बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तिहार, नेपाल संवत् र छठको शुभकामना

तिहार, नेपाल संवत् र छठको शुभकामना


  • सम्पादकीय (१० कात्तिक २०७६)
  • कार्तिक ११ २०७६, सोमबार

उज्यालो पर्व हो, तिहार । दाजुभाई र दिदीबहिनीको आत्मिय सम्बन्ध पनि यो पर्वसँग जोडिएको छ । आफ्ना दाजुभाईको दीर्घजीवनको कामना गर्दै मनाइने यो पर्वको धार्मिक र सांस्कृतिक महत्व जति छ, सामाजिक महत्व पनि उत्तिकै छ । दशैँपछिको ठूला् चाडको व्यापािरक महत्व पनि उत्तिकै छ । आयातमा निर्भर नेपालमा चाडपर्वको मेसोमा संसारका सबैजसो देशबाट सामानहरु आयात भइरहेको छ । तिहारमा चाहिने फूल पनि आयातमा निर्भर रहेको सरकारी प्रतिवेदनले नै औंल्याएको विषय हो । दशैँ र तिहारको छेकोमा भित्रिने रेमिट्यान्सले नै यहाँको अर्थतत्रलाई भरथेग गरेको छ । भन्न पर्दैन, नेपाल गरिबीको चरम अवस्था छ । देशमा ठूला–ठूला घोषणा भएका छन् तर त्यो व्यवहारमा लागु हुन सकेको छैन । सरकारले देशको वास्तविक अवस्था नबुझेर हो कि,समस्याको चाँङ बढ्दै गर्दा पनि मौनता साँधेको अवस्था छ । यो गम्भीर विषय हो । मान्छेका चाहना र इच्छाहरु प्रविधिले संसारलाई एउटा गाउँ बनाएको छ तर गाउँमा हिजो हुने संंस्कृतिको जगेर्ना गर्न नसक्दा हामीले मौलिकता गुमाएका छौँ ।
मौलिक पर्व हो, तिहार । तिहार उज्यालो लिएर आउँछ । लक्ष्मीको आराधना गरिने यो पर्वले सम्पत्तिको महत्व पनि बुझाउँछ । देउसी भैलो यो पर्वसँग जोडिएको अर्को महत्वपूर्ण पाटो हो । देउसी भैलो खेल्ने संस्कृति संसारमै छैन । दीपावली भारतमा पनि मनाइन्छ तर देउसी भैलो नेपालीको विशेषता हो ।संसारमा नभएको यो मौलिकतालाई हामीले पर्यटनसँग जोड्न सक्छौँ,समृद्धिको अभियानको सहायक बनाउन सक्छौँ । तिहार नेपालीको पहिचान हो भन्ने सन्देश प्रवाहित गर्दै हामी आफ्नै सुसंस्कृत परम्परामा रमाउन पनि सक्छौँ । यो नेपालीको सांस्कृतिक पर्व हो र मौलिकताको संरक्षणले आफ्नो अस्तित्व रक्षा हुन्छ भन्ने हामीले बुझ्नु पर्छ ।
मौलिकतामा विसंगतिहरु पनि मिसिएका छन् । चाडबाडको बेला फजुल खर्च गर्ने, जुवा–तास खेल्ने प्रवृत्ति पनि देखिएको छ । यस्ता प्रवृत्तिहरुले चाडबाडको मौलिकतामाथि नै प्रहार गर्छन् । जुवा–तासलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिँदैन । घरखेत नै जानेगरि खेलिने जुवालाई निरुत्साहित गर्नुपर्छ । देउसी भैलोजस्तो मौलिक संस्कृतिलाई जोगाउनु पर्छ । गच्छे अनुसारको दान दिने परम्परालाई बाध्यकारी बनाउन प्रवृत्तिको पनि अन्त्य हुनुपर्छ । चाडबाड दशा बनेर आउनु हुँदैन । फजुल खर्चलाई कम गर्दै आत्मियता साँट्ने पर्वको रुपमा नै तिहारलाई रहन दिनुपर्छ ।
अर्कोतर्फ चाडबाडको छेकोमा भएको अत्यधिक मूल्यबृद्धिले आम नागरिकहरु प्रताडित बनेका छन् । राज्यकोषको दोहन गर्नेहरुले के गरे भन्नेतर्फ नजाने हो भने पनि काम गरेर खानेहरुलाई चाडबाड संकट बनेर आउने गर्छ । उज्यालोको यो पर्व सबैको हुनुपर्छ । आम नेपालीको पर्व बन्नुपर्छ भन्नेतर्फ राज्यको ध्यान जान सकेको छैन । राज्य यतिबेला निरीह देखिएको छ । मूल्यबृद्धिले आकाश छुँदा पनि अनुगमनकारी निकायहरु मौन रहेका छन् । यो भन्दा दुर्भाग्यपूर्ण अवस्था केही हुनै सक्दैन । निराशाका पोकाहरु जति फुकायो, त्यति नै बढी आक्रोश उत्पन्न हुन्छ । तिहार आक्रोश उत्पन्न गराउने पर्व होइन । उज्यालोको यो पर्व सबै नेपालीको पर्व बनोस्, पर्वको नाममा विकृति र विसंगतिले प्रवेश नपाओस् भन्नेमा सचेतता अपनाउनु पनि हामी आफैको कर्तव्य हो । तिहारको मौलिकतालाई आधुनिकताले नखाओस्, तिहार वास्तविक रुपले नै सांस्कृतिक पर्व बनोस् । उज्यालोको यो पर्वसँगै आउने नेपाल संवत्, र छठ मंगलमय बनोस् । ढोरपाटन परिवारकोतर्फबाट तिहार, नेपाल संवत् र छठको हार्दिक मंगलमय शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->