बारीका पाटाका ढिकहरुमा हरिया लामा लामा बाँबियोको खर जुन खर वर्षा भरि घास नकाटी संरक्षण गरि राखिएको हुन्थ्यो । बारीका छेउ छेउमा फुलेका राता, पहेला, हजारी, सयपत्री, मखमली र गुरधौली फुलहरु बनपाखामा फुलेका ठुला ठुला चिउरीका रुखहरु साथै वनमा फुलेका वुकि फुल पाती, भोकटे, लालुपाते आदीको झिली मिली न जाडो न गर्मी आन्नदको मौसम भुटेका मकै खादै जंगलमा घास दाउरा काट्न जाने मानिसहरुले गाउने तिहारका गितहरु तोरी पेल्न तोरीको बिस्कुन चिउरीको घिउ बनाउन चिउरी सुकाएर ढिकीमा कुटेर काठको कोलमा पेल्ने आदी कार्यले दसै पछिको अर्को महान पर्व दिदि भाई बिचको मित्रताको पर्व तिहार आगमनको संकेत गथ्र्यो ।
यमपंचकको पहिलो दिन आमा दिदिले चिउरीको पातको टपरीमा वरीपरी फुलले सजाएर बिचमा चिउरीकै घिउको दियो बालेर खोला पोखरीमा सेलाउदा बगाउदा रमाईलो लाग्थ्यो । जुन दिनबाट तिहार सुरु हुन्थ्यो । हाम्रोतिर अलि फरक चलन थियो । औसिको दिनमा गोर्वधन र गाईपुजा गरिन्थ्यो । जुन पुजा गर्न एउटा टोलका मानिसहरु जम्मा भएर बारीको छेउमा भएको हरियो बाँबियो खर काटिन्थ्यो ।
कसैले तोरण बाट्ने कसैले गाईको गोवर जम्मा गर्ने त्यसलाई सिर्गार्ने फुलले सजाउने तोरणलाई फुलहरुले सजाउने बिचमा रोटी बानेर राख्ने कुचो बनायर राख्ने दिदि आमा बैनीहरुले रोटी पकाउने सबै जना जम्मा भएपछि तोरण गोर्वधन र गाईको पुजा गर्ने गाईलाई नुन र रोटी मिसायर नुन खुवाउने । कसैकसैले गाईलाई नुन खुवाएर धान खेतमा छोड्न चलन पनी थियो । त्यस पछिको महत्वपुर्ण कार्य बाँबियो तोरण कस्ले कति लामो बनाउने भन्ने हुन्थ्यो कसैले वारी डाडा देखि पारी डाडा सम्म कसैले एउटा खोला देखी अर्को खोला सम्म विभिन्न फुलहरुले सजाएर तोरणलाई बाधिन्थ्यो । तेही सांझ देखी केटाकेटीहरु देउसी भैलो र युवा वा पाका मानिसहरु भैलो मारुनी नाच सुरु हुन्थ्यो ।भैलोमा मारुनी ठिगारे र भट्याउनेको आ आफ्नै भुमिका हुन्थ्यो ।
लक्ष्मी पुजाको दिन साँझ घरमा भएका पुराना नयाँ पैसा जम्मा गरि पुजा गरिन्थ्यो । सबैको घरमा चिउरीको घिउ प्रयोग गरी घरको चारै तिर झिली मिली बत्ती बालिन्थ्यो । मादल डम्फु र मजुरा बजाउदै देउसी र भैलो खेल्नेहरुको चहलपहल हुन्थ्यो । टाढा टाढा बाट दिदी बैनी आई सकेका हुन्थे । सबै घरमा रोटी पकाएको बास्नाले पेटै अघाउथ्यो ।
टिकाको दिन दिदी बैनीले सयपत्री मखमली र हजारीफुल टिपेर माला उनेर घर र तुलसीको मठमा तेल बेसार र चामलको पिठोको बसुधरा राखेर घरको सघारमा ओखरलाई एकै पटकमा फोर्दै मेरा भाईका सबै रोग ग्रह र शत्रुहरु यसै गरी एकै पटकमा नष्ट होउन भन्दै ओखर फोरेर घरको धुरी नगाउनु हुन्थ्यो। दाजु भाईलाई वरीपरी तोरीको तेलले घेरा लगाएर वर पिपल आँप दुवो फुलहरुले सजाएका कलश स्थापना गरी बत्ती बाली निधारमा तीन वा एक प्राय तीन धर्का सप्तरङ्ी टिका लगएर गलामा माला टाउकामा पगरी र टोपी लगाई दिनु हुन्थ्यो। ओखरको घाजी खान दिई चिउरीको पातको टपरीमा बिभिन्न प्रकारका रोटी खान दिनुु हुन्थ्यो र दाजु भाइले दिदी बैनीलाइ दक्षिणा दिने गरिन्थ्यो। यस पछि गाउका साथी भाई जम्मा भई देउसी भैलो खेलेर तिहार मनाइन्थयो ।
तर आजभोली मखमली सयपत्री र हजारी फुलको ठाँउ पलास्टिकले लियो गाउका बाँबियो हुने ठाँउ वनमाराले खायो देउसी भैलो रेकडिङ्ले खायो वनको बुकी फुल हरायो चिउरीको पातको ठाउ स्टीलको थालले लियो भैलो र मारुनी नाच एकादेशको कथा हुन थाल्यो जुवा र तास खोर्रखोरे महिनौ देखि डरलाग्दो रुपमा चल्न थाल्यो घरमा रोटी पकाउनुको साटो बजारमा बनेका परिकारले ठाउँ पायो पुज्ने गाई पाईन छाडे चिउरीको घिउमा बल्ने बत्तीको ठतउ विद्युतिय सामानले लियो । अन्त्यमा तिहारको मौलिकपन आधुनिकताले खायौ ।





