बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संरक्षण अभियान र ध्वाँसे चितुवा

संरक्षण अभियान र ध्वाँसे चितुवा


  • Dhorpatan News
  • कार्तिक ८ २०७६, शुक्रबार

युरोपियन आउटडोर कञ्जरभेसनले एसोसियसनबाट नेपालको ध्वाँसे चितुवा संरक्षणसम्बन्धि परियोजना पुरस्कृत भएको छ । पुरस्कारबापत ३० हजार युरो पनि यो परियोजनाले प्राप्त गरेको छ । विश्वभरबाट विभिन्न जंगली जनावर, वातावरण संरक्षणसम्बन्धि प्रस्तावना आह्वान भएकोमा अन्य ४ वटालाई पछि पार्दै ध्वाँसे चितुवा परियोजना उत्कृष्टमा दरिएको हो । प्रकृतिका साथी नामक संस्थाले यो प्रस्तावना बनाएको थियो । प्रस्तावना उत्कृष्ट ५ मा परेसँगैको अनलाइन भोटिङमा धेरै नेपालीले यो परियोजनाको पक्षमा मत जाहेर गरे । खसेको कुलमध्ये ४४ प्रतिशत मत प्राप्त गर्दै परियोजना उत्कृष्ट बनेको हो । परियोजनाले उत्कृष्टतासँगै प्राप्त गरेको रकम कास्कीको मादी गाउँपालिका क्षेत्रमा ध्वाँसे चितुवा संरक्षण अभियानमा खर्च गर्ने संस्थाले जनाएको छ । सिक्लेस र ताङतिङ क्षेत्रमा ध्वाँसे चितुवा पाइन्छ । संरक्षणकर्मीहरुले सो क्षेत्रमा चितुवा रहेको तथ्य पत्ता लगाएका थिए । मानवीय अतिक्रमणका कारण लोपोन्मुख अवस्थामा रहेको चितुवा जति सुन्दर छ, त्यति नै लजालु पनि हुन्छ । रुखमा बस्ने र बाँदरको सिकार गर्ने बिरोलो प्रजातिको चितुवा ३७ सय मिटरसम्मको उचाईमा पाइन्छ ।
नेपालमा १२ प्रजातिका बिरालो पाइन्छ । हेर्दा ध्वाँसे चितुवा पनि बिरालोजस्तै देखिन्छ । बाघ नदेखे बिरालोको मुख हेर्नू भन्ने उखान यो चितुवासँग ठ्याक्कै मेल खान्छ । रुखमा बसेर बाँदरको सिकार गर्ने हुनाले यसलाई ‘किसानको साथी’ पनि भनिन्छ । किसानको साथी भनिए पनि बाघसँगको मान्छेको दूरी यो चितुवासँग पनि लागु हुन्छ । मान्छेकै कारण यसको अस्तित्व संकटमा छ । मान्छेले पाँसोमा पार्दै यसका सुन्दर छाला तथा अंगहरुको अवैध बिक्री गर्नु, बन बिनास मानवीय अतिक्रमणका कारण आहारा र बासस्थानको अभाव हुनु र नखोजिएको तर जलवायु परिवर्तनले पनि यसको अस्तित्व संकटमा परेको हो । संकटग्रस्त यो जीवलाई बचाउन प्रकृतिका साथी नामक संस्थाले जुन पहल गरेको छ, यो सह्रानीय छ । अब प्राप्त रकमलाई सही सदुपयोग गर्दै आफ्नो अभियानलाई प्रमाणित गर्ने दायित्व र चुनौती पनि यही संस्थामाथि थपिएको छ । मानव र वन्यजन्तुको द्धन्द्ध कम गर्नेखालका अभियान चलाउँदै चितुवा र अन्य जीवको संरक्षणको जुन उदेश्य लिइएको छ, त्यसले सफलता पाउनुपर्छ ।
नेपालमा केही समययता चलेका संरक्षण अभियानहरु सफल देखिएका छन् । नेपालले वन संरक्षणमा पछिल्लो समय राम्रै सफलता हाँसिल गरेको छ । सामुदायिक वनहरु हराभरा देखिन थालेका छन् । भला, त्यहाँबाट अनियमितताका खबरहरु नआएका चाहिँ होइनन् । वन बढेपछि जंगली जनावरहरु पनि बढेका छन् । जंगली जनावर मार्नु हुँदैन भन्ने सचेतता पनि बढ्दै गएको छ । बाघ संरक्षणमा त नेपालले अद्भूत सफलता हाँसिल गरेको छ । पाटेबाघको संख्या दोब्बर बनाएर नेपालले पेश गरेको नमूना अन्य जीवजन्तुको हकमा पनि लागु गराउनुपर्छ । वन भनेको मान्छेको लागि मात्रै होइन, जीवजन्तुको लागि पनि हो भन्ने बनाउनु परेको छ । जलवायु परिवर्तनले पानीका मुहानहरु सुक्दै जानु, मानवीय अतिक्रमणले जंगल विनास हुनु र चोरी सिकारीको समस्या समाधानमा थोरै मात्र ध्यान दिने हो भने पनि संरक्षणमा ठूलो सफलता हाँसिल हुन्छ । सुन्दर जीवहरुको बाँच्न पाउने अधिकार रक्षा गर्नु त छँदैछ, भावी पुस्तालाई यी जनावर हेर्ने अवसर पनि हामीले नै दिलाउनु छ । त्यसैले संरक्षणको अभियान अपरिहार्य छ । वन्यजन्तुसँगै चरा–चुरुङ्गी र जैविक विविधता संरक्षणको क्षेत्रमा पनि अब योजनावद्ध अभियान चलाउने बेला आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->