बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सागको लाज छोप्ने चटारो

सागको लाज छोप्ने चटारो


  • Dhorpatan News
  • कार्तिक १७ २०७६, आइतबार

नेपाली उखानै छ जब राती तब बुढी ताती । चारवर्षअघि दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) गर्ने भन्दै नेपालले भारतको सिलोङबाट झण्डा बोकेर फर्किएको थियो । झण्डै चार वर्ष वित्न लाग्यो । तर पुर्वाधारमा अझै तयार हुन सकेको छैन् । खेलाडीलाई पनि साग हुन्छ र भन्ने मनमा चिसो पसेको छ । यद्यपी नियमित बन्द प्रशिक्षणमा भने जुटिरहेका छन् ।
पटक पटक मिति सार्दै अन्तिम पटक आगामी मंसिर १५ देखि २४ गतेसम्म पोखरा र काठमाडौंमा साग गेम्स आयोजना गर्ने निर्णय सरकारले गरेको छ । सरकारले गरेको निर्णयसँगै खेलकुद पुर्वाधारको लागि आवश्यक तयारी भने चारवर्षसम्म प्राय शून्यमै रह्यो । अहिले मिति नजिकिदैं जादाँ हतार हुन थालेको छ । हतारको काम लतार भने झैं धम्मरधुस काम गरिएको छ । कामको दीर्घकालिनता हुन्छ या हुन्न त्यसप्रति चासो, चिन्ता र ध्यान छैन् केवल सागलाई लक्षित गर्दै बाहिरी बोक्रो सजाउने काम भने भटाभट भईरहेको छ ।
पोखरामा ९ खेल आयोजना गर्ने जिम्मेवारी छ । खेलाडीलाई खेल सामाग्रीको अभाव छ । तर साजसज्जामा मात्रै विशेष ध्यान गएको छ । रंगरोगनदेखि गाडी पार्किङको चिन्ताले खेलकुद पदाधिकारीलाई सताएको छ । खेलाडीको सेवा र सुविधा मात्रै नभई पुर्वाधार र खेल सामाग्री छ कि छैन् भन्ने हेक्का न त खेलुकदसँग सम्बन्धीत पदाधिकारीको ध्यान गएको छ न त सम्बन्धीत संघको नै । म्याट नहुदाँ ह्याण्डबलका खेलाडी घाईते बन्न पुगे । घाईते खेलाडीले केही दिन विश्राम गरेपछि थोत्रो भलिबलको म्याट राखेर प्रशिक्षण लिए । खेलाडीलाई बन्द प्रशिक्षणमा मात्रै राखेर उपलब्ध आउँछ भन्ने मुर्खता सिवाय अरु केही हुदैन् । खेलाडीको स्वास्थ्यप्रति समेत सम्वदेशिल बन्न जरुरी छ ।
९ खेलको लागि कुनैपनि पुर्वाधार तयार छैनन् । पुर्वाधार निर्माणकै संघारमा छन् । बजेट आईपुगेको छैन् । बजेट नआउँदा इन्जिनियरले बनाएको लागत इष्टिमेट अनुसार काम गरिएको छ । त्यसले पनि नीतिगत भ्रष्टाचार हुने सम्भावनालाई आँकलन गरिएको छ । पुर्वाधारसँगै गेट र छानो रंगरोगन, पार्किङ, ग्रिनरीको योजनामा ध्यान गएको छ । ध्यान जानु स्वभाविकै पनि हो । तर बजेट उपलब्ध गराई कामको गुणस्तरीयताप्रति सचेत बन्नुपर्ने बेलामा बजेटकै अन्यौलमा रुमलिनुपर्ने बाध्यता छ । पुर्वाधार लागि पोखरा महानगरपालिकाले पनि गम्भीरता देखाउन सकेको छैन् । पोखरालाई स्पोर्टस हब सिटीको रुपमा विकास गर्ने नारालाई यथार्थ र व्यवहारमा उतार्नुपर्ने चुनौतिप्रति महानगरपालिका पनि उदासिन छ ।
महिला फुटबलको लागि मैदान, र्आचरीको लागि प्रशिक्षण र प्रतियोगितास्थल पूर्णरुपमा तयार भएका छैनन् । क्रिकेटको लागि मैदानको काम ठप्पै प्राय छ । विच भलिबलको लागि माटो भरेर सम्याउने काम गरिएको छ । भारोत्तोलन भने पार्टी प्यालेसमा आयोजना गर्ने तयारी छ । त्यसको लागि पुर्वाधार अझै तयार गरिएको छैन् । ह्याण्डबलको लागि म्याट छैन् । ट्रायथोलनको लागि चेन्जिङ र शौचालय अभाव छ । प्याराग्लाईडिङ अनिश्चित छ । अभावमै अभावको बीचमा साग गर्ने सुरसारमा पोखरेली छन् । पोखरा, गण्डकी प्रदेशसँगै देशकै प्रतिष्ठासँग जोडिएको सागलाई ख्यालख्यालैमा आयोजना हुन्छ भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->