नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डाक्टर भगवान कोइराला नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले भगवानलाई काउन्सिलको यो जिम्मेवारी दिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । वरिष्ठ मुटुरोग विशेषज्ञ भगवानले दोस्रो नम्बरमा रहेका धर्मकान्त बास्तोला र र तेस्रो नम्बरमा रहेका चन्द्रमणि पौडेललाई उछिन्दै उनी अध्यक्ष भएका हुन् । भगवानले गंगालाल अस्पतालाई मुटु अस्पताल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनले नेपालमा बाल अस्पताल खोल्ने योजना पनि अघि सारेका छन् ।
मेडिकल कलेजहरुले मनोमानी शुल्क असुृल्ने प्रकरण निरुपण नभएकै बेला भगवानको नियुक्ती भएको हो । भगवान तुलनात्मक रुपमा असल डाक्टरको रुपमा नै चिनिन्छन् । मेडिकल काउन्सिलको अध्यक्ष भएपछि मेडिकल शिक्षाम देखिएको विकृति अन्त्यको दायित्व उनकै काँधमा आएको छ । समकक्षी डाक्टर गोविन्द केसीले उठाउँदै आएका मेडिकल सुधारका मागहरु संवोधन गर्ने थलोमा पनि उनी नै पुगेका छन् । यस मानेमा अब भगवानको वास्तविक परीक्षा बल्ल सुरु भएको छ । भगवानले चाहे भने उनी स्वंयले देखेको र भोगेको मेडिकल क्षेत्रको विकृति अन्त्य गर्न सक्छन् । तर, यसको लागि दृढ इच्छाशक्ति र शक्तिकेन्द्रहरुको दवाव थेग्न सक्ने आँट भने चाहिन्छ । नेपालको मेडिकल शिक्षा अहिले माफियाहरुको हातमा गएको छ । विभिन्न कलेजमा पढ्दै आएका विद्यार्थीहरुले आन्दोलन गर्दा पनि त्यहाँको विकृति अन्त्य हुन सकेको छैन । गरीबका छोराछोरीहरुले चिकित्साशास्त्र पढ्ने ढोका बन्द गरिएको छ । नागरिक समाज र डाक्टरहरुबाटै विरोध हुँदा पनि राजनीतिक संरक्षणमा मेडिकल माफियाहरुले खुलेआम रकम असुलेका छन् । पटक–पटक अनसन बस्दा पनि गोविन्द केसीको माग राजनीतिक दलहरुले संवोधन गर्न आलटाल गर्दै आएका छन् । उनीहरु मेडिकल माफियाकै चंगुलमा फसेका छन् । चिकित्सा शास्त्रजस्तो संवेदनशील क्षेत्र माफियाहरुलाई सुम्पेर नेताहरु उनीहरुकै पैसामा रमाएका छन् । राजनीतिक नेतृत्वकै संरक्षणमा भएको यो विकृति रोक्न सकिएन भने शिक्षा माफियाको हातमा त जान्छ नै राजनीतिक दलहरु झन भ्रष्ट हुँदै जान्छ । जनताले शिक्षा र स्वास्थ्यजस्तो संवैधानिक अधिकारबाट वञ्चित हुने अवस्था आउँछ ।
डाक्टर भगवानले यी यावत् समस्या बुझेका छन् । राजनीतिक नेतृत्वबाटै नियुक्ती पाएकाले भगवानले त्यो हिम्मत देखाउँछन् कि देखाउँदैनन् त्यो हेर्न बाँकी छ । तर, भगवानको लागि अहिलेको नियुक्ती अवसर बनेर आएको छ । उनले आफूले देखेका र भोगेका समस्या समासधानमा थोरै मात्र ध्यान दिए भने नेपालको चिकित्सा क्षेत्र सुधार हुने अपेक्षा गर्न सकिन्छ । यसको लागि भगवानले थोरै भए पनि पेशागत दक्षतासँगै हिम्मत पनि देखाउनुपर्छ । राजनीतिक नेतृत्वलाई चिकित्सा क्षेत्रका समस्याहरुबारे बुझाउन सक्नुपर्छ । कम्तिमा यो अर्को पुस्ताको लागि भए पनि यो क्षेत्रको सुधार हुनुपर्छ भन्ने कुरा बुझाउन सक्नुपर्छ । उनले नैतिकता मात्रै देखाइदिए पुग्छ । आफ्नो क्षेत्रका उम्दा व्यक्ति काउन्सिलको अध्यक्ष हुँदा पनि सुधारको अनुभूति भएन भने चाहिँ दुर्भाग्य नै हुन्छ । अत ःआफूलाई दिइएको दायित्वमा भगवान खरो उत्रनुपर्छ । उनको वास्तविक परीक्षा अब सुरु हुँदैछ । जनताले चीरकालसम्म सम्झनालायकको काम गर्ने अवसर उनले हातबाट खेर फाल्नु हुँदैन ।

