गैरआवासीय नेपाली संघ( एनआरएन) मा कुमार पन्त विजयी भएका छन् । काठमाण्डौमा सम्पन्न नवौँ विश्वसम्मेलनमा आफ्ना प्रत्यासी कुल आचार्यलाई पराजीत गर्दै विश्वभर छरिएर रहेका नेपालीहरुको संगठनको नेतृत्वमा कुमार आएका हुन् । नेपालीका लागि नेपाली भन्ने उद्घोषका साथ सन् २००३ मा एनआरएनको स्थापना भएको थियो । विश्वभर छरिएर रहेका नेपालीहरुको सीप, श्रोत र साधनलाई राष्ट्र निर्माणमा लगाउने उदेश्यका साथ स्थापित यो संस्थाले नेपालको भौतिक तथा सामाजिक विकासमा योगदान पनि गरेको छ । विदेशमा भएका नेपालीहरुले जन्मभूमिलाई माया गर्दै गरेको योगदान सह्रानीय पनि छ । गैरआवासीय नेपालीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा नेपालको विभिन्न क्षेत्रमा लगानी पनि गरेका छन् । कम्तिमा उनीहरुले गरेको लगानीले केही मात्रामा भए पनि रोजगारीको अवसर सृजना गरेको छ । देशको अर्थव्यवस्थामा योगदान दिएको छ ।
नेपालीहरु रोजगारीको लागि विदेशिन थालेको सयौँ वर्ष भइसकेको छ । हिजो रोजगारीका लागि भारत जाने प्रचलन अहिले पनि हटेको छैन । अझै पनि कालापहाडतिर रोजगार खोज्न जानेको लर्को कम भएको छैन । विश्व फराकिलो बन्दै गर्दा नेपालीहरुले श्रम बेच्ने नयाँ गन्तव्य खोजे । उनीहरु विश्वका धेरै मुलुकमा पुग्न सफल भए । अम्बर गुरुङको नौलाख तारा उदाए भन्ने गीतमा जस्तै त्यहाँ नेपालीहरु सुखले मात्रै बसेका छैनन्, दुःख र हण्डर खाएर भए पनि मातृभूमिमा रेमिट्यान्स पठाएका छन् । अरबको खाडीदेखि अफ्रिकाको जंगलसम्म भएका नेपालीहरुले पठाएको रेमिट्यान्सले नेपालको अर्थव्यवस्था धानिएको छ । विदेशिने नेपालीहरु दुःखमा मात्रै छैनन्, उनीहरुले विश्वका विकशित देशमा समेत सम्मानजनक पद र प्रतिष्ठा पाएका छन् । व्यापार, व्यवसाय चम्काएका छन् । ती देशमा यतिबेला नेपाल सम्झने पहिलो पुस्ता मात्रै हैन, नेपालको नाम नै नसुनेको दोस्रो पुस्ता पनि तयार भएको छ । उनीहरुलाई पिता–पुर्खाको देशप्रति अपनत्व जगाउन पनि एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस मानेमा एनआरएनको भूमिका महत्वपूर्ण रहेको छ । अझ, विदेशमा सिकेको सीप स्वदेशमा हस्तान्तरण गर्दै नवनेपाल निर्माणमा उनीहरुको साथ चाहिएको छ । त्यसैले नेपाल सरकारले एनआरएनका गतिविधिहरुलाई सघाउँदै पनि आएको छ । विश्वभरका नेपालीहरु राजधानीमा भेला हुँदा खुला मनले स्वागत गरिएको छ ।
तर, पछिल्लो समयमा एनआरएनलाई पनि नेपाली रोगले गाँज्न थालेको छ । राजनीतिक रुपले एनआएन पनि विभक्त भएको पाइएको छ । विदेशमा बस्ने सुकिला मुकिला नेपालीहरुलाई राजनीतिक दलहरुले सजिलैसँग आफ्नो कार्यकर्ता बनाएको भर्खरै सम्पन्न विश्व सम्मेलनमा प्रष्टैसँग देखिएको छ । भर्खरै सम्पन्न एनआरएनको चुनाव पनि राजनीतिक दलको चुनावजस्तो देखिन पुगेको छ । यो राम्रो संकेत होइन । देश छाडे पनि नेपालीहरुले बानी छाड्न नसकेको प्रमाणको रुपमा एनआरएनहरुले राजधानीमा देखाएको व्यवहारलाई लिइएको छ । नेपाल आउनासाथ कानून मान्न नपर्ने, अमूक दलको कार्यकर्ता बन्नैपर्ने रोगबाट एनआरएनहरु मुक्त भएनन् भने उनीहरुप्रतिको भरोसा गुम्ने निश्चित छ । त्यसैले गैरआवासीय नेपालीहरुले आफूलाई अमूक राजनीतिक दलको कार्यकर्ता नभएर नेपाली बनाउने प्रयत्न गर्नुपरेको छ । चुनावमा जे भयो, त्यसलाई बिर्सेर मातृभूमिको सेवासँगै विशुद्ध गैरराजनीतिक संगठन बनाउन अहिलेको नेतृत्वले पहल कदमी गर्नुपर्ने देखिएको छ । नेपालको विकृत राजनीतिले कटुता बढाउने बाहेक केही गर्दैन । त्यसैले अहिले चुनाव जितेका कुमार पन्तसहितको टोलीले एनआरएनको भावनामा शुद्धिकरणको अभियानलाई प्राथमिकता दिनुपर्ने भएको छ । अर्कोतर्फ, चुनावी कटुता बिर्सेर स्थापनाकालमा लिइएको उदेश्य र आफूले गरेका प्रतिवद्धता कार्यान्वयनमा पनि कुमारको टिमले ध्यान दिनैपर्ने देखिएको छ ।

