बागलुङ, ६ कात्तिक -धौलागिरी अञ्चलमा पहिलोपटक पचास जनाभन्दा धेरै बिषेशज्ञ चिकित्सक सहितको बृहत स्वास्थ्य शिविर बुधबार देखिसुरु भएको छ । अस्पताल परिसरमा बुधबार बिहानदेखि नै सेवाग्राहीको भीड लागेको छभने शिविरमा आवद्ध स्वास्थ्यकर्मी एवं स्वयंसेवक तथा सेविकाहरुलाई भ्याईनभ्याई भएको छ । 
शिविरमा ताईवानी, पोखरास्थित गण्डकी अस्पताल, हिमालय आँखा अस्पताल र धौलागिरी अस्पताल लगायतका अस्पतालका चिकित्सकहरुले सेवा प्रदान गरिरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए । शर्माका अनुसार, शिविरमा ताईवानबाट ३० जना, पोखरास्थित गण्डकी अस्पतालबाट १७ जना, हिमालय आँखा अस्पताल पोखराबाट २ जना र धौलागिरी अस्पतालमा कार्यरत चिकित्सकहरुबाट सेवाग्राहीहरुको चेकजाँच तथा उपचार भैरहेको छ । शिविरको पहिलो दिन मध्यान्हसम्म शिविरमा १ हजार ४ सय जनाको स्वास्थ्य जाँच भैसकेको छ ।
रोटरी ईन्टरनेशल डिस्ट्रिक ३५२३ ताईवान तथा रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपालको सहयोग तथा रोटरी क्लब अफ बागलुङ र धौलागिरी अस्पताल बागलुङको संयुक्त आयोजनामा शिविर चलेको हो । निशुल्क बृहत स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, पेट, आँखा, स्त्रीरोग, पारिवारिक औषधी, चिनीयाँ (ताईवान) औषधी, बाल चिकित्सा, दन्त, हृदयरोग नशा, हाडजोर्नी, फोक्सो सम्वन्धी सेवा दिईने आयोजकले जानकारी दिएका छन् । शिविर बिहिबारसम्म चल्ने बतााईएको छ ।






