प्रतिकूल स्वास्थ्यका बीच पनि प्रधामन्त्री केपी शर्मा ओलीको लोभलाग्दो सक्रियता देखिएको छ । अध्यात्मवादले इच्छाशक्तिद्धारा आफूमाथि विजय हाँसिल गर्न सक्नुलाई महानता मान्छ । प्रधानमन्त्रीले समृद्धिको कल्पना गरेका छन्, त्यो कल्पनालाई यथार्थमा परिणत गर्ने उत्कष्ट अभिलाषाले प्रधानमन्त्री निर्देशित भएको बुझ्न कठिन छैन । त्यसैले स्वास्थ्यबारे चलेका अनेकौँ हल्ला र अपवाहका बीच पनि उनी निर्धक्क देखिन्छन् । आइतबार मात्रै पनि उनले त्यस्तै सक्रियता देखाए । चिकित्सकहरुले आराम गर्न सुझाए पनि उनी रोकिएनन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक डाके । मन्त्रिपरिषदको बैठकबाट केही दीर्घकालीन असर गर्ने निर्णयहरु गराए । भला, प्रदेश प्रमुखहरुलाई बिदाई गर्ने मन्त्रिपरिषदको निर्णय विवादरहीत हुन सकेन । प्रधानमन्त्रीबाट यसअघि पनि आफूसँग भएको थोरै समय देश र जनताको हितमा खर्चने अभिव्यक्ति सार्वजनिक भएकै हो । सुन्दा नमीठो लागे पनि प्रधानमन्त्रीको सो अभिव्यक्ति अन्तरआत्माकै आवाज थियो । उनी आफ्नो अन्तरआत्माको आवाज सुन्ने क्षमता राख्छन् र त्यही आवाजबाट निर्देशित छन् भन्ने बुझ्न उनको सक्रियता नै काफी छ । हल्लाहरु मिथ्या सावित् होउन्, उनको सक्रियताबाट देश र जनताले अपेक्षित लाभ पाओस् भन्ने नै अहिलेको आम चाहना हो ।
अध्यात्म भन्छ,‘मान्छेको शरीर नश्वर हो । नश्वर शरीर चीरकालीन हुँदै हुँदैन । अन्ततः मानव आत्माले त्यो शरीरको त्याग नै गर्छ । लामो हण्डर र दुःखसँगै अगाडि बढेका हुन्, केपी ओली । जेलको चिसोदेखि अनेकाँै प्रताडनाकै कारण उनको शरीर कमजोर हुन पुग्यो । राजनीतिमा समर्थक र आलोचक हुन्छन् नै ! तर, कुनै व्यक्तिले इतिहासको कुनै कालखण्डमा गरेको योगदानको अवमूल्यन गर्नु नेपाली संस्कार र संस्कृति हैन । धर्म मान्नेहरुको त कुरै भएन, धर्ममा विश्वास नगर्नेहरुले पनि कसैको स्वास्थ्य अवस्थालाई लिएर तल्लोस्तरको आलोचना गर्न सुहाउँदैन। प्रधानमन्त्री ओलीको हकमा पनि यही कुरा लागु हुन्छ । अतः यो समय प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्ने बेला हो ।
यसो भनिरहँदा, प्रधानमन्त्रीको स्वास्थ्यको गम्भीरतालाई नजरअन्दाज गर्न भने सकिँदैन । चिकित्सकले दिएको सुझाव पालना गर्दै आफ्नो स्वास्थ्य अवस्थालाई पूर्ववत् अवस्थामा फर्काउनु स्वयं प्रधानमन्त्रीको पनि दायित्व हो । कामप्रतिको उत्कष्ट चाहनाले स्वास्थ्य अवस्थाप्रति नजरअन्दाज गर्नु कम्तिमा प्रधानमन्त्रीलाई सुहाउँदैन । स्वास्थ्य अनुकूल हुनासाथ आफूले आँटेका र ताकेका काम गर्न प्रधानमन्त्रीलाई कसैले रोक्न सक्दैन । गणितीय अनुकूलताले पनि उनलाई धेरै काम गर्ने अवसर दिएको छ । शक्तिशाली सरकार प्रमुखको रुपमा उनले लिने निर्णयले देशको भाग्य र भविष्य निर्धारण गर्छ । तर, स्वास्थ्यलाभ लिने मामलामा भने हेलचक्याइँ हुनु हुँदैन । प्रधानमन्त्रीको निजी सचिवालय र चिकित्सकको टोलीले यो विषयलाई गम्भीरतापूर्वक लिनैपर्छ । प्रधानमन्त्रीको स्वास्थ्यबारे अनावश्यक टिप्पणीहरु आइरहँदा त्यसको सत्यतथ्य जनतासामु सार्वजनिक गरिनुपर्छ ।
भनिन्छ, मान्छे किर्ति राख्न लालायित हुन्छ । प्रधानमन्त्री पनि मान्छे नै हुन् । उनीसँग पनि त्यस्ता चाहना होलान् र छन् नै । अत ः प्रधानमन्त्रीको भावनाको ख्याल गर्दै उनलाई धपेडीबाट टाढा राख्नुपर्छ । मृगौलाको डायलासिस भइरहेको यो बेला उपलब्ध चिकित्सकीय विकल्पहरु प्रयोग गर्दै प्रधानमन्त्रीको पूर्ण स्वस्थ राख्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ । आफ्नै चाहनाले उनी थपेडीमा परेकाले यो कार्यको सुरुवात भने प्रधानमन्त्री स्वयंबाट हुनुपर्छ ।

