनौति दिएका छन् । उनको राजीनामाको सुन्दर पक्ष यही नै हो । तर, राजनीनामा दिएपछि पनि उनको दायित्व सकिएको छैन । भर्खरै निलम्बन फुकुवा भएको नेपाली क्रिकेटलाई सही दिशामा लैजान उनको महत्वपूर्ण भूमिका रहनुपर्छ भने राष्ट्रिय टोलीमै रहेर उनले अर्को कप्तानसँग सहकार्य गर्दै नेपाली क्रिकेटलाई माथि उठाउने दायित्ववहन पनि गर्नु नै पर्ने हुन्छ । पद छाड्दैमा क्रिकेटमा कप्तान पारसको युग सकिनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->