कुनै दिन गफै-गफमा तिमी भन्थ्यौ ;
`हनि´! संबन्ध `सम्झौता´ होइन
यो त चुइंगम जस्तै हो
गुलियो अाउन छोडेपछि किन चपाइरहने ?
कुनै दिन ब्रेक-अप भयो भने
भब्य पार्टि गर्नुपर्छ अनि
हाँसि-हाँसि छुट्टिनु पर्छ
बिग्रेको चित्र सच्चाइरहन खोजे भद्दा बनिदिन्छ
सजिलो हुन्छ
बरु
नयाँ क्यानभासमा
अर्को चित्र कोर्न ।
तिमी `लास्ट हग´ भन्दै
गम्लङ्ग अंगालेर
यान्त्रिक शैलीमा अोठमा चुमेर `बाइ´भन्दै
ङिच्च हाँस्दै गएपछि
मेरो `काउन्टडाउन´ शुरू भयो
बिर्सनुपर्ने समय -सिमाको ।
कोठाको भित्ताको तिम्रो फोटो
उप्काएर फाले
फेसबुक वालको हाम्रो युगल `सेल्फी´
`डिलिट´ हाने
तिम्रो नामको देब्रे छातिको ट्याटु पनि
छालै खुर्काएर ताछि-ताछि फालें
`प्रोफाइल स्टाटस´मा
`सिंगल´ भनेर सच्चाईदिएँ
साथिहरुले सोध्दा, तिम्रो नामको अगाडि
`एक्स´झुन्डाइदिएँ
तर अाँखा भित्रको तस्बिर
मन भित्रको तिमि बसेको ताम्दानि
माफ गर प्रिया
सकिन मेट्न, फिटिक्कै सकिन ।
तिमिलाइ अनफ्रेन्ड गर्दैमा
मनका नामहरु मेटिने होइन रै´छ
`सेभ्ड कन्ट्याक्ट लिस्ट´ बाट हटाउँदैमा
कण्ठस्थ तिम्रो नम्बर नभुलिँदो रै`छ
भेट्न छोड्दैमा
हरेक साँझले सम्झनाहरु छोडेर नअाउँदो रहेछ
कति सजिलै भन्यौ तिमी
मानौ अाफ्नै छायाँ छलेर भाग्न सकिन्छ
यादहरु कहाँ छोडिन्छन र सर्पले काँचुली छोडे जस्तै?
प्रश्न यहि मात्रै छ तिमिलाइ
के चपक्क अर्को हात समाउँदैमा
लपक्क टाँसिएका हाम्रा स्पर्षका स्मृतिहरु हराउछन् र?
के सपक्कै मायाँको नयाँ पछ्यौरी अोड्दैमा
झपक्कै लहरिएका मनका ज्योतीहरु बिलाउँछन् र?
गाह्रो त यसले पो पार्यो प्रिया!
सबै मान्छेले उसै गरि सास फेर्दा रहेछन्
सबै मान्छेले उसै गरी छुँदा रहेछन्
मुटुको गति र धड्किने छाति एउटै हुँदो रहेछ
रगतको तातो र शरिरको गातो एउटै हुँदो रहेछ
अनि जसले छोए पनि तिमिले छोए जस्तै लाग्ने
जस्ले हेरे पनि तिमिले हेरे जस्तै लाग्ने
जो सुसाए पनि तिमिले सास फेरे जस्तै लाग्ने
तिमी नै भन अब
तिम्रो याद बढ्छ कि घट्छ होला?
र अाज म गिलास भरि वाइन भरेर
एउटै प्रश्न दोहोराइरहेछु अाफैसंग
श्रीमतीलाइ भेटेर `ह्याप्पि म्यारिज एन्निभर्सरी´ भनुँ
या
तिमीलाइ भेटेर
`ह्याप्पि ब्रेकअप एन्निभर्सरी´ भनूँ ?
(परंपराको धनी हाम्रो मौलिक संस्कृति भित्र एउटा यस्तो संस्कृतिको भाइरस प्रवेश गरिरहेको छ जुन नचाहँदा नचाहँदै अब एउटा पाटो भैसकेको छ र नयाँ पुस्ता यसबाट दिनप्रतिदिन संक्रमित हुँदैछन् त्यो भाइरसको नाम हो `ब्रेक-अप´ । नयाँ पुस्ता जस्ले आफुलाई हरेक क्षेत्रमा स्मार्ट बनाउन उद्देलित छन् तर जति सजिलै संग सम्बन्ध बनाउँछन् त्यति नै गार्हो छ सम्बन्ध टिकाउन अनि निभाउन । अन्तत: त्यहि भाइरसको सिकार हुन्छन् अनि कमजोर बनाउँछन अाफ्नो `इम्यून सिस्टम´ । भारि पर्छ `ब्रेक-अप – रिकभरी´ । त्यसै सन्दर्भमा यो कबिता लेखें । # कवितामा अँग्रेजी सब्दको प्रचुर प्रयोग भएको छ माफ गर्नु होला । यो कबिता त्यहि पुस्ताको लागि हो जस्ले नेपाली भाषालाइ यसरी नै ६०:४० मा प्रयोग गर्न रुचाउँछन् । )
कलंकी , काठमाडौ ।





