बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

निर्वाचन आयोगको दायित्व

निर्वाचन आयोगको दायित्व


  • Dhorpatan News
  • कार्तिक २० २०७६, बुधबार

देशभर उपनिर्वाचनको माहौल तातेको छ । प्रतिनिधिसभाको लागि कास्की क्षेत्र नम्बर २ र प्रदेशसभातर्फ बागलुङ–२ ‘ख’ को निर्वाचनलाई गण्डकी प्रदेशमा विशेष चासोका साथ हेरिएको छ । प्रतिनिधिसभातर्फ एउटा मात्रै क्षेत्रमा निर्वाचन हुने भएकाले पनि कास्की बढी चर्चामा रहेको छ । चुनाव नजिकिँदै गर्दा चुनावी कार्यक्रमहरु सार्वजनिक भएका छन् । निर्वाचन आयोगले आफ्नो कार्यालय स्थापना गरिसकेको छ । चुनावको तयारी थालेको छ । प्रम्ुख निर्वाचन आयुक्त दीनेश थपलियाकै उपस्थितिमा कास्कीमा निर्वाचन कार्यालयले काम थाल्यो । निर्वाचनलाई स्वच्छ र निश्पक्ष बनाउने काम निर्वाचन आयोगकै हो । निर्वाचनलाई धाँधलिरहीत बनाउन आयोगले कुनै पनि कसर बाँकी नराख्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई छ । उनले निर्वाचनमा धाँधली भए भिडियो नै खिचेर पनि उजुरी गर्न सकिने बताएर चुनाव निश्पक्ष बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । उनले चुनावी प्रशिक्षण कार्यक्रममा पनि निश्पक्षतामा कुनै सम्झौता नहुने दोहो¥याएका छन् ।
चुनाव निश्पक्ष र धाँधलिरहीत हुनैपर्छ । तर, हामीकहाँ विगतका केही नमीठा अनुभव पनि रहेका छन् । अघिल्लो स्थानीय निर्वाचनमा मतपत्र च्यातिनेदेखि विभिन्न ठाउँमा मतदातालाई पैसा बाँड्नेसम्मका हर्कत भएको आम नागरिकले बिर्सेका छैनन् । हुलहुज्जत, झगडा, मतदाताको बाटो छेक्ने, विभिन्न धम्की र प्रलोभनमा पार्नेजस्ता गतिविधिबाट अघिल्लो निर्वाचन बिटुलो रहन नसकेको परिपेक्ष्यमा यो उपनिर्वाचनलाई ती गतिविधिबाट जोगाउने दायित्व आयोगकै हो । हिजो मतगणना हुँदा समेत तारबार लगाउनु पर्ने अवस्था आयो । नेपालको यो चुनावलाई संसारले नै उदेकपूर्ण नजरले हे¥यो । नेपालीको बाँदर प्रवृत्तिप्रति व्यङ्ग्य पनि गरियो । हिजोका दिनमा भएका ती हर्कतहरु यो चुनावमा नहोलान् भन्न सकिँदैन । पैसा र शक्तिको बलमा मतदातालाई प्रभावित पार्ने र चुनाव बिथोल्ने काम रोक्न निर्वाचन आयोगले विशेष रणनीति अख्तियार गर्नुपर्छ । अर्कोतर्फ आयोग स्वयं पनि निश्पक्षताको कसीमा जाँचिनु जरुरी हुन्छ । सत्ताको लाचार छायाँ हैन कि संवैधानिक अंगको रुपमा गल्ती गर्नेलाई कारवाहीको दायरामा ल्याउने काम आयोगकै हो । आयोगको नेतृत्व यो विषयमा संवेदनशील बन्नुपर्छ । ऊ कसैको प्रभावमा पर्नु हुँदैन । दूधको दूध, पानीको पानी छुट्याएर निश्पक्ष र शान्तिपूर्ण वातावरणमा मतदान गर्ने वातावरण सृजना गर्नुपर्छ ।
आफूले रोजेका उम्मेदवारलाई मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । यो अधिकारको रक्षाको लागि हदैसम्मको कठोर हुन निर्वाचन आयोग तयार भएर बस्नुपर्छ । मतदातालाई निर्भिकतापूर्वक मत खसाल्ने व्यवस्था, मतगणना र त्यसको परिणाम आउँदासम्म पनि आयोगको भूमिका उस्तै र तटष्थ हुनुपर्छ । आयोग एकातिर झुक्यो भने निर्वाचनको परिणाम नै फरक आउन सक्छ । सुरक्षा रणनीति बनाउनेदेखिका यावत कामहरुमा उसले संवेदनशीलता देखाउनु पर्छ । आयोगले अहिलेसम्म सम्पादन गरेका कामहरुमा खोट लगाउने ठाउँ छैन । आयोगको क्रियाशिलता पनि स्वागतयोग्य छ । यही उपक्रममा आयोगले मतदाता शिक्षा कार्यक्रमलाई पनि प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्छ । निर्वाचन यो वा त्यो बहानामा बिथोल्ने तत्वहरुसँग सावधान हुनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->